+
+
Shares

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकद्वारा राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २५ गते १२:४९

२५ फागुन, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय ‘स्कुल अफ ल’ कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् ।

स्कुल अफ लअन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७–७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनको विषयमा उपकूलपति र रजिष्ट्रारले मानमर्दन हुने गरी प्रश्नचिन्ह खडा गरेको भन्दै राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा निर्देशक अर्जुनबहादुर अयडी, उपप्राध्यापक सुजन पन्त, महेशकुमार शाही र सुजाता मानन्धर रहेका छन् । उपकुलपति र रजिष्ट्रारले आफ्नो पेशागत मर्यादा, नैतिकता, निष्पक्षता, क्षमता र पदीय आचारणमाथि मानमर्दन मात्र नभई आफूहरुलाई अपहेलित हुने व्यवहार गरेको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

फागुन १७ देखि १९ गतेसम्म लिइएको बिएलएलबीको लिखित तथा मौखिक परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थीहरुले रजिष्ट्रार कार्यालयमा निवेदन दिएका थिए ।
उक्त परीक्षा रद्द गरी चिनजान र भनसुनको आधारमा नभई निष्पक्ष रुपमा पुनः परीक्षा गर्नुपर्ने प्रवेश परीक्षामा सम्मिलित विद्यार्थीहरुले माग गरेका छन् ।

राजीनामा स्वीकृत हुन्छ : उपकुलपति सिंह

निर्देशकसहित चार उपप्राध्यापकले दिएको संयुक्त राजीनामा स्वीकृत गरिने विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह बताए । प्रवेश परीक्षाका विषयमा आएका विद्यार्थीका गुनासोसहितको निवदेनमाथि छानबिन थालिएको उनको भनाइ छ ।

‘संस्थामाथि गम्भीर प्रश्नचिन्ह खडा भएको छ, यस्तो विषयमा छानबिन गर्नैपर्छ,’ उपकुलपति सिंहले भने, ‘तपाईमाथि लागेको आरोपबारे छानबिन गछौं भन्दा राजीनामा दिनुभएछ, राजीनामा स्वीकृत हुन्छ, दोषी देखिए कारबाही पनि गर्छौं ।’

उपकुलपति सिंहका अनुसार उक्त विषयमा छानबिन गर्न तीन सदस्यीय छानबिन समितिसमेत गठन गरिएको छ । उक्त समितिले काम थालिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?