Comments Add Comment

ईसेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच क्यूआर तथा डिजिटल पार्टनरसीप सम्झौता

४ चैत, पोखरा । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ । उक्त सम्झौता भएसँगै पोखराका होटलमा बस्दा नगद बोक्नुपर्ने बाध्यता हटेको छ ।

बुधबार पोखरामा एक कार्यक्रमकाबीच ईसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने र पश्चिमाञ्चल होटल एसोसिएसनका अध्यक्ष विकल तुलाचनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार संघ र यस अन्तर्गतका सदस्य होटलहरुले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्यूआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्ने छन् । फोनपेले ईसेवा लगायत आफ्ना अन्य कम्पनी मार्फत् पोखराको पर्यटन प्रबर्द्धनमा सघाउ पुग्ने विश्वास गरिएको छ ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख ईश्वरी प्रसाद भट्टराईले जनताको तल्लो तहसम्म क्यूआर कोडजस्ता प्रविधिलाई पु¥याइनु पर्ने र यसका लागि राष्ट्र बैंकले समेत प्रोत्साहन गरिरहेको बताए । सस्तो, शुलभ र निशुल्क इन्टरनेट जस्ता विषयले मात्र डिजिटल भुक्तानीलाई बढवा दिन सकिने भन्दै उनले टेलिकम कम्पनीहरूसँग छलफल भइरहेको समेत बताए ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष विकल तुलाचनले प्रविधिलाई अँगालेर अगाडि बढ्न सके छिटो, छरितो र पारदर्शी भुक्तानीमा बल पुग्ने बताए । डिजिटल मुभमेण्टलाई अगाडि बढाउने विषयमा संघ प्रतिवद्ध रहेको भन्दै अध्यक्ष तुलाचनले क्यूआर कोडलाई बढी भन्दा बढी प्रयोग गर्न र आफ्ना ग्राहकलाई समेत त्यसका लागि प्रोत्साहन गर्न व्यवसायीसँग आग्रह गरे ।

ईसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले इसेवा, फोनपे, डिजिटल भुक्तानी र क्यूआर कोडको प्रयोग, महत्व तथा फाइदाका बारेमा जानकारी गराएका थिए । संघले सञ्चालन गरेको जाउँ है पोखरा अभियानलाई थप अगाडि बढाउन र पोखरालाई डिजिटल शहरका रूपमा अगाडि बढाउन आफ्नो कम्पनी र समूहका तर्फबाट पूर्ण सहयोग रहने बताए ।

होटल संघ नेपालका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रबद्र्धन र डिजिटल प्रणालीको विकास र महत्वका बारेमा भनाइ राखेका थिए ।

कार्यक्रममा सक्षम एक्सेस टु फाइनान्सका प्रवीणराज पन्त, एफवान सफ्ट समूहका चिफ अपरेटिङ अफिसर शिशिर पछाइ र संघका महासचिव गणेशराज पहारीले पनि डिजिटल भुक्तानीको महत्वबारे आफ्नो धारणा राखेका थिए ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ । हाल ईसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ ।

यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेका छन् । हाल ईसेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या करिब २ लाख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment