Comments Add Comment

वीरगन्ज र विराटनगरबाट भित्रियो ३४ सय मेट्रिकटन युरिया मल

२६, फागुन, काठमाडौं । गहुँ र तरकारीमा मल हाल्ने समय सकिएपछि सरकारले बंगलादेशबाट खरिद गरेको युरिया मलको पहिलो खेप नेपाल आइपुगेको छ । कृषि सामाग्री कम्पनी लिमिटेडको वीरगन्ज र विराटनगर कार्यालयमा झण्डै ३४ सय मेट्रिकटन युरिया मल आइपुगेको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।

नेपाली ठेकदारले समयमै मल नल्याइदिएपछि गहुँ र तरकारीमा हाल्न भन्दै गत भदौदेखि सरकारले यो मल ल्याउने प्रक्रिया थालेको थियो । मंंगलबार राति २ हजार ५ सय टन युरिया मल बोकेको रेलवे र्‍याक वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको कम्पनीका सूचना अधिकारी राजेन्द्र कार्कीले जानकारी दिए ।

यस्तै ९ सय मेट्रिकटन मल बोकेको २१ वटा ट्रक विराटनगर आइपुगेको कार्कीले बताए । अहिले नेपाल भित्रिएको मल बंगलादेशबाट पहिलो खेपमा ल्याइएको २२ हजार ५ सय मेट्रिकटनको भएको कम्पनीले जनाएको छ । मंगलबार नै कोलकाताबाट मल बोकेको अर्को रेलवे र्‍याक पनि नेपालतर्फ हिँडेको कम्पनीले जनाएको छ ।

कम्पनीको गोदाममा आइपुगेका मल देशभरका ४१ वटा वितरण केन्द्रमार्फत बिक्री गरिने कम्पनीको तयारी छ । पहिलो चरणको मल भित्रिसकेपछि बाँकी २७ हजार पाँच सय मेट्रिकटन मल आयात पनि सुरु हुने कम्पनीले जनाएको छ । अहिले ल्याइएको मल धान बालीका लागि प्रयोग गर्न भण्डारण गर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment