
२ चैत, काठमाडौं । भद्रकाली मन्दिर अगाडि धारा जोडिएको ठूलो ड्रम छ । त्यहाँ राखिएको बेसिन सुकेर कट्कटिएको छ । बरु त्यो फोहोर फाल्ने डस्टविनका रुपमा प्रयोग हुन थालेको छ ।
पूजा सामग्री बेच्न बसेका व्यापारीका अनुसार ट्याङ्कीमा पानी सकिएको पन्ध्र दिनभन्दा बढी भयो । पानी हुँदा पनि दर्शनार्थीहरु हात धुनुभन्दा स्यानिटाइजर प्रयोग गर्न रुचाउँथे । अहिले त पानी नै नभएपछि हात धुने कुरै भएन ।
कोरोना माहामारीको समयमा विश्व स्वास्थ्य संगठनले संक्रमणबाट बच्न साबुन पानीले बारम्बार हात धुन सुझाव दिएपछि काठमाडौं उपत्यकाका धेरै ठाउँमा हात धुने व्यवस्था गरिएको थियो । विश्व हात धुने दिवस मनाउन थालेको १२ वर्षसम्म फैलन नसकेको सचेतना कोरोनाकालमा फैलिएको थियो ।
तर तीव्र गतिमा फैलिएको सचेतना तीव्र गतिमा नै कम हुँदै गएको देखिन्छ ।
सुन्धारामा काठमाडौं मल अगाडि तीन वटा धारासहित ट्यांकी राखिएको छ । धारामा पानी छ, तर साबुन छैन । हात धुनेहरु पनि छैनन् । त्यहीँ भेटिएका राकेश श्रेष्ठ हात धुने बानी छुट्दै गएको बताउँछन् । उनले भने ‘कोरोनाको उच्च जोखिम भएको बेला त धोइयो । अहिले कोरोना नै छैन भनेर धुनै छोडियो ।’
बसन्तपुर परिसरमा राखिएको धाराको टुटी नै छैन । कसले फुकालेर लग्यो कसैलाई थाह छैन ।
न्यूरोडस्थित भूगोल पार्कमा राखिएको धारा पनि सुकेको छ । नजिकै सडक पेटीमा घडी बेच्न बसेका रोशन कुर्मीले पानी सकिएको एक महिना भन्दाबढी भएको बताए । भन्छन्, ‘कोरोना हुँदा राखेको थियो । अचेल कोरोना छैन, पानी पनि छैन ।’
रोशनलाई जस्तै अधिकांशलाई कोरोना सकिएको र हात धोइरहनुपर्ने जरुरी नभएको भन्ने लाग्न थालेको देखिन्छ । त्यस्तै भ्रम ट्यांकी राख्ने सामाजिक संघसंस्थाहरुलाई पनि भएको जस्तो देखिन्छ । त्यहीकारण हुनसक्छ पानी, साबुन राख्न छोडिएको ।
हटाउन थालियो ट्यांकीहरु
हात धुन सहज होस् भनेर मानिसहरुको बढी चहल पहल हुने सार्वजनिक स्थानहरु पार्क, चोक, मन्दिर, सडक छेउमा राखिएका अधिकांश धाराको अवस्था यस्तै छ ।
धेरैमा पानी राख्न छाडिएको छ । कोरोना संक्रमणको जोखिम कम भएको र पानी कम भएकाले नियमित रुपमा पानी राख्न नसकिरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उप–प्रबन्धक डा. डोल प्रसाद चापागाईंले बताए । उनले भने ‘कोरोनाको बेला राखिएको थियो । संक्रमणको जोखिम कम भएको र पानीको स्रोत सुक्दै गइरहेकोले नियमित भर्न सकिरहेका छैनौं ।’
कतिपय सार्वजनिक स्थानका ट्याङ्कीहरु हटाउन थालिएको छ । कलंकी क्षेत्रमा राखिएका ट्यांकीहरु हटाइएको छ ।
तर यस्ता ट्यांकीहरु नहटाई निरन्तरन्ता दिनुपर्ने गैर सरकारी संस्था गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्य बताउँछन् । कोरोनाबाट मात्रै नभई हातको स्वच्छताको कमीले लाग्ने रोगको जोखिम कम हुने भएकाले यो अभियानलाई जारी राख्नुपर्ने उनले बताए । उनी भन्छन्, ‘यही मौकामा हामीले हातको स्वच्छताका कारण हुने हाम्रै स्वास्थ्यमा पर्ने सकारात्मक सन्देश फैलाउनपर्छ ।’
विश्व स्वास्थ्य संगठनका अनुसार ४० प्रतिशत सरुवा रोग हात धोएर रोकथाम गर्न सकिन्छ ।
तर कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आइ नसक्दै हातधुने बानी छुट्न थालेको छ । यसले जोखिम बढाउने संक्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदी बताउँछन् ।
कोरोना सकिएको भन्ने भ्रमले हात नधुने, मास्क नलगाउने गर्नाले जोखिम निम्तन सक्ने भन्दै उनले भने, ‘नयाँ भेरियन्टहरु देखा परेका छन् । सबै खालको संक्रमणबाट जोगिन हात धुनैपर्छ, मास्क लगाउनैपर्छ । यो मापदन्ड नमान्ने छुट कसैलाई छैन ।’
सर्वसाधारणले कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने मापदण्डहरुमा वेवास्ता गर्न थालेका छन् ।
स्थानीय निकायसँग समन्वय गरी उपत्यकाका विभिन्न स्थानमा धाराहरु राखेको गैर सरकारी संस्था वाटर एडकी स्वच्छता पैरवी अधिकृत सन्ध्या चौंलागाई मानिसको व्यवहारमा परिवर्तन भएको बताउँछिन् ।
भन्छिन्, ‘अहिले हामीले फेरि हात धुने बानी कम गरेका छौं । सचेतना घट्दै गइरहेको हो कि जस्तो देखिन्छ । यसबारे अध्ययन गरिरहेका छौं ।’
तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4