Comments Add Comment

टेलिकमले पायो ‘भुक्तानी सेवा प्रदायक’को लाइसेन्स

५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी रहेको डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडलाई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र लाइसेन्स प्रदान गरेको छ । टेलिकमका प्रयोगकर्ताले डिजिटल वालेटमार्फत आर्थिक कारोबार गर्न सक्ने गरी राष्ट्र बैंकबाट मंगलबार आवश्यक अनुमति प्राप्त भएको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

कम्पनीले डिजिटल पेमेन्ट्स अर्थात् मोबाइल मनिका लागि चाहिने आवश्यक पूर्वाधारका लागि तयारी सक्न लागेको उनले बताए । उनका अनुसार अबको एक महिनाभित्रै कम्पनीले सेवा सुरु गर्नेछ ।

पानी, बिजुली, टेलिफोनको बिल तिर्नेदेखि टिकटहरु काट्न, बिल तिर्न, रकम ट्रान्सफर गर्न यो प्रविधि उपयोगी हनेछ । टेलिकमको मोबाइलबाटै बैंकिङ सिस्टम अपरेट हुन्छ । माइक्रो इन्स्योरेन्स, लघुवित्त, सापटी लगायतका सुविधा पनि प्राप्त गर्न सकिन्छ । तर, टेलिकमले कस्ता–कस्ता सेवाहरु दिन्छ भन्ने घोषणा भएको छैन ।

‘आगामी दिनमा मोबाइलबाटै सबै कारोबार गर्न सकिने भएकाले नेपाली जनताका लागि यो नयाँ अनुभव हुनेछ’ उनी भन्छन्,’डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन र क्यासलेस कारोबारको परिकल्पनालाई साकार पार्ने र वित्तीय पहुँच विस्तार गरी सुशासन र बित्तीय कारोबारमा पारदर्शिता कायम गर्न यो प्रणालीले महत्वपूर्ण योगदान दिनेछ ।’

यो कम्पनीले ‘युटिलिटी पेमेन्ट सर्भिस’ सहित मोबाइल मनी प्रविधिमा भूक्तानी सेवा प्रदायकको रुपमा काम गर्नेछ । कम्पनीको अधिकृत पुँजी एक अर्ब छ ।

‘टेलिकमसँग ठूलो नेटवर्क छ । करोडभन्दा बढी ग्राहक छन्, वाणिज्य बैंकको ग्राहकसंख्या पनि सानो छैन । दुबैसँग पुँजी पनि छ,’ प्रवन्ध निर्देशक अधिकारी भन्छन्, ‘धेरै नागरिकमा बैंकिङ पहुँच नपुगेको अवस्थामा टेलिकमबाटै यो प्रविधि चलाएपछि एउटा ठूलो फड्को मार्न सकिन्छ ।’

सरकारी तवरबाटै डिजिटल बैंकिङ सेवा उपलब्ध गराउन यसले ठूलो भूमिका खेल्ने पनि अधिकारीले बताए । राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (पेमेन्ट सर्भिस प्रोभाइडर) का रुपमा दूरसञ्चार कम्पनीहरुले काम गर्नसक्ने व्यवस्था गरेको छ । मोबाइल वालेट, डिजिटल वालेट वा ई–वालेट नामबाट भुक्तानी दिन सक्ने कानुनी व्यवस्था छ ।

राष्ट्र बैंकले विद्युतीय माध्यमबाट भुक्तानी गर्नसक्ने सरकारी कार्यालयहरुका लागि पनि त्यस्ता कम्पनीले सेवा दिन सक्ने व्यवस्था गरेको छ । तोकिए बाहेकका बैंकिङ सेवा दूरसञ्चार प्रदायकहरुले दिन पाइँदैन । अहिले बैंकहरुले नै मोबाइल बैंकिङ सेवा दिँदै आएका छन् ।

धेरै देशहरुमा बैंकहरुलाई नै दूरसञ्चार कम्पनीका सेवाले टक्कर दिइरहेका छन् । कतिपय देशमा त बैंकभन्दा बढी यस्तै दूरसञ्चार कम्पनीका वालेटहरु प्रयोगमा छन् । अहिलेसम्म नेपालमा दूरसञ्चार कम्पनीले बैंकिङ सेवा थालेका छैनन् ।

दूरसञ्चार सेवाप्रदायकले दिने यस्तो सेवाले युरोपको बैंक क्षेत्रमा पनि ठूलो हलचल ल्याएको छ । हाल उपभोक्ताले अनलाइन र मोबाइल बैंकिङमा धेरै चासो देखाउन थालेका छन् ।

यस्तो सुविधा नेपालमा पनि सुरु भएपछि एकैपटक धेरै नागरिकलाई डिजिटल बैकिङ सेवाको पहुँच पुर्‍याउन सहयोग पुग्ने विज्ञ बताउँछन् ।

टेलिकमकै मोबाइलबाट पेमेन्ट सुविधा सुरु भएपछि नेपालमा पनि एकैपटक ठूलो समुदायसम्म मोबाइल बैंकिङ फैलिने दावी कम्पनीको छ । यस्तो सेवा सुरु गरेमा टेलिकमका ग्राहकले अहिलेका रिचार्ज सेन्टरहरुबाटै मोबाइल वालेटमा पैसा जम्मा गर्न सक्नेछन् । जसलाई आवश्यकता अनुसार मोबाइलबाटै भुक्तानी गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment