Comments Add Comment

दिपालयमा भूमिहीन ७ बादी परिवारका लागि घर निर्माण हुँदै

२६ फागुन, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४ दिपायलमा बस्दै आएका बादी समुदायका ७ भूमिहीन परिवारले नयाँ घर पाउने भएका छन् ।

भूमिहीन बादी समुदायलाई दिपायल सिलगढी नगरपालिकाले जग्गा उपलव्ध गराएपछि दुई कोठे भवन निर्माण सुरु भएको हो । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा निर्माण हुने घरको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले एक कार्यक्रमकाबीच शिलान्यास गरेकी हुन् ।

नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा १२ लाख र ०७६/०७७ मा १२ लाख रुपैयाँ विनियोजन गरी सात घर परिवारलाई जग्गाधनी लालपूर्जा वितरण गरेको थियो । पुष्कर बादी, गणेश बादी, श्याम दास, माया बादी, भक्तबहादुर दास, तेज बहादुर दास र दिलबहादुर बादीलाई नगरपालिकाले जग्गाधनी पूर्जा प्रदान गरेको हो ।

असार मसान्तभित्र सातवटै घर तयार गर्ने गरी निर्माणको जिम्मा नागार्जुन कन्स्ट्रक्सन कञ्चनपुरले पाएको छ । घर निर्माणका लागि प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र निर्माता कम्पनीबीच माघ १० गते ४१ लाख ४९ हजार ९८ रुपैयाँ ७६ पैसामा ठेक्का सम्झौता भएको निर्माण कम्पनीका प्रतिनिधि सुचित्र शाहले जानकारी दिए ।

शिलान्यासको क्रममा बोल्दै नगर प्रमुख मलासीले भूमिहीनलाई उचित बसोबासको व्यवस्था गर्ने आफ्नो उद्देश्य पुरा हुन लागेको बताइन् ।

दिपायल सिलगढी नगरपालिका–४ का वडाअध्यक्ष वीरेन्द्र शाहले लामो समयदेखि नगर क्षेत्रभित्र अव्यवस्थित बसोबास गर्दै आएका बादी समुदायलाई नगरपालिकाले आवासको व्यवस्था गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment