+
+
Shares

‘ओलीले संविधानमा पारेको भ्वाङ टाल्न कांग्रेसले सरकार चलाउनु पर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २८ गते १८:३८

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा भ्वाङ पारेको र उक्त भ्वाङ टाल्नका लागि कांग्रेसले सरकारको नेतृत्व गर्नु पर्नेमा जोड दिएका छन् ।

शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्य समितिको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले संविधानमा पारेको भ्वाङ टाल्न र देशलाई निर्वाचनमा लगेर नयाँ जनादेशबाट पाँच वर्षका लागि कांग्रेस आउनुपर्ने बताए ।

उनले भने, ‘सम्भव हुन्छ, सकिन्छ भने यही पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर पठाउनु पर्ने छ र कांग्रेसको नेतृत्वमा अहिले सकिन्छ भने अहिले हामीले सरकार बनाएर, हामीले छ, आठ महिना, एक वर्ष चलाएर जति पनि प्रधानमन्त्री ओलीले हाम्रो संविधानमा, व्यवस्थामा भ्वाङ पार्नुभएको छ । ती भ्वाङहरु टाल्ने काम गरेर, देशलाई निर्वाचनमा लिएर गएर त्यो निर्वाचनबाट हामीले एकपटक फेरि नयाँ जनादेश प्राप्त गरेर पाँच वर्ष कांग्रेसले जनताका बीचमा केही कुराहरुको संकल्प गरेर ती संकल्पहरु पूरा गर्ने काम हामीले गर्नुपर्छ ।’

नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने म्याण्डेड पाएको भएपनि संकटको बेलामा कांग्रेसले सम्हाल्नुपर्ने अवस्था आएको उनको भनाइ छ । सर्वोच्च अदालतको फैसला नेकपाले स्वीकार गरिसकेपछि नेकपाले सरकार चलाउन पाएको म्याण्डेड सकिएको उनले बताए । संसदमा सरकार चलाउने माण्डेड पाएको पार्टी नरहेको भन्दै उनले कांग्रेसले वर्तमान अवस्थालाई सम्हालेर निकास दिनुपर्ने बताए ।

उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टीको नाममा जुन म्याण्डेड उहाँहरुले पाउनुभयो, त्यो माण्डेड सर्वोच्च अदालतको फैसला पछि सकियो । त्यसैले यो संसदमा सरकार चलाउने म्याण्डेड पाएको पार्टी छैन । हामीले प्रतिपक्षमा बस्ने म्याण्डेड पाएका हौं । तर यो क्राइसिसको बेलामा अब हामीले सम्हाल्नुपर्ने छ । हामीले सम्हालेर यसलाई निकास दिने, निकास दिएर देशलाई चुनावमा लिएर जाने र त्यो चुनावबाट नयाँ म्याण्डेड प्राप्त गर्ने ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कायमै राखे राज्यका सम्पूर्ण संयन्त्रलाई दबाब र प्रभावमा पारेर कब्जा गर्ने र प्रजातन्त्रलाई कमजोर बनाउने उनको भनाइ छ । प्रधानमन्त्री ओलीलाई शासन सत्ता दिइराख्नाले नेपालमा नाम मात्रैको चुनाव गराउने नेता थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?