Comments Add Comment

हतौडाले हानेर श्रीमतीको हत्या गरेको आरोपमा एक पक्राउ

३ चैत, काठमाडौं । बल्खुमा हतौडा प्रहार गरेर ३२ वर्षीया सन्तोषी श्रेष्ठको हत्या भएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनका पति सन्तोष सापकोटालाई पक्राउ गरेको छ ।

प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहका अनुसार घन प्रहार गरेर हत्या गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो । ‘मंगलबार साँझ बल्खुबाट उनलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसूरमा अनुसन्धान थालेका छौं’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहले अनलाइनखबरसँग भने ।

सोमबार साँझ बल्खुस्थित सकुम्बासी वस्तीमा बोरामा हालेर फालिएको अवस्थामा महिलाको शव भेटिएको थियो । रगतले लत्पतिएको बोरा देखेर स्थानीयले खबर गरेपछि अनुसन्धान थालेको प्रहरीले शव सन्तोषीको भएको पत्ता लगाएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट सन्तोषले कोठामा श्रीमतीको हत्यापछि बोरामा हालेर बाहिर फ्याँकेको हुनसक्ने देखिएको प्रहरी बताउँछ । श्रीमान्–श्रीमतीबीच पटकपटक झगडा हुने गरेको पनि पाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार पछिल्लो समय सन्तोषी जोरपाटीस्थित माइतमा बस्ने गरेकी थिइन् भने सम्बन्ध विच्छेदको प्रयास गरिरहेका थिइन् । सोमबार बिहान उनी सानेपाको एक सहकारीमा ऋणको किस्ता बुझाउन गएकी थिइन् । त्यहाँबाट फर्किएपछि घटना भएको प्रहरीको आशंका छ । थप अनुसन्धान जारी छ ।

सन्तोषीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment