+
+
Shares

ईसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३ गते १९:०९

३ चैत, पोखरा । ईसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ । पोखरा महानगरपालिकालाई डिजिटल बजार बनाउने उदेश्यका साथ दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा ईसेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामिछाने र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै पोखरा उद्योग वाणिज्य संघमा आबद्ध हरेक सदस्य तथा अन्य पसलहरुमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने सुविधा प्रदान गरिनेछ । पोखरा उद्योग वाणिज्य संघमा ७१ वटा वस्तुगत संघ र ३५ सय बढि व्यवसाय तथा फर्म आबद्ध छन् ।

सम्झौता कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापाले गरेका थिए । कार्यक्रममा बोल्दै उनले अनलाइन पेमेन्टले भ्रष्टाचार रोक्न सघाउ पुर्‍याउन बताए । उनले नगद भुक्तानका लागि धेरै व्यक्तिहरु धेरै ठाउँमा खटिनुपर्ने बताउँदै अति नै मितव्ययी रहेकोले ईसेवा डिजिटल पेमेन्टको क्षेत्रमा आजको आवश्यकता रहेको टिप्पणी गरे ।

क्यूआर तथा डिजिटल साझेदारी सम्झौता कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले भने, ‘परिवर्तित समय अनुसार आफ्ना व्यापार व्यावसायलाई परिमार्जन गर्दै लैजाने क्रममा ईसेवासँग साझेदारी सम्बन्ध गाँस्न पाउँदा खुसी छौँ । पछिल्लो समय क्यूआरकोे लोकप्रियता बढेको छ र यसले पैसा बोक्ने सिस्टम बिस्तारै कम हुदै गएको हुनाले हामी पनि यसको प्रयोगलाई बढाउन अग्रसर भएको हौं ।’

कार्यक्रममा ईसेवाका सीएसओ रोशन लामिछानेले प्रविधिको सहि र उच्चतम प्रयोगका लागि, संघ र सदस्यहरुको सामिप्यताका लागि तथा डिजिटल भुक्तानी र प्रविधिमैत्री शहर र व्यवसायका लागि संघसँग ईसेवाले सहकार्य गरेको बताए ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शूल्क बुझाउँदा बेहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ । हाल ईसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेका छन् । हाल ईसेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल ईसेवामा मर्चेन्टको संख्या करिब २ लाख छन् ।

ईसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । ईसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?