Comments Add Comment

वैदेशिक सहायता प्रतिबद्धता सन्तोषजनक, प्राप्ति भने कमजोर

५ चैत, काठमाडौं । कमजोर पुँजीगत खर्चको प्रभाव वैदेशिक सहायतामा समेत देखिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को माघ मसान्तसम्म नेपालले अनुदान र ऋणमा गरी कुल पौने दुई खर्बको प्रतिवद्धता प्राप्त गरेको छ । यसमा प्राप्ति भने करिब ३३ अर्ब रुपैयाँ मात्र रहेको छ । अर्थ मन्त्रालयका अनुसार माघ महिनासम्म नेपालले १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ वैदेशिक सहायताको प्रतिवद्धता प्राप्त गरेको छ । यस्तो प्रतिवद्धतामध्ये अनुदान ९.७ प्रतिशत र ऋण ९०.३ प्रतिशत हो । मन्त्रालयका अनुसार प्रतिवद्धताका हिसाबले यो रकम अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा भने ७१.५ प्रतिशत बढी हो । अघिल्लो वर्ष वैदेशिक सहायता प्रतिवद्धता १ खर्ब ९ अर्ब २८ करोड रुपैयाँ रहेको थियो ।

वैदेशिक सहायता प्रतिबद्धता सन्तोषजनक देखिएपनि प्राप्ति भने कमजोर छ । मन्त्रालयका अनुसार वैदेशिक सहायता प्राप्तिमा खर्चको ठूलो भूमिका हुन्छ । पुँजीगत खर्च कम भएका कारण वैदेशिक खर्च प्राप्तिमा समेत प्रगति कमजोर देखिएको छ । मन्त्रालयका अनुसार माघसम्म सरकारले ७ अर्ब ४६ करोड अनुदान र २५ अर्ब ३९ करोड ऋण प्राप्त गरेको छ । प्राप्तिमा कुल रकम ३२ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।

कुन क्षेत्रमा कति प्रतिबद्धता ?

मन्त्रालयका अनुसार यो अवधिमा सबैभन्दा ठूलो रकम सडक र सुशासनमा आएको छ । कुल ५४ अर्ब (२८.८ प्रतिशत) रकम यस क्षेत्रका लागि प्रतिवद्धता आएको छ । ४६ अर्ब १४ करोड (२४.६ प्रतिशत) रकम उर्जा क्षेत्रमा प्रतिवद्धता आएको छ । बजेटरी सहायतामा २३ अर्ब ६८ करोड रुपैयाँ प्रतिवद्धता आएको छ । क्षमता विकासमा १७ अर्ब ७६ करोड र शहरी विकासमा १७ अर्ब ७६ करोड र कृषिमा १० अर्ब ६५ करोड रुपैयाँको प्रतिवद्धता रहेको छ । स्वास्थ्यमा ३ अर्ब ४० करोड र कोभिडमा १ अर्ब ३२ करोड रुपैयाँ सहायताको प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयलको तथ्यांकमा उल्लेख छ ।

शिक्षामा ४ अर्ब ४६ करोड, खानेपानी र सरसफाइमा ५ अर्ब ८९ करोड, वन तथा वातावरणमा १ अर्ब ७५ करोड, र पुनर्निर्माणमा ६० करोड रुपैयाँको प्रतिवद्धना आएको मन्त्रालयले जनाएको छ । यसरी आएको सहायतामा द्विपक्षीय (देश) सहायता ३.३ प्रतिशत र बहुपक्षीय (विकास साझेदार निकाय) सहायता ९६.७ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment