+
+

सेयर लगानीकर्ताले गर्ने पाँच सामान्य गल्ती

रोयल आचार्य रोयल आचार्य
२०७७ फागुन २९ गते १४:३१

सेयर बजारमा किन लगानी गरिन्छ ? यसको आधारभूत जवाफ हो, मुनाफा कमाउने । लगानी प्रतिफलकै लागि गरिने भए आफूले गरेको लगानीको सही ठाउँमा भएन भने डुब्छ । यस्तै सेयर बजार एउटा जोखिम भएको लगानी गर्ने ठाउँ हो ।

सबैले धेरै कमाउने उद्देश्यका साथ सेयर बजामार लगानी गर्छन् । कसैले धेरै कमाउँछन् त कसैले लगानी भन्दा पनि कममा बेचेर घाटा व्यहोर्छन् । खासगरी सेयर बजारमा नबुझी लगानी गर्ने परिपाटीले धेरैले घाटा व्यहोर्नु परेको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी बताउँछन् ।

सेयर बजारका आधारभूत सिद्धान्तहरु बुझेर लगानी गर्ने हो भने जोखिमबाट बच्न सकिने उनी बताउँछन् । ‘सेयर बजार जोखिमरहित बजार होइन, यहाँ जोखिम पक्कै पनि छ,’ उनी भन्छन्, ‘आफूले कुन कम्पनीमा लगानी गर्दैछु, त्यसले प्रतिफल दिन सक्छ कि सक्दैन, आफूले.लगानी गर्न लागेको कम्पनीको अवस्था के छ भन्ने विषयमा राम्रोसँग बुझेर लगानी गर्ने हो भने जोखिमबाट बच्न सकिन्छ ।’

कतिपय लगानीकर्ताहरु हल्लाको भरमा वा कसैले यो कुनै कम्पनीमा लगानी गरौं भनेका आधारमा लगानी गर्दा जोखिम धेरै हुने कार्यकारी निर्देशक गिरीको भनाइ छ । जो कोही लगानीकर्ताहरु नफसुन् भनेर नियामक निकाय बोर्डले समेत सचेत गराउँदै आएको छ । बजार बढेको बेला लगानीकर्ताहरु हौसिने र नयाँ लगानीकर्ताहरुले पनि त्यही बेला धेरै सेयर खरिद गर्छन् । अनि केही दिनमा घट्न थाल्यो भने आत्तिएर खासगरी नयाँ लगानीकर्ताहरुले बिक्री गर्ने गरेका छन् ।

यसकारण बजारलाई राम्रोसँग बुझेर, आफूले लगानी गर्न लागेको कम्पनी कस्तो छ ? प्रतिफल दिन सक्छ सक्दैन भन्ने लगायतका विषयमा बुझेर मात्रै लगानी गर्न उनको सुझाव छ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेला रौनियार पनि धेरैजसो लगानीकर्ताहरुले स–साना कमजोरीका कारण जोखिममा बस्नु परेको सुनाउँछन् ।

सेयरमा लगानी गर्न चाहनेहरुले केही आधारभूत कुराहरुमा मात्रै ध्यान दिने हो भने पनि धेरै जोखिम बोक्नु नपर्ने उनको अनुभव छ । कम्पनीको अवस्थाबारे आफैं गहिरो अध्ययन गरेर मात्रै लगानी गर्न अध्यक्ष रौनियार सुझाव दिन्छन् । भरसक दोस्रो बजारमा ऋण गरेर लगानी नगर्न नयाँ लगानीकर्तालाई रौनियारको सुझाव छ । सेयर बजारका जानकारहरुक बजारमा लगानी गर्नेहरु अधिकांशले गर्ने केही ‘कमन मिस्टेक’हरु रहेको बताउँछन् । ती मिस्टेकहरुप्रति सतर्क रहने हो पनि पनि सेयरमा लगानी गरेर घाटा व्यहोर्नु नपर्ने जानकारहरुको सुझाव छ । हेरौँ लगानीकर्ताले गर्ने पाँच कमन मिस्टेकहरुः

आधारभूत ज्ञान

सेयर बजारमा प्रवेश गर्नु अघि बजारबारे आधारभूत ज्ञान भने हुनै पर्छ । तर साथीभाइ, आफन्त वा सञ्चार माध्यममा कसैले सेयरबाट यति कमायो भन्ने सुनेकै भरमा लगानी गर्दा धेरै जोखिम व्यहोर्नु पर्ने हुन्छ । सेयर बजार के हो ? यसबाट कसरी प्रतिफल लिन सकिन्छ भन्ने कुरामा सर्वप्रथम नयाँ लगानीकर्ताहरुले ध्यान दिनु पर्ने नेपाल मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष मेखबहादुर थापा बताउँछन् ।

सेयर बजारबारे आधारभूत ज्ञान नभई पनि प्रवेश गर्ने लगानीकर्ताहरुको संख्या ठूलो छ । कसैले कमायो भनेकै भरमा भएको पैसा सेयरमा खन्याउँदा त्यसको नतिजा नराम्रो हुन्छ । सेयर बजारबारे आधारभूत ज्ञान त हुनैपर्यो त्यसपछि आफूले सेयर किन्न लागेको कम्पनीबारे पनि आधारभूत ज्ञान राख्नैपर्ने उनको सुझाव छ । तर धेरै लगानीकर्ताहरु यही आधारभूत विषयहरुमा समेत अनविज्ञ हुँदा धेरै जोखिम हुने जानकारहरु बताउँछन् ।

ऋण लिएर लगानी

सेयर बजारका लगानीकर्ताहरुले गर्ने अर्को मुख्य र डरलाग्दो गल्ती ऋण लिएर लगानी गर्ने पनि हो । ऋण लिएर लगानी गर्नेहरु धेरै जाखिममा हुन्छन् । हुनत, विजनेशमा ‘नो रिस्क, नो गेन’ भन्ने अंग्रेजी उखान नै छ । तर यो उखानको पछि लाग्दा धेरै खतरा हुन्छ ।

मानौं, आज ५ सय रुपैयाँ प्रतिकित्ता सेयर भएको कुनै कम्पनीको २५ लाखको कुनै व्यक्तिले ऋण लिएर सेयर किन्यो । उसले एक महिनाका लागि भनेर लिएको ऋण लिएको थियो, तर किनेको भोलिबाटै सो कम्पनीको सेयर मूल्य घट्यो ।

सेयर मूल्य त घटबढ भइ नै रहन्छ, उक्त कम्पनीको सेयर मूल्य पनि एक महिनासम्म घटबढ भइ रह्यो तर किनेको भन्दा उकालो लाग्न सकेन । यता ऋण फिर्ता गर्ने समय आइसक्यो, उता सेयर मूल्य किनेको भन्दा बढेको छैन । यस्तो अवस्थामा थोरै घाटा खाएर भए पनि सेयर बिक्री गर्नैपर्ने बाध्यता आइलाग्छ । लगानीकर्ता रौनियार पनि कम्पनीको अवस्थाबारे आफैं गहिरो अध्ययन गरेर मात्रै लगानी गर्न सुझाव दिन्छन् । भरसक दोस्रो बजारमा ऋण गरेर लगानी नगर्न नयाँ लगानीकर्तालाई रौनियारको सुझाव छ ।

रणनीति नबनाई कारोबार

आज सेयर बजार यति अंकले बढ्यो, सबै कम्पनीका सेयर मूल्य बढेर हरियाली देखिए जस्ता समाचार आउँदा लगानीकर्ताहरुमा खुसी छाउँछ । तर धेरै लगानीकर्ताहरुले गर्ने गल्ती यो हो, जो बजार बढेको खबर वा अन्य सकारात्मक सूचना आउनेवित्तिकै दोस्रो बजारमा हाम्फाली हाल्ने ।

सेयर बजारमा लगानी गर्दा कति रुपैयाँको सेयर किन्ने ? अनि त्यो किनेको सेयर आफूले कति समयसम्म होल्ड गर्न सकिन्छ ? यस्ता विषयमा पहिले नै रणनीति बनाउनु उत्तम हुन्छ । अनि कहिलेसम्म बेच्ने वा कति नाफा भएपछि आफूलाई पुग्छ ? त्यो विषयमा पनि पहिले नै सोच्नु लगानीकर्ताहरुका लागि फलदायी हुने सेयर बजारका अनुभवी लगानीकर्ता नयन बास्तोला बताउँछन् ।

सेयर बजारमा लगानी गर्न चाहनेले वित्तीय योजना, जोखिमबारे अध्ययन अनि आफ्नो लगानीको रणनीति बनाएरमात्रै बजार प्रवेश गर्नु उत्तम हुने लगानीकर्ता बास्तोलाको सुझाव छ । ‘तर धेरै लगानीकर्ता साथीहरु रणनीति नबनाई बजार प्रवेश गर्नुहुन्छ, जुन एउटा गल्ती हो,’ उनले भने ।

छोटो समयका लागि लगानी

सेयर बजारमा खासगरी दुई किसिमका लगानीकर्ताहरु हुन्छन् । पहिलो– आज लगानी गर्यो, त्यसको केही दिनमा कमाइहाल्नुपर्छ भन्ने सोचका । दोस्रो– लगानी गर्यो र प्रतिफल नआएसम्म ढुक्कले बस्न सक्ने ।

दोस्रो बजारमा लगानी गर्ने धेरै लगानीकर्ताहरु छोटो समयका लागि लगानी गर्न खोज्छन् । छोटो समयमा लगानी गर्नेहरु (ट्रेडर) जो आज किन्यो, पर्सि डिम्याटमा सेयर आयो र मुनाफा थोरै आयो भने बेचिहाल्यो । यो पनि एउटा धेरै लगानीकर्ताहरुले गर्ने गल्ती नै भएको जानकारहरु बताउँछन् । छोटो समयमा लगानी गर्ने सोच राखेकाहरु धेरै जोखिममा हुने उनीहरुको भनाइ छ ।

कम्पनीको आर्थिक अवस्था मूल्यांकन गरेर लगानीकर्ताले नै सेयर खरिद बिक्रीको निर्णय गर्ने हो । खासगरी लगानीकर्ताहरुले देशको आर्थिक, राजनीतिक वातावरण र कम्पनीको वित्तीय अवस्थालाई हेरेर लगानी गर्नुपर्ने हुन्छ । तर छोटो समयका लागि लगानी गर्नेहरुले यी आधारभूत पक्षहरुबारे ध्यान दिन गाह्रो पर्ने हुन्छ ।

हल्लाको भरमा लगानी

सेयर बजारमा हल्लाको खेती गर्नेहरुको समूह पनि ठूलै छ । धेरैले सामाजिक सञ्जालको दुरुपयोग गरेर बजारबारे गलत सूचना प्रवाह पनि गरिरहेका हुन्छन् । केही साता पहिले नेपाल क्रेडिट एण्ड कमर्श बैंक र नविल बैंक मर्जरमा जाँदैछन् भनेर हल्ला चलाइयो । सामाजिक सञ्जाल र केही सञ्चार माध्यमबाट समेत यो हल्ला फैलिएपछि एनसीसी बैंकको सेयर मूल्य निकै उकालो लाग्यो ।

‘एनसीसी बैंक नविलमा जान्छ भन्ने भएपछि प्रतिकित्ता ३६४ मा मैले एनसीसीको ५ हजार कित्ता सेयर किनेँ, तर विडम्वना त्यसपछि बढेको छैन,’ एक जना लगानीकर्ताले गुनासो गरे । २६ फागुनसम्मको एनसीसीको मूल्य हेर्ने हो भने प्रतिकित्ता ३१० रुपैयाँ छ । अर्थात ती लगानीकर्तालाई अहिले पनि प्रतिकित्ता ५४ रुपैयाँ घाटा छ । कहिले सावाँभन्दा माथि पुग्ला र बिक्री गरौँला भनेर बसिरहेको उनले सुनाए ।

सेयर बजारमा यस्ता घटनाहरु धेरै हुन्छन् । यसकारण सेयर बजारमा लगानी गर्दा कसैको हल्लाको पछि लाग्नु हुँदैन । जोखिमबारे अध्ययनको कमी, धेरै कमाउने लोभ, भावनामा बगेर लगानी गरिहाल्ने तथा वित्तीय योजना नबनाई लगानी गर्दा फस्ने खतरा धेरै रहेको मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष थापा बताउँछन् । लगानीकर्ताहरुले माथि उल्लेखित पाँच गल्तीबाट जोखिने प्रयत्न गर्ने हो भने पनि जोखिम धेरै कम हुने उनको भनाइ छ ।

 

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?