Comments Add Comment

किन बढ्यो कुखुराको मासुको मूल्य ?

३ चैत, काठमाडौं । ब्रोइलर कुखुराको मासु प्रतिकिलो ३८४ रुपैयाँ पुगेको छ । मासु व्यवसायीले फागुन महिनामा मात्रै तीन पटक भाउ बढाएका छन् । फागुनको शुरुमा ब्रोइलरको मासु ३५५ रुपैयाँ किलो थियो ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसी कोभिड–१९ का कारण लकडाउनका बेला अन्तर्राष्ट्रिय उडान रोकिएको असर अहिले कुखुराको मासुमा परेको बताउँछन् ।

चल्ला उत्पादनका लागि विदेशबाट आयात हुने प्यारेन्ट माउ कुखुराको अभावले उत्पादनमा ५० प्रतिशतले ओरालो लागेको बीसीले जानकारी दिए ।

‘बजारमा खपत बढ्नु तर मागअनुसार कुखुरा उत्पादन नहुनु मूल्य बढ्नुको कारण हो । यही अनुपातमा असर रहिरहे अझै ६ महिनासम्म मासुको मूल्य बढ्न सक्ने देखिन्छ’, बीसीले भने ।

नियमित प्रक्रियाबाट आयात भइरहेको चल्ला उत्पादन गर्ने प्यारेन्ट माउ ९ महिनासम्म आउन नपाउँदाको असर र बर्डफ्लुका कारण किसान पनि उत्पादनमा नलागेको बीसी बताउँछन् ।

महँगो चल्ला र दाना

पछिल्लो एक महिनामा चल्लाको भाउ पनि गोटामा ३० देखि ३५ रुपैयाँले बढेको छ । प्रतिगोटा ५५ देखि ६० रुपैयाँमा कारोबार हुने चल्लाको भाउ ९० रुपैयाँभन्दा धेरै भएको नेपाल ह्याचरी उद्योग संघले जनाएको छ ।

प्यारेन्ट कुखुरा अभावमै चल्लाको उत्पादन साप्ताहिक रूपमा १५ लाख गोटाले कम भएको संघका अध्यक्ष टीकाराम पोख्रेल बताउँछन् । हप्तामा ४० देखि ४५ लाख चल्लाको माग भए पनि उत्पादन २५ लाख हाराहारी मात्रै रहेको उनको भनाइ छ ।

‘गत वर्ष यो सिजनमा ५५ लाख हाराहारी चल्ला रहे पनि अहिले धेरै कम भएको छ, अब तत्काल प्यारेन्ट आयात बढाउँदा पनि कम्तीमा ८ महिना त चल्ला उत्पादन बढाउनै लाग्छ’, अध्यक्ष पोख्रेल भन्छन् ।

नेपालमा चल्ला उत्पादन गर्ने माउ प्यारेन्ट कुखुरा थाइल्याण्ड, फिलिपिन्स, जर्मनीलगायत मुलुकबाट आउने गरेकोमा लकडाउनका कारण प्रभावित बनेको पोख्रेलको दाबी छ । यसै हप्ता मात्रै दाना उत्पादक व्यवसायीले ब्रोइलर तथा लेयर्स दानाको भाउ पनि बढाएका थिए ।

दाना बनाउन आवश्यक पर्ने मकै भटमासको भाउ बढेको भन्दै उनीहरूले प्रतिकिलो २ रुपैयाँका दरले दानाको भाउ बढाएको नेपाल ह्याचरी संघले जनाएको छ । नयाँ मूल्य अनुसार ब्रोइलर कुखुराको दानाको भाउ प्रतिकिलो ६० रुपैयाँ र लेयर्सको ५५ रुपैयाँ हाराहारी पुगेको संघका अध्यक्ष टीका पोख्रेलले बताए ।

किसान भन्छन्– लगानी नै नउठ्ने अवस्था आयो

व्यापारीले बजारमा मासुको उपभोक्ता मूल्य बढाए । चल्ला र दाना उत्पादक संघले पनि दुवैको भाउ बढाए । तर स्वयं कुखुरापालक किसान भने जिउँदो कुखुरा बिक्रीको भाउ निराशाजनक रहेको बताउँछन् । उपभोक्ताले महँगोमा मासु किनेको सुन्दा आफूहरूले सो अनुसारको मूल्य नपाएको नेपाल ब्रोइलर कुखुरा पालक किसान संघका अध्यक्ष झनकप्रसाद पौडेलले गुनासो गरे ।

चल्ला र दाना तथा मासु बिक्रेता मिलेर किसान अनि उपभोक्ता दुवैमाथि संगठित रूपमा ठगी गरेको पौडेलको आरोप छ । ‘मासु, चल्ला र दानाको मूल्य बढ्ने तर त्यसको भार उपभोक्ता र किसानलाई मात्रै हुने यो कस्तो प्रणाली हो ? सरकार किन यसमा चुप बसेको ?’ पौडेलले प्रतिप्रश्न गरे ।

‘दाना र चल्ला उत्पादक एवं मासुको मूल्य तोक्नेहरूले कार्टेलिङ गरेर विना कुनै आधार मूल्य बढाएको र त्यसमा सरकारी संयन्त्रको पनि साथ रहेको देखिन्छ’, उनले थपे ।

किसानले पालेको जिउँदो कुखुराको मूल्य समेत उद्योगी तथा सिण्डिकेटधारी व्यवसायीहरूले तोक्ने गरेको कुखुरापालक किसानसम्बद्ध अर्को संस्था राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समितिको आरोप छ । चल्ला, दाना र मासुको मूल्य बढेपछि देशभरका कुखुरा पालक किसानको जिउँदो कुखुरा बिक्री मूल्य २७० रुपैयाँ पुर्‍याइए पनि मूल्य बढेको तुलनामा त्यो भाउले लगानी पनि नउठ्ने समितिका अध्यक्ष विष्णु खड्काले बताए ।

‘कुखुरा मर्ने दर निकै ठूलो छ, उपभोक्ताले महँगोमा मासु किन्दा पनि किसान व्यवसाय छाडेर हिंड्नुपर्ने अवस्थामा पुगेका छन्’ उनले भने । दाना र चल्लाको मूल्य वृद्धिबारे वाणिज्य विभागलाई चार पटकसम्म ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको अध्यक्ष खड्काको भनाइ छ । ‘सरकार दलाली जस्तो भयो, हाम्रो दुःखको सुनुवाइ नै भएन अब संघर्षमा जानुपर्ने अवस्था आएको छ’, खड्का भन्छन् ।

नेतृत्व परिवर्तन र मूल्य वृद्धिको संयोग !

गत वर्ष मंसिरमा वाणिज्य विभागको महानिर्देशकमा नेत्रप्रसाद सुवेदीले कार्यभार सम्हाले । उनले कार्यभार सम्हालेको एक महिना नपुग्दै नेपालमा ‘चिकन्स होलिडे’ शुरू भयो । मंसिर २९ देखि पुस ६ सम्म चलेको चल्ला नष्ट गर्ने अभियानका कारण १० दिनमा कुखुराको मासुको मूल्य १६० रुपैयाँले बढ्यो ।

सिजनमा माग भन्दा बढी चल्ला उत्पादन भएको भन्दै ह्याचरी उद्योगले ‘चिकन्स होलिडे’ मनाएका थिए । महँगोमा चल्ला बिक्री गर्न नपाउँदा घाटा भएको भन्दै उनीहरूले लाखौंको संख्यामा कुखुराका चल्ला नष्ट गरेपछि बजारमा मासुको अभाव चर्कियो । त्यही अभावलाई बहाना बनाएर व्यवसायीले मासुको मूल्य बढाए पनि वाणिज्य विभागले कसैलाई कारबाही गरेन ।

यस वर्ष पनि संयोग के भयो भने विभागबाट नेत्र सुवेदी बिदा भएर अख्तियारका सहसचिव प्रकाश पौडेल विभागीय नेतृत्वमा आएसँगै कुखुरा व्यवसायी र चल्ला उत्पादकले मूल्य बढाउने खेल शुरू गरेको कतिपयको दाबी छ । १६ फागुनमा नयाँ महानिर्देशक आएपछि एक वर्षअघिको कोभिड–१९ असरले चल्ला, कच्चा पदार्थको मूल्य बढेको बहानामा दाना र कम उत्पादनले मासुको मूल्य आकाशिएको छ ।

तर वाणिज्य विभाग यसलाई स्वीकार गर्न तयार छैन । कुखुराको मासु, दाना र चल्लाको मूल्य सन्दर्भमा विभागले नियमित अनुगमन गरिरहेको विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईं बताउँछन् । ‘हामीले फागुनको पहिलो साता बजार अनुगमन गरेका थियौं, गरिरहेका छौं’, उनी भन्छन् ।

विभागको अनुगमन शाखा प्रमुख एवं निर्देशक सागर मिश्र पनि विभागले नियमित बजार अनुगमन गरेको बताउँछन् । फागुन महिनामा कुखुरा पालक तथा अण्डा उत्पादक चार वटा फर्ममा विभागले अनुगमन गरेकोमा तीन वटाको अवस्था सामान्य रहेको तथा एउटामा सामान्य कैफियत देखिएकाले तत्कालै सुधार गर्न निर्देशन दिइएको निर्देशक मिश्रले जानकारी दिए । तर मूल्य वृद्धिको असरमा किसान र उपभोक्ता परिसकेका छन् ।

गत वर्ष चल्ला नष्ट अभियान (चिकन्स होलिडे) शुरू हुने वित्तिकै उपभोक्तालाई मूल्य वृद्धिको मार पर्नेबारे विभागमा लिखित उजुरी गरेको उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउँछन् । मेरो उजुरीपछि विभागले सबै पक्षलाई बोलाएर कैयौं पटक छलफल गरे पनि कसैमाथि कारबाही नभएको उनको भनाइ छ ।

‘उजुरी आएपछि धमाधम प्रतिनिधिमूलक नै भए पनि कारबाही गरिनुपर्दथ्यो तर मासुको भाउ १६० रुपैयाँले बढ्दा समेत विभाग निरीह बन्यो’ तिमिल्सिनाले थपे, ‘तत्कालीन महानिर्देशक त्यसअघि चितवनमा काम गरेको हुनु र चितवन कुखुरा उद्यमीको हब भएका कारण कारबाही नभएको हुनुपर्छ भन्ने हामीले बुझ्यौं ।’

अहिले पनि नयाँ महानिर्देशक आउने बित्तिकै मूल्य बढ्न थाल्नुले व्यवसायीले आफू अनुकूलका मानिस पदमा बसालेर मात्रै निर्णय गर्ने गरेको हुनसक्ने आकलन बढेको उनी बताउँछन् । तिमिल्सिनाले भने, ‘तत्कालै प्रमाणित गर्न नसकिए पनि आशंका गर्ने आधार भने प्रशस्त छ ।’

विभागबाट २०७६ सालमा अवकाश पाएका तत्कालीन महानिर्देशक योगेन्द्र गौचन चल्ला, कुखुरा र दाना व्यवसायीहरू उच्च राजनीतिक संरक्षणमा कार्टेलिङमा रमाउने गरेको बताउँछन् । यिनीहरूको संघ तथा एशोसिएसन सामान्य अनुमान गरिने भन्दा निकै शक्तिशाली रहेको अनुभव आफूले गरेको गौचनले बताए । उनी भन्छन्, ‘कानूनभन्दा बाहिर रहेर व्यवसायीहरू उपभोक्ता मूल्य तोक्छन्, सरकारी नियन्त्रण छैन, यो त कार्टेलिङ नै हो !’

चल्ला र दाना उत्पादन गर्ने तथा मासुको मूल्य तोक्ने संघ–संस्थामा निकै लामो समयदेखि एउटै मात्र व्यक्ति केन्द्रीय भूमिकामा रहेर बिचौलियाको काम गरेको नेपाल ब्रोइलर कुखुरा पालक किसान संघका अध्यक्ष झनकप्रसाद पौडेलको आरोप छ । किसानले उत्पादन गर्ने मासुको मूल्य तोक्ने राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसी २४ वर्षदेखि सो संस्थाको अध्यक्ष रहेको पनि पौडेलले बताए ।

पौडेल भन्छन्, ‘दाना, चल्ला उत्पादक र मासु बिक्रेता जस्ता संस्थाको मूल्य निर्धारण गर्न कानूनले ती संस्थालाई रोकेको भए पनि कारबाही नगर्नुले विभाग नै बिचौलियसँग मिलेको पुष्टि हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment