Comments Add Comment

म्यानमारले फिर्ता बोलायो बेलायतबाट राजदूत

Photo Credit : PA MEDIA

२६ फागुन, काठमाडौं । म्यानमारले बेलायतबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पक्षमा वकालत गरेको भन्दै बेलायतका लागि म्यानमारका राजदूत काय ज्वार मिनलाई फिर्ता बोलाइएको हो । उनले बीबीसीसँगको कुराकानीमा म्यानमारको सेनाले गत फेब्रुअरी १ मा गरेको कूको विरोध गर्दै प्रजातन्त्रवादी नेताहरुलाई तत्काल रिहा गर्न माग गरेका थिए ।

उनले म्यानमारमा सेनाविरुद्धको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या निरन्तर बढेसँगै आफूले प्रजातन्त्रवादी नेताको पक्षमा बोल्ने निर्णय गरेको बताएका छन् । उनले म्यानमारका जनताहरु मरिरहेको हेर्न नसक्ने बताएका छन् । उनले सेना र प्रदर्शनकारीहरुलाई संयम रहन आग्रह गरेका छन् । उनले म्यानमार निकै विभाजित भएको र अब गृहयुद्ध सुरु हुन सक्ने आशंका बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

ज्वार मिनले अहिले म्यानमारमा देखिएको समस्याको समाधान अमेरिका वा बेलायतमा नभई म्यानमारमा नै भएको बताएका छन् । उनले यो अभिव्यक्ति दिएसँगै बेलायतका विदेशमन्त्री डोमिनिक राबले प्रशंसा गरेका थिए । उनले सेनाको विरुद्ध बोल्ने साहस गर्नु निकै प्रशंसनीय रहेको उल्लेख गरेका थिए ।

म्यानमारको हिरासतमा रहेकी प्रजातन्त्रवादी नेतृ सुकीलाई अहिले कहाँ राखिएको छ भन्ने खुलेको छैन । उनको रिहाइको लागि अन्तर्राष्ट्रिय समुदायले पनि म्यानमारलाई दबाब दिँदै आएका छन् । साथै म्यानमारमा सेनाको कदमविरुद्ध निरन्तर प्रदर्शन हुँदै आएको छ । यो प्रदर्शनमा अहिलेसम्म ६० भन्दा बढीको मृत्यु भइसकेको छ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment