Comments Add Comment

१४ हिमाल चढ्ने शर्मिलाको आँट

२४ फागुन, काठमाडौं । बिहान साढे दुई घन्टा कुदेपछि शर्मिला स्याङ्तानको दिन सुरु हुन्छ । यही मार्च अन्तिम साता अन्नपूर्ण हिमाल आरोहणमा जाने निश्चित भएपछि उनले मेहनेत बढाएकी छन् ।

सगरमाथा र मनास्लु आरोहण गरिसकेकी उनले ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढ्ने लक्ष्य लिएकी छन् । ‘कोरोना महामारी नआएको भए यसबेला कम्तिमा दुईवटा हिमाल चढिसकेको हुने थिएँ,’ उनी भन्छिन्, ‘अन्नपूर्ण अभियान गत सालको मार्चमै सकिने थियो ।’

काभ्रे, रोसी गाउँपालिकाकी शर्मिला ट्रेकिङ गाइड बुवा लीलाबहादुर स्याङ्तानको पेसाका कारण हिमालतिर आकर्षित भइन् । कक्षा १२ सकेपछि २०६६ सालमा काठमाडौं आएकी उनलाई खर्चमा आत्मनिर्भर बन्नुपर्ने बाध्यता पनि थियो । उनले भरियाको रुपमा ‘ट्रेकिङ लाइफ’ सुरु गरिन् ।

त्यसको चार वर्षमा उनी ट्रेकिङ गाइड बनिन् । २२ वर्षको उमेरमा विवाह पनि गरिन् । बच्चा भएपछि पेसामा ब्रेक नै लाग्यो । ‘आफूले काम नगरेपछि पूर्णरुपमा परनिर्भर हुनुपर्‍यो’, शर्मिला भन्छिन्, ‘बच्चा हुर्कन थालेपछि गाइडभन्दा अलि परको काम गरेर देखाउने सोच आयो ।’

त्यहिबेला ७ जनाको ‘वुमेन इम्पावरमेन्ट टिम- २०१७’ बनाउने संयोग कस्तो जुर्‍यो । आवश्यक तालिम, अध्ययन गरेर टिमले २१ अगष्टमा दोलखाको रोल्वालिङ हिमालको सफल आरोहण गर्‍यो । ‘सगरमाथा अभियान- २०१८’ बनेपछि भने विविध कारणले टिम टुट्यो ।

अनि उनी आफैं सगरमाथा जाने तयारीमा जुटिन् । पहिलो प्रयासमा ८ हजार ७०० मिटरसम्म पुगिन् पनि । त्यती नजिक पुगेर चुचुरो टेक्न नसकेको पीडा क्याम्पमा झरेर रोएर कम गरेको उनी बताउँछिन् । भन्छिन्, ‘आइस बनेर जमेको आँसु उप्किएर फाल्दा अनुहारमा घाउ भयो ।’

त्यो घाउ निको हुन निकै समय लाग्यो । त्यसले सगरमाथाको चुचुरो पुग्न नसकेको पीडा बल्झाइ रहेको शर्मिला बताउँछिन् । भन्छिन्, ‘अनि अझ कडा व्यायाम, तालिम, अध्ययन गरेँ ।’

दोस्रो सगरमाथा अभियानको लागि खर्च पुर्‍याउन आमाले गहनासमेत बेचेर पैसा दिएको उनी सम्झन्छिन् । ‘अनि २२ मे २०१९ को बिहान चुचुरोमा पुगेँ, त्यसबेलाको खुशी बयान गरि साध्य छैन’, उनी भन्छिन् ।

सानैदेखि साहसी स्वभाव र प्रकृतिप्रेमी भएकोले आफू हिमालप्रति आकर्षित भएको उनी बताउँछिन् । सगरमाथा चढ्ने तयारी गरिरहँदा धेरैले ‘साहस त गरिरहेकी छौं, तर सक्तैनौ होला’ भन्दै निरुत्साहित गरेको सम्झिँदा पनि चुचुरोमा धेरै खुशी भएको उनी बताउँछिन् ।

सगरमाथाको सफल आरोहणपछि अरु हिमाल चढ्ने अवसर जुट्न थाल्यो । लगत्तै १२ अगस्ट २०१९ मा युरोपको सबभन्दा अग्लो हिमाल एल्ब्रस आरोहण गरिन् । ‘रसियाको एल्ब्रसपछि नेपालकै मनास्लु हिमाल चढ्ने अवसर जुर्‍यो’, शर्मिला भन्छिन्, ‘परिवार र आफन्तको पैसा लिएर सगरमाथा चढेकी थिएँ, एल्ब्रस र मनास्लु आरोहण गर्दा बाहिरी दाताहरुको सहयोग जुट्यो ।’

‘किलर माउन्टेन’ भनिने मनास्लु आरोहणपछि उनी नुवाकोट, मकवानपुर, नवलपरासी र चितवन जिल्ला घुमिन् । त्यसक्रममा महिलाहरुमा चेतनाको अभाव र परनिर्भरतादेखि आफन्त वा परिवारबाटै बेचविखनमा परेकोसम्म पाइन् । ‘आरोहणको क्षेत्रमा महिलाको उपस्थिति कम भएको मलाई मन परेको थिएन’, शर्मिला भन्छिन्, ‘ती जिल्लाका गाउँहरु घुमेपछि महिलाको समस्याको गहिराइ थाह भयो । अनि महिलाहरुलाई आत्मनिर्भर बनाउन केही न केही गर्छु भन्ने सोच बनाएँ ।’

८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमै ८ वटा हुँदा पनि पर्याप्त पर्यटक भित्रिन नसकेको उनलाई लाग्थ्यो । १४ हिमाल आरोहण गर्नेहरुको नामावली हेर्दा जापानी र अष्ट्रेलियन गरि दुईजना मात्र महिला भेटिन् । त्यसपछि यी सबै हिमाल चढ्ने एसियाकै पहिलो महिला हुने संकल्प गरिन् ।

‘यो संकल्प महिला सशक्तीकरणको लागि हो’, शर्मिला स्याङ्तान भन्छिन्, ‘नेपालको पर्यटन क्षेत्रलाई चिनाउने अभियान पनि हो । मेरो यो संकल्पमा साथ दिनेहरुले सहयोग जुटाउन ‘शर्मिला लामा मिसन १४ पिक’ भन्ने समुह बनाउनु भएको छ ।’

‘मिसन १४ पिक’ अनुसार उनले अब नेपालका अन्नपूर्ण, धवलागिरि, कञ्चनजंघा, मकालु, चोयु र ल्होत्से, चीनको सिसापाङ्मा र पाकिस्तानका पाँच (नांगा पर्वत, जी १, जी २, के २ र ब्रोड पिक) हिमाल आरोहण गर्ने छिन् ।

‘ओमेन क्यान क्यारी द वल्र्ड’ र ‘स्टप हृयुमेन ट्राफिकिङ’ भन्ने अभियानको मुल सन्देश तय गरिएको छ । अबको दुई वर्षभित्र आरोहण गरिसक्ने योजना छ । यसमा मुख्य समस्या आर्थिक हो । सहयोग जुट्यो भने योजनाअनुसारै अभियान सकिने, नत्र केहि ढिला हुने शर्मिला बताउँछिन् ।

‘मेरो अभियानमा धेरैको साथ छ’, उनी भन्छिन्, ‘यसलाई जसरी पनि पुरा गरेर नेपालभरका दिदीबहिनीलाई उत्प्रेरित गर्नु छ ।’

फोटो, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment