
२८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा महासचिव बाहेक सबै पदाधिकारीलाई हटाएका छन् । आफू निकट नेताहरुको बैठक राखेर ओलीले बाधा अड्काउ फुकाउमार्फत पार्टीको नवौं महाधिवेशनबाट पारित विधान संशोधन गरेका छन् । उमेर हद, कमिटीको संरचनामा संशोधन गर्दै २०७८ मंसिर २देखि ६ गतेसम्म दशौं महाधिवेशन गर्ने निर्णय गरेको छन् ।
बालुवाटारमा बसेको बैठकलाई केन्द्रीय कमिटीको ‘विशेष बैठक’ भनिएको छ, जसमा झलनाथ खनाल र माधवकुमार नेपाल निकट नेताहरुलाई भने बोलाइएको थिएन ।
बैठकले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेल बाहेकका पदाधिकारीलाई हटाएको छ ।
असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा चुनिएका थिए । उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोरखेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योशेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए । भण्डारी राष्ट्रपति छिन् भने बाँकी पदाधिकारीमा माधवकुमार नेपाल पक्षको बहुमत थियो ।
तर ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि ओली र पुष्पकमल दाहाल अध्यक्ष तथा विष्णु पौडेल महासचिव बने । पछिल्लो समय बामदेवलाई उपाध्यक्ष मनोनित गरिएको थियो ।
५ पुसमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै नेकपा ओली र प्रचण्ड-माधव समूहमा विभाजित भयो । यसको आधिकारिकता विवाद नटुंगिँदै २३ फागुनमा सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी ब्युँताउने फैसला सुनायो । त्यसको पाँच दिनपछि एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेल बाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका छन् ।
नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोसियो
अध्यक्ष ओलीले नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् । उनले साबिकको नेकपा विभाजित हुँदा आफ्नो समूहले गरेको अधिकांश नियुक्तिलाई निरन्तरता दिएका छन् ।
प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, प्रदेश २ बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कणर्ाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यमलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।
प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जमा शंकर पोखरेललाई कायमै राखिएको छ । उनीहरु ओली पक्षका नेताहरु हुन् ।
यस्तै स्कुल विभाग प्रमुख आफैंसँग राखेका ओलीले विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर आफ्ना परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई ल्याएका छन् । संगठन विभाग प्रमुखमा विष्णु पौडेल, संसदीय विभाग प्रमुखमा सुवासचन्द्र नेम्वाङ, निर्वाचन विभाग प्रमुखमा विष्णु रिमाल र सम्पर्क कमिटी तथा आार्थिक विभाग प्रमुखमा छविलाल विश्वकर्मालाई आएका छन् ।
बादल समूहका २३ केन्द्रीय सदस्य
एमाले अध्यक्ष ओलीले पूर्व माओवादी केन्द्रका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा बादल समूह ओलीतिर लागेको थियो । सर्वोच्चको फैसलापछि पनि उनीहरु ओलीतिरै छन् ।
केन्द्रीय कमिटीको विशेष बैठक भनिएको यो बैठकको निर्णयलाई ७ चैतमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने ओली पक्षीय नेताहरुले बताएका छन् ।
कसको जिम्मेवारी के तोकियो ?
प्रदेश १
इन्चार्ज : सुवासचन्द्र नेम्वाङ
अध्यक्ष : देवराज घिमिरे
सचिव : विनोद ढकाल
प्रदेश २
इन्चार्ज : सत्यनारायण मण्डल
अध्यक्ष : प्रभु साह,
सचिव : सुमन प्याकुरेल
बाग्मती
इन्चार्ज : रामबहादुर थापा बादल
अध्यक्ष : आनन्द पोखरेल
सचिव : खेम लोहनी
गण्डकी
इन्चार्ज : पृथ्वीसुब्बा गुरुङ
अध्यक्ष : जगत विश्वकर्मा
सचिव : गोविन्द नेपाली
लुम्बिनी
इन्चार्ज : शंकर पोखरेल
अध्यक्ष : लीला गिरी
सचिव : खेममान खड्का
कर्णाली
इन्चार्ज : यमलाल कँडेल
अध्यक्ष : गुलाबजंग शाह
सचिव : धर्मराज रेग्मी
सुदूरपश्चिम
इन्चार्ज : लेखराज भट्ट
अध्यक्ष : कर्ण थापा
सचिव : राजेन्द्र सिंह रावल
विभागहरु
स्कुल विभाग प्रमुख : केपी शर्मा ओली
संगठन विभाग प्रमुख : विष्णु पौडेल
विदेश विभाग प्रमुख : राजन भट्टराई
सम्पर्क कमिटी र कोष तथा आर्थिक विभाग प्रमुख : छविलाल विश्वकर्मा
संसदीय विभाग प्रमुख : सुवास नेम्वाङ
निर्वाचन विभाग प्रमुख : विष्णु रिमाल
प्रतिक्रिया 4