Comments Add Comment

गण्डकी प्रदेश र ७ जिल्लाका पुरानै कार्यालयमा फर्कियो एमाले

२५ फागुन, पोखरा । बागलुङ जिल्लामा नेकपा पार्टीका अध्यक्ष प्रदेश सांसद इन्द्रलाल सापकोटा थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि माधवकुमार नेपाल समूहका सापकोटा पनि आन्दोलनमा उत्रिए । संसद पुनर्स्थापना गरेको सर्वोच्च अदालतले आइतबार नेकपाको एकीकरण नै खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदियो ।

सर्वोच्चको फैसला कार्यान्वयन गरेर पूर्व पार्टीमै लाग्ने माधव–प्रचण्ड समूहले निर्णय गरेपछि मंगलबार केन्द्रसहित जिल्लाजिल्लामा आफ्ना कार्यालयमा बोर्ड फेर्ने काम भयो । बागलुङमा अध्यक्ष इन्द्रलालकै अगुवाईमा मंगलबार एमालेको कार्यालय स्थापना गरी बोर्ड फेरिएको छ ।

‘सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्न मेरै अगुवाइमा नेकपाको कार्यालय रहेकै ठाउँमा एमालेको बोर्ड राखिएको छ,’ सापकोटाले भने, ‘हिजोको परिस्थिति जे भए पनि अब पूर्व कार्यालय खोल्नै पर्‍यो ।’

बागलुङमा भाडाको घरमा नेकपाको कार्यालय खोलिएको थियो । त्यहाँ एमालेले आफ्नो कार्यालय राखेपछि माओवादी केन्द्र अर्को ठाउँमा कार्यालय राख्नुपर्ने भएको छ । गण्डकी प्रदेश र बागलुङसहित ७ जिल्लामा मंगलबार एमालेले आफ्ना कार्यालयमा बोर्ड फेरेको छ ।

पोखरा नयाँबजारमा एमालेको तत्कालीन अञ्चल कार्यालय रहेको ठाउँमै नेकपाको प्रदेश कार्यालय राखिएको थियो । त्यही कार्यालयलाई एमाले प्रदेश कमिटीको बोर्ड राखिएको छ । ‘तत्कालीन अवस्थामा पनि एमालेकै कार्यालय थियो । त्यसैलाई प्रदेश कायम गरियो,’ एमालेका केन्द्रीय सदस्य गोविन्द नेपालीले भने, ‘उत्साह र सौहार्दपूर्ण तरिकाले प्रदेश र गण्डकीका ७ जिल्लामा कार्यालय खोलेर बोर्ड राखिएको छ ।’

शान्ति वनस्थित नेकपाको कार्यालय रहेको ठाउँमा एमाले जिल्ला कमिटीको बोर्ड राखिएको छ । यो एमाले जिल्ला कमिटीको आफ्नै भवन हो । कास्कीमा एमाले र माओवादीको आआफ्नै भवन भएकाले साविककै ठाउँमा कार्यालय रहने माओवादी पोलिटब्युरो सदस्य राजकाजी गुरुङ करणले बताए ।

‘एमालेका साथीहरुले हतार/हतार बोर्ड राखिरहनुभएको छ । सर्वोच्चको फैसलापछि कार्यान्वयन गर्नु स्वाभाविकै हो,’ करणले भने, ‘माओवादीले पनि साविककै कार्यालय खोल्छ, कुनै समस्या छैन ।’

गण्डकी प्रदेशमा मनाङ, मुस्ताङ, लमजुङ र नवलपुरबाहेक अरु सबै जिल्लामा एमालेले पार्टी कार्यालय खोलेको छ । मनाङमा माओवादीको भवनलाई नेकपाको कार्यालय स्थापना गरिएको थियो । त्यहाँ माओवादीकै कार्यालय रहने भएपछि एमालेलाई अर्को भाडाको कार्यालय खोज्नुपर्ने भएको छ ।

लमजुङमा पनि एमालेको आफ्नै कार्यालय रहेको र बुधबार बोर्ड फेरिने केन्द्रीय सदस्य नेपाली जानकारी दिए ।

‘मुस्ताङ र मनाङमा एमालेको आफ्नै कार्यालय छैन । भाडामा चलाउनु पर्नेछ । त्यो पनि बुधबारसम्म स्थापना हुन्छ,’ नेपालीले भने, ‘नवलपुरमा पनि कार्यालय खोल्ने तयारी भइरहेको छ । त्यहाँ पनि आफ्नै भवन छ । गण्डकीमा कतै समस्या छैन ।’

पर्वतमा एमालेकै कार्यालयलाई नेकपाको बनाइएको थियो । एमाले पुरानै कार्यालयमा फर्किएपछि माओवादी केन्द्र पनि पुरानै कार्यालयमा फर्कने भएको छ । नेकपाको विभाजनपछि कार्यालयका विषयमा विवाद उत्पन्न भएको तनहुँमा सर्वोच्चको आदेशपछि आआफ्नै कार्यालयमा लागेका छन् । साविक एमालेको नाममा रहेको कार्यालयमा नेकपाको कार्यालय स्थापना गरिएको थियो ।

त्यसमा कार्यालयमा एमालेले बोर्ड फेरेपछि माओवादी नेताहरु केही फाइल लिएर व्यास नगरपालिका–४ स्थित पहिलाकै कार्यालयमा फर्किएका छन् । माओवादीका दस्तावेजहरु दिएर मंगलबारै बिदाइ गरिएको तनहुँका एमाले नेता श्रीप्रसाद श्रेष्ठले बताए ।

गोरखामा साविक एमालेको जिल्ला कार्यालयमा नेकपाको नगर कमिटी र माओवादीको कार्यालयमा नेकपाको जिल्ला कमिटीको कार्यालय स्थापना गरिएको थियो । गोरखा नगरपालिका–८ चाइनिज धारामा रहेको मदन–आश्रित स्मृति प्रतिष्ठानको भवनमा एमालेले आफ्नो कार्यालय स्थापना गरेको छ ।

गोरखा नगरपालिका–६ पाटेचौरमा रहेको पुरानै भवनमा माओवादी केन्द्रले कार्यालय खोल्ने माओवादी नेता कृष्ण धितालले बताए । कार्यालयको प्रयोग सन्दर्भमा गोरखामा पनि विवाद भएको थियो । तर, सर्वोच्चको आदेशपछि आआफ्नो कार्यालयमा फर्किने भएका छन् ।

म्याग्दी र स्याङ्जामा साविक एमालेकै भवनमा नेकपाको कार्यालय खोलिएको थियो । त्यहाँ एमाले नै फर्किएपछि माओवादीले अर्को कार्यालय खोज्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment