Comments Add Comment

होमस्टे सञ्चालन कार्यविधि बनाउन माग

३ चैत, काठमाडौं । होमस्टेका नाममा विकृति बढ्दै गएपछि स्वयम् होमस्टे सञ्चालकहरुले नै सञ्चालन कार्यविधि बनाएर व्यवस्थित गर्न माग गरेका छन् । होमस्टे एसोसिएसनको तेस्रो राष्ट्रिय कार्यशाला गोष्ठीबाट होमस्टे सञ्चालकले सरकारसँग यस्तो माग गरेका हुन् । सातै प्रदेशमा वैज्ञानिक होमस्टे सञ्चालन कार्यविधि जारी गर्न सञ्चालकले माग गरेका हुन् । होमस्टेको ब्राण्डिङ, वर्गिकरण, गुणस्तर, पहिचान र पर्यटक आचारसंहिताका लागि समेत होमस्टे सञ्चालकले मापदण्ड समेत बनाउने भएका छन् ।

विकृति नियन्त्रण गर्न दण्ड–जरिवानाको माग

सञ्चालकले होमस्टेको नाममा फैलिएको विकृति नियन्त्रण गर्न दण्ड जरिवाना र राम्रो काम गर्नेहरुलाई पुरस्कारको व्यवस्था गर्न समेत एसोसिएसनले सरकारसँग माग गरेको छ । यसका लागि निरन्तर अनुगमन तथा सरोकारवालासँग समन्वय गरिने बताइएको छ । कोभिड १९ पछिको ग्रामिण पर्यटनको अग्रणी मोर्चामा रहेको होमस्टेले विश्व स्वास्थ्य संगठनको मापदण्ड कडाइका साथ पालना गरी पर्यटकको सेवालाई भने निरन्तरता दिने निर्णय समेत गरेको छ ।

डिजिटल मार्केटिङलाई प्राथमिकता

एसोसिएसनले होमस्टेको प्रवर्द्धन तथा प्रचारप्रसारमा डिजिटल माध्यमलाई प्राथमिकता दिने निर्णय समेत गरेको छ । यसका लागि आवशयक कार्य अगाडि बढाउने निर्णय समेत एसोसिएसनले गरेको छ । देशभर सञ्चालनमा रहेका होमस्टेको क्षमता अभिवृद्धि गर्न तालिम कार्यक्रमलाई समेत अगाडि बढाउने निर्णय भएको संघले जनाएको छ ।

७ प्रदेशका उत्कृष्ट होमस्टे सम्मानित

कार्यशालाका अवसरमा देशका ७ वटै प्रदेशबाट उत्कृष्ट होमस्टेलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा साँघु कोलडाँडा सामुदायिक होमस्टे (ताप्लेजुङ), सुनाखरी सामुदायिक होमस्टे (पर्सा), नागार्जुन सामुदायिक होमस्टे (काठमाडौं), सुन्तलाबारी सामुदायिक होमस्टे (स्याङ्जा), जगदीशपुर होमस्टे (कपिलवस्तु), आफर सामुदायिक होमस्टे (सुर्खेत) र थारु होमस्टे कैलालीलाई सम्मानित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment