Comments Add Comment

विदुर नीति : राजकर्तव्य र राजनीतिक षड्गुणहरू के–के हुन् ?

हस्तिनापुर नरेश धृतराष्ट्र र महाप्राज्ञ विदुरबीच राज्यसञ्चालन सम्बन्धी भएको छलफल नै विदुर नीति हो । विदुरले आफ्ना जेठा दाजु धृतराष्ट्रलाई राजकर्तव्य तथा राज्य सञ्चालनका सम्बन्धमा बताएका कुराहरू नै विदुरका राजकर्तव्य सम्बधी विचारहरू हुन्। हुन त महाभारत आफैँमा राजनीति हो । यसका पदपदमा राजनीतिक चिन्तन एवं दृष्यहरू समाहित छन् । बुझेर भन्दा पनि प्रत्यक्ष रुपमै मन्त्री विदुरले राज्य सञ्चालनको नियम बताएको प्रसङ्गलाई यहाँ सामान्य चित्रण गर्न खोजिएको छ । विदुर नीति व्यापक छ विदुर नीतिमा राजधर्मको मात्र व्याख्या नभई सामाजिक, पारिवारिक, आर्थिक धर्महरूको पनि विवेचना रहेको पाइन्छ । विदुरले मूर्ख, पण्डित, विद्वान्, बुद्धिमान्, कस्ता हुन्छन् ? को आफ्नो मित्र हो ? कसरी चिन्ने ? जस्ता कुराहरू बताएका छन् । उनको यस किसिमको व्याख्या विवेचनाले विदुर नीतिमा राजनीति मात्र नरहेको कुरा स्पष्ट हुन्छ ।

राजा (राजा अर्थात् अहिले शासक)ले सर्वप्रथम कार्य र अकार्य छुट्याउनु पर्छ । मित्र, शत्रु र मध्यस्थलाई चिन्ने प्रयत्न गर्नुपर्छ र यी तीनैथरीलाई साम, दाम, दण्ड भेदको उपयोग गरेर भएपनि आफ्नो वशमा ल्याउनु पर्छ । गोप्यता राखिरहनसक्नु राजाको अर्को गुण हो । अर्थात् राजनीति गर्ने जो कोहीले पनि गोप्य कुरा राख्न सक्दैन भने त्यसको कान्ति क्षय हुन्छ । राजाको विनाश त हुन्छ नै त्यसले राष्ट्रलाई पनि घाटा हुन्छ। राष्ट्र, जनता र सत्ताधारी (राजा) सबैको विनाश गराउने कुरा राष्ट्रियस्तरको गोपनीयताको प्रकट हो । विदुरले फेरि महाराज धृतराष्ट्रलाई सम्झाउँदै भन्दछन् । काम, क्रोधलाई त्याग गरी सत्पात्रलाई धन दिने विशेषज्ञ, शास्त्रज्ञ अनि कर्तव्यपरायण त्यस्ता राजाको बोली र व्यबहार बल्ल प्रामाणिक हुन्छ ।

तसर्थ महाराज तपाईंको संगत राम्रोसँग होस् । जनतालाई खुसी राख्नु नै राजाको कर्तव्य हो । जसरी एउटा भ्रमरले एउटा सुन्दर पुष्पमा कुनै खोट नलगाइकन मकरन्द लिने गर्छ । त्यसैगरी नै राजाले पनि प्रजा वर्गबाट कर असुली गर्नुपर्दछ ।

फेरि राजनीति गर्ने व्यक्ति अर्थात् राजा कहिलै सन्तुष्ट नहोस्, आफ्नो लक्ष्य र कर्मबाट । तर प्रजालाई देख्दा हाँसीखुसी हुने, आफ्नो शक्ति नहुँदा पनि शक्तिशाली देखिन खोज्ने, प्रजाका अगाडि कहिलै हीनताबोध नदेखाउने राजा अर्थात् राजकर्मचारी मात्र अविनाशी हुन्छन् ।

तसर्थ राजाले त्यस्तो कुरामा धेरै ध्यान दिनुपर्छ । प्रिय बोली, प्रेममय नजर, उदार मन, विकासोन्मुख हँुदै प्रगतिशील कर्मगर्ने शासक सधैभरि जनताका प्रिय हुन्छन् । यस्ता काम गर्ने शासकलाई उनीहरूले सर्वदा सम्मान गरिरहन्छन् । संसारमा धर्म सबैभन्दा ठूलो कुरा हो । कुनै पनि राजाले राज्य सञ्चालन गर्दा धर्म अङ्गीकार गर्नैपर्छ । धर्मद्वारा नै राज्य प्राप्त गरेर धर्ममूलक तरिकाले राज्यको रक्षा राजाले गरोस् । धर्मयुक्त तरिकाद्वारा प्राप्त भएकी राज्यलक्ष्मीलाई सबैले प्रेम गर्छन् । उनलाई न राजाले त्याग्छन् न उनले राजालाई त्याग्छिन् ।

राजनीति गर्ने मान्छे, मन्त्री र स्वयं राजामा पनि षड्गुण हुनु आवश्यक हुन्छ । राजनीतिक षड्गुण नबुझ्ने मान्छे कहिल्यै राजनीतिज्ञ अथवा राजाहुन सक्दैन अर्थात् टिक्दैन ।

राजनीतिक षड्गुणहरू

१. सन्धि – शत्रु, छिमेकी वा अरू राष्ट्रसँगसहयोग लिनदिनको निम्ति गरिने सम्झौता नै सन्धि हो ।

२. विग्रह – शत्रुहरूसँग टाढा रहनु अर्थात् शत्रुहरूलाई एकआपसमा फुटाउने नीति नै विग्रह हो ।

३. यान – आफ्ना शत्रुलाई जुनसुकै तरिकाले आक्रमण गर्नु नै यान हो ।

४.आसन – युद्ध हाँक सुन्दा पनि आफ्नो पक्ष निर्बल भएको खण्डमा शक्ति सञ्चित गर्दै चुपचाप बस्नु नै आसन हो ।

५.द्वैधीभाव – भित्रीरूपमा शत्रुता राख्दै बाहिरी रूपमा मित्रता गर्नु नै द्वैधीभाव हो ।

६.समाश्रय – आफू पराजित भएको खण्डमा आफूभन्दा बलियो एवं सुयोग्य राजाको शरणमा जानु नै समाश्रय हो ।

वर्तमान समयमा पनि राजनीति गर्ने जो कोहीमा पनि राजनीतिक षड्गुण हुनु अनिवार्य हुन्छ । राज्य आक्रमण र राज्य विजय मात्र नभई आफ्नो पद प्रतिष्ठाको निम्ति पनि राजनीतिक षड्गुण अनिवार्य हुन्छ । जति बेला राजाले सत्य के हो ? भन्ने कुरासँगै समयको महत्व बुझ्न सक्दैनन् । त्यति बेलाबाट नै राजाको शासन सत्ता क्रमशः पतनोन्मुख हुँदै गइरहेको हुन्छ ।

जसरी एउटा शुक्ल पक्षपछि कृष्णपक्ष आउँछ । शुक्लपक्षमा शशिको उदय भो भनेर उज्यालो नखोज्नेले कृष्ण पक्षमा त्यहीँ भ्रममा पर्दा त्यो अवश्य दुर्घटनामा पर्छ । महाप्राज्ञ, महामन्त्री विदुर भन्नुहुन्छ “हे ! धृतराष्ट्र महाराज तपाईंले महान् धनुर्धर, अत्यन्त तेजस्वी, सत्य पथिक पाण्डवहरूलाई छाडेर यो महान् हस्तिनापुर राज्यैश्वर्यको भार दुर्योधन उपर राखिदिनुभयो । तीनै लोकबाट जसरी दानवीर बलीराजा पतन भएथे त्यसैगरी तपाईं स्वयंले नै त्यसैगरी हस्तिनापुरको साम्राज्यबाट दुर्योधनादि कौरवहरू पतन भएको देख्नुपर्नेछ ।’

ढकाल नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हुन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment