Comments Add Comment

एमालेभित्र समानान्तर कमिटी बनाउने खनाल–नेपाल समूहको घोषणा

२८ फागुन, काठमाडौं । नेकपा एमालेका खनाल–नेपाल समूहले पार्टीभित्र समानान्तर कमिटी बनाउने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू इतर खेमाका  नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफू निकट स्थायी कमिटी सदस्यहरुको आकस्मिक बैठक बोलाएको थियो, जसले समानान्तर कमिटी बनाउने निर्णय गरेको छ ।

जिल्ला तहबाट समानान्तर कमिटी बनाउन सुरु गरिने खनाल–नेपाल समूहका स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । ‘जहाँ हाम्रो नेतृत्व छैन, त्यहाँ नेतृत्व चयन हुनेछ’ उनले अनलाइनखबरसँग भने, ‘यो पार्टी पुनर्संरचनाको अभियान हो ।’

ओलीले पार्टीलाई बिसर्जनतिर लगेकाले समानान्तर संरचना तयार पार्न लागेको यो समूहको भनाइ छ । यस विषयमा थप छलफल गर्न केन्द्रीय कमिटी र सांसदहरुको बैठक बस्ने भुसालले जानकारी दिए । ‘हाम्रो राष्ट्रिय भेला चैत ४ गते हुनेछ, त्यस दिन पार्टी पुनर्संरचनाको अभियान घोषणा हुनेछ’ भुसालले भने ।

खनाल–नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेको छ ।

बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रक्रिया दिँदै नेता भीम रावलले पार्टीको विधान विपरीत स्वेच्छाचारी र मनपरी किसिमले भएको निर्णय कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदम भएको बताए । विधानमा भएको बाधा अड्काउ फुकाउको प्रयोग केन्द्रीय कमिटीको बहुमतले मात्रै गर्न सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment