+

आयोजक मकवानपुर–११ सेमिफाइनलमा प्रवेश

२०७७ फागुन  २७ गते १९:२० २०७७ फागुन २७ गते १९:२०
आयोजक मकवानपुर–११ सेमिफाइनलमा प्रवेश

२७ फागुन, हेटौंडा । हेटौंडामा सुरु स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गर्दै आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा बिहीबार भएको उद्घाटन खेलमा आयोजक मकवानपुर–११ ले छिमेकी जिल्ला बाराको नवजागृति युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

मकवानपुरका लागि खेलको पहिलो हाफको २८ औं मिनेटमा विमल रानाले गोल गर्दै अग्रता दिलाएका थिए । उनको गोलसँगै केही उत्साहित बनेको मकवानपुरलाई ३२ औं मिनेटमा नवजागृतिका मोहित गुरुङले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

पहिलो हाफमा खेल बराबरीमा आएपनि ५७ औं मिनेटमा मकवानपुरका रञ्जन विष्टले गोल रक्षकलाई ट्याकल गर्दै अग्रता दिलाए । व्यक्तिगत दुई गोलको साझेदारी गरेका उनले खेलको ६६ औं मिनेटमा गोल गर्दै नवजागृतिको खेललाई बराबरीमा ल्याउने प्रयासलाई रोके । दुई गोलले अघि बढेको मकवानपुरका लागि ७७ औं मिनेटमा विमलले व्यक्तिगत एक गोल गर्दै थप अग्रता दिलाए । राष्ट्रिय टोली पूर्व सदस्य देखि ‘ए’ डिभिजनका खेलाडीले भरिएको मकवानपुर–११ ले फराकिलो नतिजा ल्याएपनि सिमराको टोलीले पहिलो हाफको केही समय मकवानपुर–११ लाई दबाबमा राखेको थियो ।

विमल प्रतियोगिताको म्यान अफ दी म्याच समेत घोषित भए । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्र्फीसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड मोटरसाइकल प्राप्त गर्ने छन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार रुपैयाँसहित ट्रफी वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा विभागीय टोली त्रिभुवन आर्मी र जावालाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

बिहीबारबाट चैत ७ गतेसम्म हुने प्रतियोगितामा लिग च्याम्पियन मच्छिन्द्रसहित ए डिभिजनका ६ वटा क्लब, एक विदेशी (अफ्रिकन रुटुस एशोसिएसन ढुवल क्यामरुन), आयोजक मकवानपुर–११ र दुई मोफसलका टोलीले सहभागिता जनाउँदैछन् ।

खेल क्षेत्रलाई मायाको अभाव : सीताराम कट्टेल ‘धुमुस’

प्रमुख अतिथिका रुपमा प्रतियोगिताको उद्घाटन गर्न आएका चर्चित हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले खेल क्षेत्रलाई अझै मायाको कमी रहेको बताएका छन् ।

उनले नेपालले खेल क्षेत्रको विकास गरेर अन्तर्राष्ट्रियस्तरमा नाम कमाउन सक्ने सम्भावना भएपनि पर्याप्त भौतिक संरचना नभएका कारण समस्या रहेको औंल्याए ।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन दिनरात लाग्दा पनि आर्थिक संकट परेको भन्दै रंगशालाको कुर्सीमा नाम लेखाउने अभियानमा सहभागी हुन आग्रहसमेत गरे ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय