Comments Add Comment

ब्लग – १६ वर्षको प्रवासी अनुभव

वैदेशिक रोजगारीको लागि युएई जानुभन्दा अगाडि शिक्षण, टुरगाइड र चियापत्तीको व्यापार गरेको थिएँ । तर, पारिवारिक आवश्यकता आकाशिंदै जाँदा ती काममा भविष्य देखिनँ । धैर्य र लगनशीलताको अभाव वा उमेरगत प्रभावले होला, जे काम गरे पनि दुई/चार वर्षपछि छाडिदिएँ । नयाँ नयाँ काम र व्यवसाय गर्ने अनि केही वर्षपछि छाड्ने आदत बस्यो । त्यो बेलासम्म नाम जस्तै जीवन तुफानै गतिमा चलेको थियो ।

जीवनमा नयाँ चुनौती, नयाँ बाटो ! अझ भनौं निकास र बहावको खोजीमा थिएँ । नेपालमा बसेर जेनतेन गुजारा चलिरहेको थियो । तर मैले नयाँपन खोजिरहेको थिएँ । ऊ बेला बैंसमा म अलि तुफानै थिएँ, परिवर्तनकारी थिएँ शायद । बुबाआमाको इच्छाविपरीत विदेश जाने निर्णय गरें ।

कोरिया जाने सपना थियो पहिला । तर, सबै सपना साकार हुन्नन् । शायद जीवन भनेकै सफलता र असफलताको दोहोरी हो । श्रीमती शोभालाई पनि आफ्नो श्रीमान् परदेश जाओस् भन्ने त थिएन तर छोराछोरीको उच्च शिक्षाको लागि विदेशिने मेरो निर्णयलाई समर्थन गरिन् । उनको त्यागलाई म आजीवन सम्मान गर्दछु ।

काठमाडौंमा पढ्दाको मेरो रुममेट जो अहिले इलामको सूर्योदय नगरपालिकाको मेयर हुनुहुन्छ- रणबहादुर (आरबी) राई । उहाँको समन्वय, सल्लाह र सहयोगका आधारमा अन्ततः म १५ जुलाई २००७ का दिन युएई आइपुगेको थिएँ ।

नेपालको सर्वदा हरित पहाडी जिल्ला तथा बाह्रै महिना हुस्सु लाग्ने चिसो वातावरण इलाममा हुर्केको म युएईको तातो हावापानी अनि बालुवाले भरिएका निरश फाँटहरू देख्दा पहिलो पटक आत्तिएको थिएँ ।

ठाउँठाउँमा गगनचुम्बी भवनहरू भए पनि सुरूमा मेरो मनमा वैराग उत्पन्न हुन्थ्यो । तर, पनि आशावादी बन्दै युएईको स्टार सेक्युरिटी सर्भिसमा गार्डको रूपमा काम सुरु गर्न मानसिक र शारीरिक रूपमा तयार भएँ ।

युएईको सेक्युरिटी व्यवस्थापन विश्वमै नमूना बनेको छ । यसलाई अझै व्यवस्थित बनाउन युएई सरकारले अमेरिकी देशहरूबाट एक्सपर्टहरू झिकाएर विशेष नीति लागू गरेको छ ।

युएई सरकारले प्राइभेट सेक्युरिटी सिस्टमलाई भरपर्दो, विश्वासिलो र यहाँको प्रहरीको एक अंग बनाउन क्यानडाबाट पिटर डार्सी नामका विज्ञ झिकाएर आन्तरिक रूपमा सुधारका कामहरू सुरू गरेको रहेछ । उनै क्यानेडियन नागरिक पिटरले युएईका सबै प्राइभेट सेक्युरिटीहरूलाई क्यानडाको पाठ्यक्रम अनुसार तालिम दिलाउने, परीक्षा लिने र परीक्षामा उत्तीर्ण हुने शारीरिक, मानसिक, शैक्षिक रूपमा योग्य सेक्युरिटीहरूलाई लाइसेन्स प्रदान गर्ने व्यवस्थापन मिलाउन यहाँको मन्त्रिपरिषदबाट विधेयक नै पास गराएका कारण युएईको सेक्युरिटी सिस्टममा धेरैको विश्वास र आकर्षक बढेको हो ।

युएईमा आएर तीन महिना मात्रै सेक्युरिटी गार्डका रूपमा फिल्डमा काम गरें । त्यो बेला मेरो तलब ८०० दिराम थियो । १२ घन्टा काम गर्दा एक हजार दिरामसम्म हुन्थ्यो । तीन महिना सेक्युरिटीका रूपमा काम गरेपछि मैले एउटा अवसर पाएँ ।

अबुधाबी प्रहरीको एक अंग मानिने सेक्युरिटी क्षेत्रलाई पूर्ण रूपमा पेशागत बनाउन सरकारले नै पीएसबीएस (प्राइभेट सेक्युरिटी बिजनेस सेक्सन) गठन गरी दुबई इमिरेट्सबाहेक अन्य ६ इमिरेट्समा कार्यरत सबै सेक्युरिटीहरूले अनिवार्य तालिम लिनुपर्ने, परीक्षामा पास भएर लाइसेन्स लिनुपर्ने नीति सन् २००८ देखि बाध्यकारी बनाएको कारण स्टार सेक्युरिटी कम्पनीले पनि मसहित १० जना गार्डलाई तालिममा पठाएको थियो । हिजोआज त्यो तालिम एक हप्ताको कायम गरिएको छ, त्यो बेला दुई हप्ताको हुन्थ्यो ।

तालिममा सेक्युरिटीका काम, कर्तव्य र अधिकार मात्रै नभएर सेक्युरिटी र पुलिसबीचको सहकार्य, सम्बन्ध, रिपोर्ट राइटिङ, नोट बुक राइटिङ, युएईको आधारभूत कानूनी जानकारीलगायत विविध विषयमा तालिम दिइएको थियो । कम्पनीले पठाएका १० जनामा नेपालीको तर्फबाट म पास भएको थिएँ भने दुई सुडानी, एक अपि|mकन र एक पाकिस्तानी गार्ड पास भएका थिए ।

यो परीक्षामा नेपालीको तर्फबाट पास भएपछि मेरो जिम्मेवारी फेरिएको थियो । नयाँ कोर्स भएका कारण र पहिला कक्षा १० पनि पास नगरेका धेरै सेक्युरिटी रहेका कारण ती सबैलाई तालिम दिलाउने जिम्मेवारीसहित तालिम को-अर्डिनेटर भएर काम गर्न थालें ।

कुनै समय पाँच हजार सेक्युरिटी गार्डले काम गर्ने यो कम्पनीको केन्ऽीय कार्यालय अबुधाबीमा म एक्लो नेपाली थिएँ । प्रायः भारतीयहरूकै बोलवाला हुन्छ हरेक कम्पनीका हरेक विभागमा । कम्पनीले पहिलो पटक पठाएका १० जनामा केही भारतीयहरू पनि थिए । तर, उनीहरू कसैले पनि परीक्षा पास गर्न नसकेको कारण भारतीय गार्डको स्थानमा नेपाली भएको नाताले मैले त्यो अवसर पाएको थिएँ ।

हाम्रो समूहमा एक जना मात्रै भारतीय गार्ड पास गरेको भए मैले त्यो अवसर पाउने सम्भावना थिएन । यस्तो अवस्था प्रायः हरेक कम्पनीभित्र हुने गर्छ ।

नेपालमै रहँदा निजी स्कूलमा अंग्रेजी भाषा शिक्षण गरेका कारण युएईमा पनि आफूले तालिममा सिकेको कुराहरू सिकाउन सजिलो भयो । मैले स्टार सेक्युरिटीका हजारौं गार्डलाई पढाउनुपथ्र्यो । सरकारले लिने खालको नमूना परीक्षा लिनुपर्थ्यो । सेक्युरिटीको आधारभूत ज्ञान, सीप अनि क्षमता प्रदान गरेपछि मात्रै युएईको सरकारी निकायले प्रदान गर्ने सेक्युरिटी लाइसेन्स लिन सफल हुन्थे अधिक सेक्युरिटी गार्डहरू ।

पुलिसको एक विभाग सरकारी निकायले लिने यो परीक्षामा लगातार तीन पटक फेल हुनेहरू अयोग्य भएर आफ्नो देश पनि फर्किनुपथ्र्यो । यसरी फर्किंदा सम्बन्धित व्यक्तिको मात्रै नभएर कम्पनीको पनि समय र पैसा बर्बाद हुन्थ्यो । त्यो जोखिम कम गर्न कम्पनीले आन्तरिक रूपमा तालिम विभाग गठन गरी मलाई संयोजक बनाएकोले मेरो जिम्मेवारी गार्ड व्यवस्थापन र डकुमेन्टेसनमा पनि उत्तिकै हुन्थ्यो ।

म कार्यरत कम्पनीमा झन्डै एक हजार जति नेपाली दाजुभाइ तथा दिदीबहिनी सेक्युरिटी गार्डको काम गरिरहेका छन् । नेपाली भएको नाताले उनीहरूका विभिन्न समस्याको समाधान गरिदिनु मेरो कर्म र धर्म पनि हो । कतिको शैक्षिक प्रमाणपत्रलाई नेपाली दूतावासलगायत युएईकै विभिन्न निकायबाट भेरिफाइ गर्नुपर्ने, बायोडाटा बनाएर आवश्यक स्थानमा इमेल गरिदिने, उनीहरूको वाषिर्क रूपमा लिने एनएसआई परीक्षाको लागि आवेदन दिने, परीक्षाको मिति तय भए/नभएको जानकारी गराउने, भिसा नवीकरणमा सहजीकरण, लाइसेन्सका लागि आवेदन दिनेलगायत सयौं प्रकृतिका काम आजपर्यन्त गरिनै रहेको छु । यो कामले मलाई आर्थिक तथा मानसिक रूपमा खुशी दिलाएको छ ।

अहिले पनि मेरो जिम्मेवारी उस्तै छ, घटेको छैन बरु जिम्मेवारीको क्षेत्र बढेको छ । म मेरो काम, जिम्मेवारी र अधिकारप्रति सन्तुष्ट छु ।

युएईको नेपाली समुदायको गतिविधिमा म कुनै समय सक्रिय थिएँ, अहिले सबै बुझेर, भोगेर अनि थाकेर अनि हेरेर बसेको छु ।
सामाजिक दायित्व सम्झेर मैले आफ्नो छुट्टीको समय विभिन्न सामाजिक संस्थामा समर्पित भएर काम गरेको थिएँ । युएईको पहिलो सामाजिक संस्था नेपाली समाज युएईको मुसाफा क्षेत्रको अध्यक्ष, प्रवासी नेपाली मञ्च युएईको संस्थापक सदस्य, किरात राई यायोख्या युएईको सदस्य पनि हुँ ।

सामाजिक संस्था एउटा बल हो । त्यसमा आवद्ध भएपछि सामाजिक उत्तरदायित्वबोध हुने रहेछ । त्यो बेलादेखि नै युएईमा समस्यामा परेका नेपालीका पीडा र समस्यामा सहजीकरण गर्दै आएको छु ।

सन् २०१४ मा मेरै कम्पनीमा कार्यरत धरानका एक गार्ड उत्तम राईको काममा जाने क्रममा सवारी दुर्घटनामा परी निधन भयो । ती भाइको शव नेपाल फर्काउन, कम्पनीबाट पाउने सेवा-सुविधा उपलब्ध गराउन मैले सहजीकरण गरेको थिएँ । तर, निजको बिमा रकम दिलाउन भने दुई वर्ष मिहिनेत गर्नुपरेको स्मरण गरिरहेको छु ।

अदालतले बिमा रकम दिलाउन निर्णय गर्दा समेत नेपाली दूतावासले दुई लाख दिराम मृतककी श्रीमतीसमक्ष नेपालमा पुर्‍याउन आलटाल गरेको थियो । यो बारेमा फलोअप गर्दै मैले धेरै पटक दूतावास धाएको छु । एनआरएनलगायतका संस्थाहरूलाई गुहारेको थिएँ ।

संस्थाका जिम्मेवार पदाधिकारीहरू पीडितको अगाडि आश्वासन दिए पनि दूतावासभित्र पसेपछि भिजेको मुसा जस्तो गर्दा रहेछन् । पीडितको पक्षमा सम्बन्धित निकायमा कुरै राख्न सक्दा रहेनछन् ।

मैले निजको श्रीमतीलाई युएई झिकाएर सबै पैसा दिलाएर नेपाल पठाएको अहिले सम्भिmरहेको छु । आफ्नो श्रीमान् गुमाउनुको पीडा आफ्नो स्थानमा छ तर पाउनुपर्ने रकमले त्यो बहिनी र अबोध छोराको जीवनमा पक्कै पनि खुशी छाएको होला ।

यस्ता सामाजिक दायित्वअन्तर्गत सानातिना सहयोग अहिलेसम्म नै जारी छन् । सबै सहयोग प्रचारप्रसार गर्नु सान्दर्भिक पनि हुन्न । तर, विगतमा आफूले गरेका सामाजिक कामहरूको स्मरणले पनि मनमा एक प्रकारको शान्ति मिल्दो रहेछ ।

अहिले पनि युएईमा वर्षेनि ७० देखि १०० जना नेपालीको निधन भएको तथ्यांक सार्वजनिक हुने गरेको छ । कोरोना अवधिमा अझै केही नेपालीको निधन भएको छ । मैले चिनेका केही नेपालीको बिमा रकम वर्षौंदेखि परिवारका सदस्यहरूले नपाएको केही गुनासा छन् ।

यो विषयमा दूतावासमा बुझ्न खोज्दा परिवारको सदस्यबाहेक अन्यलाई केही जानकारी दिन नमिल्ने नीति नेपाली दूतावास अबुधाबीले लिएको रहेछ । परिवारका सदस्यले दूतावासलाई फोन गर्दा एक त फोन रिसिभ नहुने र यदि फोन रिसिभ नै भए पनि चित्तबुझ्दो जवाफ नदिने गरिएको गुनासो मैले सुनेको छु ।

हुन त एउटा केसको लागि १७ जनाले कल गर्छन् भन्ने दूतावासको गुनासो छ तर दूतावासले कसको केसको के प्रगति भएको छ ? कसको ब्लडमनी वा बिमा रकम अदालतले दिलाउन निर्णय गरेको छ भनी नियमित सूचना किन सार्वजनिक गर्दैन ? सूचनाको हक त नेपालीले जहाँ गए पनि उपभोग गर्न पाउनुपर्ने होइन र ?

कामको सिलसिलामा युएईमा निधन भएर बिमा रकम पाउन योग्य परिवारका सदस्यहरूलाई सहजीकरण गरिदिने विषयमा युएईका नेपाली संघ-संस्था वा पत्रकारहरू जिम्मेवार बन्नुपर्छ भन्ने मेरो अनुभव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment