Comments Add Comment

सिलौटोमा पिसेको मसला, ढुंगामा पकाएको व्यञ्जन

सिलौटो कटेजको स्वाद

सिलौटो । परम्परागत ढुंगाको औजार, जो भान्सा एवं पाककलासँग अभिन्न रुपले जोडिएको छ । मरमसला पिस्न होस् वा अचार बनाउन, सिलौटो उपयोगी हुन्छ । सिलौटोसँग मुलत परम्परागत पाककला जोडिएको छ ।

राजधानीको व्यस्त ठाउँ अनामनगरमा यही नामको रेष्टुरेन्ट छ, सिलौटो कटेज ।

सिंहदरबारको पूर्वी गेट नजिक उभिएर दायाँवायाँ आँखा डुलाउनुभयो भने तपाईंले यो रेष्टुरेन्ट फेला पार्नुहुनेछ । बाहिर खासै तामझाम छैन । औसत रेष्टुरेन्ट झै देखिन्छन् । भित्र प्रवेश गर्नका लागि साँघुरो ठाउँ छ । बासका कप्टेराले यसको आन्तरिक सजावट गरिएको छ । प्राचिन शैलीका कलाकृतिले आगन्तुकको ध्यान तान्नेछ ।  जसै तपाईं साँघुरो बाटो छिचोल्दै अगाडि बढ्नुहुन्छ, फरक परिवेशमा पुग्नुहुनेछ ।

 

सुरुमा भेटिनेछ राजशी शैलीका बस्ने स्थान । आरमदायक कुर्सी, भव्य फूलदानी र अनौठो भित्ते चित्रले तपाईंको स्वागत गर्नेछ । यहाँ तपाईं पारिवारिक जमघट गर्न सक्नुहुन्छ । वा साथीभाईसँग भलाकुसारी गर्न सक्नुहुनेछ ।

त्यसभन्दा अगाडि छ, मदिरालय । मदिरालयमा पनि कलात्मक सजावट देख्न सकिन्छ । यसको सम्मुखमा वयस्क आगन्तुकका लागि बसोबासको व्यवस्था छ ।

सिलौटोमा पिसेको मसला, ढुंगामा पकाएको खानेकुरा

अगाडि बढ्दै जाँदा तपाईं पुग्नुहुनेछ मझौला आकारका कटेजहरुमा । मध्यभागमा सानो टहरो छ । यसको बायाँतर्फ खुला भान्सा छ । भान्सासँगै औसतभन्दा ठूलो आकारको सिलौटो छ । यही सिलौटोमा मरमसरा पिस्ने गरिन्छ । अर्थात यहाँको खान्कीमा तयारी मरमसला मिसाइदैन । घरकै भान्सामा झै बाह्र मसला पिसेर अनेक व्यञ्जन बनाइन्छ ।

सिलौटो कटेजको केही खास विशेषता छन् । जस्तो कि, यहाँ आँखै अगाडि सिलौटोमा मरमसला पिसेर पकाइन्छ । पकाउनका लागि आगोको प्रयोग गरिन्छ । भान्सामा आगोको ठूलो भट्टी नै छ । त्यही भट्टीमा माछादेखि सेकुवासम्म पाक्छ । अझ रोचक त के भने, ढुंगामाथि राखेर पनि यहाँ कतिपय परिकार बनाइन्छ । आगोको रापमा राखिएको ढुंगामाथि पकाइएको परिकार कस्तो होला ?

यसैगरी माछा, कुखुरा यही पालिएको छ । तपाईंलाई माछाको कुनै परिकार खान मन लाग्यो भने जिउदो माछा निकालेर त्यसको परिकार बनाइन्छ । यसैगरी लोकल कुखुराको परिकार खान मन लागे पनि तपाईंको मर्जी अनुसार लोकल कुखुरा काटेर परिकार बनाइन्छ । आवश्यक परेको बखत घोर्ले खसी पनि रेष्टुरेन्टमै ल्याएर ढालिन्छ ।

कुनैपनि परिकार तपाईंको आँखै अगाडि तयार गरिन्छ र पकाइन्छ । मध्य शहरमा पनि तपाईंले ग्रामिण भान्साको मौलिक स्वाद भेट्न सक्नुहुनेछ ।

कुन हिमालमा बस्ने ?

तपाईंको मर्जी अनुसार परिकार तयार भयो । अब कहाँ बसेर खाने ? अन्नपूर्णमा बसेर खाने कि माछापुच्छ्रेमा । सायद तपाईं द्विविधामा पर्नुभयो हिमालको नामले । तर, यस्तै नाममा यहाँ अलग अलग कटेज छ ।

बाँसको कप्टेराले बनाइएको र टायलले छाएको मझौला कटेजमा बसेर तपाईं पारिवारिक माहौलमा रमाउन सक्नुहुन्छ । यी कटेजहरुमा कुर्सी टेबलको पनि व्यवस्था छ र सुकुलको पनि । पँलेटी कसेर बस्नुहुन्छ वा खुट्टा तन्काएर, आफ्नो सुविधा अनुसार तपाईंले ठाउँ रोज्न सक्नुहुन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment