Comments Add Comment

एक वर्षपछि पक्राउ परे किशोरी हत्याका अभियुक्त

३ चैत, सुर्खेत । सल्यानको त्रिवेणी गाउँपालिका–१ काभ्राकी १६ वर्षकी कविता बोहराको हत्यामा एउटै स्कुलमा पढ्ने साथीले गरेको प्रहरीले दावी गरेको छ ।

स्थानीय जनता माविमा कक्षा ९ मा पढ्ने कविताको २०७६ फागुन २ गते राति १२ बजे धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

हत्या आरोपमा प्रहरीले जनता माविमा १० कक्षामा पढ्ने स्थानीय १७ वर्षीय किशोर कृष्ण थापालाई गत फागुन ११ गते नै पक्राउ गरेको थियो । तर, प्रहरीले थापालाई मंगलबारमात्र सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यान, कर्णाली प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले १ वर्ष लामो अनुसन्धानपछि हत्यामा संलग्नको पहिचान गरेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी बसन्तकुमार पन्तले बताए ।

‘भ्यालेन्टाइन डे को दिन प्रेमपत्रको जवाफ नदिएपछि झोँकमा ती युवाले छिमेकी युवती कविताको घाँटी रेटेर हत्या गरेको अनुसन्धानको क्रममा खुलेको छ,’ डीआईजी पन्तले भने ।

कविताको हत्या भएकै दिन प्रदेश प्रहरी कार्यालयले घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षक माधव श्रेष्ठको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको थियो । उनकै निर्देशनमा प्रहरी नायव निरीक्षक नारायण शर्मा र सहायक निरीक्षक प्रेमप्रसाद शर्मा घटनास्थलमा खटिएका थिए ।

‘यसअघि भएका विभिन्न अनुसन्धानबाट हत्यामा संलग्नलाई पत्ता लगाउन सकिएको थिएन,’ डीआईजी पन्तले भने, ‘तर, प्रदेश र जिल्लाको टोलीले तीन दिनभित्रै पक्राउ गर्न सफल भएको छ ।’

पक्राउ परेका कृष्णले आफूसँग प्रेम नगरेका कारण हत्या गरेको वयान प्रहरीसमक्ष दिएका छन् । अभियुक्त १८ वर्ष नपुगेकाले उनलाई नेपालगञ्जस्थित बालसुधार गृहमा पठाइने सल्यान प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment