Comments Add Comment

भरिभराउ रेकर्डिङ स्टुडियो, गुल्जार हुँदैछ संगीत बजार

काठमाडौंमा लगभग दुई सय बढी रेकर्डिङ स्टुडियो छन् । ति मध्ये चलेका स्टुडियो यतिबेला गुल्जार छन् । गीत रेकर्डिङले वाद्यवादकदेखि रेकडिष्टसम्मलाई बेफुर्सदिला बनाएको छ । गीत रेकर्डको ग्राफ अहिले त्यसरी नै आकासिएको छ, जस्तो कोभिड–काल अघि थियो ।

कोरोना सन्त्राससँगै रेकर्डिङ स्टुडियोमा सन्नटा छायो । कन्सर्ट ठप्प भयो । म्युजिक भिडियो बन्ने क्रम पातलियो । भलै त्यसबखत केही उत्कृष्ट संगीत सिर्जना नभएको होइनन् । तर, संख्यात्मक हिसाबले त्यो एकदमै कम थियो । अहिले भने गीत रेकर्डिङ, कन्सर्ट र म्युजिक भिडियोको उपक्रमले तिब्रता पाएको छ ।

पुतलीसडकमा रहेको मालश्री रेकर्डिङ स्टुडियोका म्यानेजर शम्भु कुवँर रेकर्डिङ स्टुडियोहरु पुरानै लयमा फर्किएको बताउँछन् । उनले भने, ‘अहिले पहिलेजत्तिकै गीत रेकर्ड भईरहेका छन् । पुरानै लयमा फर्किएजस्तो नै लाग्छ ।’

यता, म्युजिक भिडियो छायाँकनका गतिविधिहरु पहिलेकै अवस्थामा फर्किसकेको निर्देशकहरु बताउँछन् । निर्देशक काजिश श्रेष्ठ म्युजिक भिडियो कोरोना अघिकै तुलनामा छायाँकन हुन थालेको बताउँछन् ।

‘भिडियो छायाँकनका गतिविधिहरु त केही समय अगाडीदेखिनै लयमा फर्किसकेको छ । अहिले अझ, बढी मात्रामा छायाँकन भईरहेका छन्’ सुटिङमै रहेका काजिशले अनलाइनखबरसँगको टेलिफोन कुराकानीमा भने । उनले कोरोना महामारीपछि अझ बढी लगानीका भिडियोहरु बनाउने क्रम बढेको बताए ।

अभिनेता पल शाहले लकडाउन खुकुलो भएसँगै १ सय ५० बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । मोडल अञ्जली अधिकारीले लकडाउन खुकुलो भएसँगै ५ दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

उनले अनलाइनखबरसँग भनिन्,–‘अहिले कोरोना अघिकै अवस्थामा फर्किएजस्तो लागेको छ । दिनहुँजसो म्युजिक भिडियोको सुटिङमा ब्यस्त भईरहेकी छु ।’ सबै क्षेत्र सामान्य बन्दै गएसँगै आफूहरुको दैनिकी पनि पुरानै लयमा फर्किएको अञ्जलीले बताइन् ।

गीत रेकर्डिङ र छायाँकनका गतिविधि शुरु भएपछि पनि स्टेज कार्यक्रमहरु लामो समयसम्म हुन सकेका थिएनन् । जसका कारण स्टेज कलाकारहरु मर्कामा थिए ।

अहिले भने देशका विभिन्न जिल्लामा स्टेज कार्यक्रम पनि क्रमश हुन थालेका छन् । कलाकारहरु स्टेज कार्यक्रमहरु हुन थालेको र स्टेज कार्यक्रममा व्यस्तता बढ्दै गएको बताउँछन् । उनीहरुले सामाजिक सञ्जालमा राख्ने तस्वीरहरुले पनि देशभित्र स्टेज कार्यक्रम लयमा फर्किँदै गरेको देखाउँछ । गायिका राधिका हमाल स्टेज कार्यक्रमहरु बढ्न थालेको बताउँछिन् ।

सोमबार काठमाडौंमै स्टेज कार्यक्रम गरेका गायक प्रकाश सपूत बुधबार स्टेज कार्यक्रमकै शिलशिलामा बर्दिबास पुगेका छन् । त्यस्तै बिहीबार र शनिबार पनि स्टेज कार्यक्रम रहेको प्रकाशले जानकारी दिएका छन् ।

गायक खुमन अधिकारी पनि स्टेज कार्यक्रमहरु हुन थालेको बताउँछन् । उनी भन्छन् ‘विगतमा यतिबेला महिनामा २० वटासम्म स्टेज कार्यक्रम पथ्र्यो । त्यो गतिमा कार्यक्रमहरु भएका त होइनन् । तर, विस्तारै स्टेज कार्यक्रमले लय समात्दैछ ।’ फागुनमा देशभित्र आधा दर्जन स्टेज कार्यक्रम गरेको उनले बताए । पर्ख र हेरेको अवस्थाकाबीच अबभने स्टेज कार्यक्रमले लय समात्दै गर्दा खुसी लागेको खुमनले बताए ।
अन्य केही देशबाट समेत कार्यक्रमको कुरा हुन थालेपनि विदेशका कार्यक्रम कहिले हुने अन्योल नै रहेको खुमन बताउँछन् ।

गायक प्रमोद खरेलले लकडाउन खुकुलो भएसँगै एक दर्जन स्टेज कार्यक्रम गरिसकेको बताए । प्रशारणको तयारीमा रहेको ‘द भ्याइस अफ नेपाल सिजन ३’को जजसमेत रहेका प्रमोदले अनलाइनखबरसँग भने – ‘सांगीतिक क्षेत्र विस्तारै लयमा फर्किँदै गरेको हो । रेकर्डिङ र भिडियो सुटिङ त अलि पहिलेदेखि नै शुरु भएका थिए । अहिले स्टेज कार्यक्रमहरु पनि विस्तारै भैरहेका छन् । लकडाउनपछि म पनि झण्डै एक दर्जन सांगीतिक कार्यक्रममा पुगेँ ।’

उनले दुबई लगायतका देशबाट समेत स्टेज कार्यक्रमबारे कुराकानी भएको बताए । यद्यपी विदेशको स्टेज कार्यक्रम लयमा फर्किन् झण्डै एक वर्ष लाग्ने अनुमान आफूले गरेको बताए । आउँदो वर्षको दशैंपछि विदेशका स्टेज कार्यक्रमहरु जुर्मुराउने अनुमान प्रमोदले लिएका छन् ।

दोहोरी साँझ, क्लबमा भीडभाड
कोरोना महामारीका कारण लामो समय ठप्प रहेका दोहोरी साँझ तथा नाइट क्लबहरुमा मानिसहरुको चहलपहल पुरानै अवस्थामा फर्किएको छ । काठमाडौं उपत्यकामा ८४ दोहोरी साँझ छन् । त्यति नै क्लबहरु छन् । कोभिडले थला परेका कतिपय दोहोरी साँझ, क्लबहरु अहिलेसम्म संचालनमा आउन नसकेपनि खुलेका दोहोरी साँझ तथा क्लबहरुमा मानिसहरुको चहलपहल पुरानै अवस्थामा फर्किसकेको व्यवसायीहरु बताउँछन् ।

दोहोरी साँझ व्यवसायीहरुको छाता संस्था नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठले अनलाइनखबरसँग भने, – ‘दोहोरी साँझ तथा क्लवमा मानिसहरुको चहलपहल बढेको छ । कोरोनाअघिकै अवस्थामा मानिसहरु आईरहेका छन् ।’ काठमाडौंको ठमेलमा रहेको नगरकोट दोहोरी साँझका संचालक समेत रहेका श्रेष्ठ कोरोना महामारीका कारण लाखौं रुपैयाँ घाटा ब्यहोरेका व्यवसायीहरु अहिले उत्साहित भएको प्रतिक्रिया दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment