Comments Add Comment

बलात्कारको झुटो उजुरी दिने महिला ‘हनी ट्र्याप’को आरोपमा पक्राउ

५ चैत, काठमाडौ । जबर्जस्ती करणीको झुटो उजुरी दिने महिला ‘हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा पक्राउ परेका छन् ।

होटलमा सँगै बसेको फोटो देखाएर ब्ल्याकमेलिङ गरी पटक पटक रकम लिएर ठगी गरेको आरोपमा प्रहरीको अपराध महाशाखाको टोलीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० घर भएकी ३७ वर्षकी लालसरी शाहीलाई पक्राउ गरेको हो ।

लालसरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई उनीविरुद्ध गत असोज ६ गते प्रहरीमा जबर्जस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन् ।  तर उक्त मुद्दामा सुर्खेत जिल्ला अदालतले लालसरी शाहीलाई ३ वर्ष ६ महिना जेल सजायको फैसला गरेको अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

लालसरीसँगै प्रहरीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० कै ३७ वर्षकी कल्पना शाहीलाई पनि पक्राउ गरेको छ ।

प्रहरीका अनुसार लालसरीले कामको सिलसिलामा चिनजान भएका काठमाडौं कोटेश्वरका एक ५२ वर्षका पुरुषलाई सुन्धारास्थित होटलमा बसेका बेला आफ्नो सबै पैसा हराएकाले समस्यामा परेको भन्दै सहयोगका लागि बोलाएकी थिइन् ।

त्यस क्रममा पुरुषको हात समाउनेलगायतका काम गरी साथीलाई फोटो खिच्न लगाएको र पछि त्यही भिडियो देखाएर पैसा मागेको प्रहरीले जनाएको छ । ती पुरुषले पटक पटक गरी ३ लाख २ हजार ५ सय दिएको र थप ८ लाख मागेपछि प्रहरीमा उजुरी दिएको एसपी कोइरालाले जानकारी दिए ।

लालसरी र उनकी साथीले ब्ल्याकमेलिङ गर्ने हेतुले भिडियो बनाउने, रकम माग गर्ने, रकम पाउन छाडेपछि फेरि भिडियो सार्वजनिक गरिदिने धम्की दिने र बलात्कार आरोपसमेत लगाएर रकम असुल गरेको पाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment