Comments Add Comment

व्यवसायीलाई ढकालको सुझाव : ‘सिंगल डिजिट’ व्याजदरको उपयोग गर्नुहोस्, लगानी बढाउनुहोस् 

६ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सिंगल डिजिटमा रहेको नेपालका बैंक तथा वित्तीय संस्थाको व्याजदरको उपयोग गरेर लगानी बढाउन उद्योगी व्यवसायीहरुलाई सुझाव दिएका छन् ।

विर्तामोड उद्योग वाणिज्य संघको सपथ ग्रहण तथा पद हस्तान्तरण सभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपालका व्यवसायी साथीहरुलाई मेरो यो आग्रह छ कि अहिले नेपालमा व्याजदर सिंगल डिजिटमा छ, यसको सदुपयोग गर्नुहोस् र आर्थिक क्रियाकलापहरुमा लगानी बढाउनुहोस् ।’

‘अहिलेको बेला भनेको यस्तो अवस्थामा व्यवसायिक क्रियाकलापहरुमा लगानी गर्ने र उद्योग व्यवसायलाई सस्टेन गर्न सघाउने समय हो, त्यसैले हामी सबैले अहिलेको यो नीतिबाट लगानी बढाउने काममा लाभ लिन सक्छौँ’ उनले भने ।

वरिष्ठ उपाध्यक्ष ढकालले यो ब्याजदरका लागि नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग लबिङ गरेको बताए ।

उनले भने, ‘नेपालमा लगानी गर्न र व्यावसायिक एक्टिभिटिजहरु बढाउनका लागि बैंकको ब्याजदर बढी भएको भनी देशका निजी क्षेत्रका व्यवसायीले गुनासो गरेपछि त्यसको अगुवाई महासंघले गर्यो र म पनि एक उद्यमी एवं कमर्सियल बैंकको नेतृत्वकर्ताको हैसियतले पनि लागि परेँ, जसले गर्दा अहिले ब्याजदर अहिले सिंगल डिजिटमा आएको छ ।’

उनले स्मरण गर्दै भने, ‘म एक कमर्सियल बैंकको अध्यक्ष भए पनि यो मेरो पनि एउटा प्रमुख मुद्दा थियो, म एक उद्यमी पनि भएको हिसाबले यसका लागि म व्यक्तिगत रुपमा पनि लागेको थिएँ, हाम्रो लबिङपछि यो नीति सम्भव भएको हो ।’

‘त्यसैले यो अवसरबाट हामीले लाभ लिनसक्ने अवस्था छ र हामी निजी क्षेत्रका प्रतिनिधिहरु यसबाट लाभान्वित पनि हुनसक्नुपर्छ, यो अवस्था साँच्चिकै देशका उद्योगी, व्यवसायीहहरुले लाभ लिने नै बेला हो,’ उनले भने ।

उपाध्यक्ष ढकालले झापा होस् या देशका अरु पनि क्षेत्र या जिल्लाका व्यवसायीले त्यहाँका स्थानीय सम्भावना र अवसरहरुलाई राम्रोसँग खोजी गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘व्यावसायिक तथा आर्थिक क्रियाकलापको अभिवृद्धिका लागि तथा उद्यमशिलताको विकास र विस्तारका लागि हामी व्यवसायीहरुले आ–आफ्ना स्थानीय स्थान र स्तरमा पनि अवसर र सम्भावना खोज्नुपर्छ, यसैबाट शुरु हुने उद्यमशीलताले नै देशको विकास सम्भव छ ।’

उनले नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वले ‘भिजन २०३०’ पेपर अघि सारेर मुलुकको निजी क्षेत्रका आवश्यकता र प्राथमिकता निर्धारण गरेर अघि बढ्ने नीति अख्तियार गरेको बताउँदै सो पत्रलाई प्रदेशस्तरमा पनि छलफलका लागि ल्याइने र त्यसमा निजी क्षेत्रका सबै साथीहरुको सुझावहरु समेटिने जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment