Comments Add Comment

‘पार्टी एकताको पहलमा चियापान’

३ चैत, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चियापान समारोहमा सहभागी नेकपा एमालेका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको पहल सुरु गरेको दाबी गरेका छन् ।

चियापानमा सहभागी नेकपा (एमाले)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले एमालेभित्रको विवाद मिलाउन प्रधानमन्त्री ओलीले पहलकदमी सुरु गरेको दाबी गरे । सञ्चारकर्मीसँग कुरा गर्दै उनले अदालतको फैसला अघि निषेधको तहसम्म पुगेका नेता कार्यकर्तालाई मिलाउन समय लाग्ने भएपनि प्रधानमन्त्री ओलीले विवाद कम गर्न पहल गरेको बताए ।

‘अदालतको फैसला अगाडि हामी एकदम निषेधकै तहमा उभिएका थियौँ । पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयंलाई बहुमत भन्दै कमरेड माधव र प्रचण्डले पार्टी सदस्यताबाटै निस्कासन भनेपछि त्यो तहको समेत हामी ठाउँमा उभिएका थियौं,’ उनले भने, ‘तर अदालतको फैसला पछाडि पूर्ववत् अवस्थामा नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र भइसकेपछि त्यो फैसला अगाडिका हाम्रा गतिविधिलाई सेप लिनलाई टाइम लाग्छ । त्यही सेप लिनलाई टाइम लाग्ने भएको हुनाले पार्टी अध्यक्षको तर्फबाट उहाँले पहलकदमी सुरु गर्नुभएको छ । यो पहलकदमीले पार्टीलाई फेरि एक ठाउँमा लिएर आउँछ ।’

अर्का केन्द्रीय सदस्य पासाङ शेर्पाले विभिन्न खालका झगडियाहरुको भेलामा बस्नुभन्दा सबल नेतृत्वको पछाडि लाग्दा जनताको विकास र समृद्धिको अपेक्षा पूरा गर्न सकिने निष्कर्षका साथ आफूले केपी ओली नेतृत्वको नेकपा (एमाले) रोजेको जिकिर गरे ।

‘नेपाली जनताले अपेक्षा गरेको राजनीतिक स्थिरता, विकास र समृद्धिको लागि राजनीतिक स्थिरता हो । र मैले आफ्नो लामो विश्लेषणपछि राजनीतिक स्थिरतालाई कायम गर्न सक्ने नेतृत्वको साथमा बस्न पाए हुन्थ्यो भन्ने सोचेरै मैले नेकपा (एमाले) मा नै रहने । खासगरी पहिले पनि नेकपा (एमाले) सम्बद्ध नेपाल कम्युनिष्ट पार्टीमा रहियो,’ उनले भने, ‘त्यसपछि पार्टी सर्वोच्च अदालतले पूर्ववत् अवस्थामा फर्कायो । तर यहाँ काम गरिरहँदाको मेरो अनुभुति वर्तमान केपी ओलीको सरकार र नेतृत्वले मुलुकमा शान्ति, स्थायित्व, विकास, समृद्धिको मुद्दा बोकेको हुँदा म यहीं जोडिन पुगें ।’

एमाले केन्द्रीय कमिटी सदस्य देवी ज्ञवालीले एमालेको संगठनलाई व्यवस्थित, पुनर्गठित र नयाँ गतिका साथ अगाडि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment