Comments Add Comment

‘कांग्रेसले निर्णय गरे माओवादी र जसपासँग ४८ घण्टाभित्र छिनोफानो हुन्छ’

६ चैत, पोखरा । संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नबोलेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा अहिले सत्ता समीकरणको खेल चलिरहँदा पनि मौन छन् ।

पार्टी नेतृत्वसँग विमति राख्ने पंक्ति कांग्रेस वरिष्ठ नेता रामन्द्र पौडेलदेखि गगन थापासम्मले सभापति देउवालाई सरकारको नेतृत्वमा अघि बढ्न आग्रह गरिरहेका छन् । तर पनि देउवाले निर्णय गर्न सकिरहेका छैनन् ।

संसद पुनर्स्थापना गरेको सर्वोच्च अदालतले नाम विवादमा नेकपाको एकता खारेज गरिदिएपछि कांग्रेसमाथि सरकार नेतृत्व गर्ने जिम्मेवारी आएको कांग्रेस नेता थापाले बताए । जनताले ५ वर्ष प्रतिपक्षमै बस्न कांग्रेसलाई म्याण्डेट दिएको बताउँदै आएका नेता थापाले पछिल्लो समय पार्टी सभापति देउवाकै नेतृत्वमा सरकार बनाउनुपर्ने बताउँछन् । त्यसका लागि तत्काल पार्टीको बैठक बसेर कांग्रेसको धारणा स्पष्ट राख्न देउवालाई थापाको आग्रह गरे ।

प्रधानमन्त्री ओली अहंकारी र अयोग्य भइसकेकाले यही सरकारको नेतृत्वमा राख्दा देशले ठूलो क्षति बेहोर्ने उनको दाबी छ । ‘जनता समाजवादी पार्टीले पनि अल्मल्याउने काम गर्ने होइन, कांग्रेसलाई समर्थन दिने हो भने दिने भन्नुस् । केपी ओलीसँग टाँस्सिरहने हो भने जानुस्,’ पोखरामा भएको कार्यक्रममा थापाले भने ‘माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने हो भने लिने भन्नुस्, हामीलाई समर्थन गर्ने हो भने गर्ने भन्नुस् । नभए ओलीलाई जोगाउनूस् ।’

सत्ता समीकरणमा कांग्रेसले लिने अबको बाटो, सभापति देउवाको मनस्थिति लगायतका सन्दर्भमा थापासँग गरिएको कुराकानीको सम्पादित अंश :

संसद विघटनविरुद्ध तपाईंहरु सडकमा आउँदा कांग्रेस सभापति शेरबहादुर देउवा मौन बस्नुभयो । अहिले सकार गठनमा पनि मौन नै हुनुहुन्छ । यसको रहस्य के हो ?

पार्टी सभापतिले अरु पार्टीको निर्णय कस्तो हुन्छ ? त्यहाँको शक्ति सन्तुलन कस्तो हुन्छ ? सबै कुरालाई पर्घेलेर मात्रै निर्णयमा पुग्दा उपयुक्त हुन्छ भन्ने सोच्नुभएको होला भन्ने म ठान्दछु । मलाई लागिरहेको चाहिँ, आफ्नो कुरा पूरा गर्न वा आफूले सोचेको कुरा प्राप्ति गर्न मधुरो स्वरमा बोल्नुपर्छ, धिमा चाल चाल्नुपर्छ । कहिलेकाहीँ चाहिँ प्रस्ट र ठूलो आवाजमा आफ्नो भाव राख्नुपर्छ ।

कम्तीमा नेकपा भित्रबाटै प्रधानमन्त्रीलाई प्रश्न गर्ने मान्छे थिए । प्रश्न गर्ने मानिसहरुलाई उहाँले माओवादी बनाइदिनुभएको छ । एकाथरि मानिसहरुलाई पार्टी प्यालेसतिर लखेटिदिनुभएको छ । अब ओली प्रश्नभन्दा माथि हुनुहुन्छ । यस्तो प्रधानमन्त्रीलाई अब पनि हामीले रोक्न गएनौं भने के हुन्छ ?

यो बेलामा कांग्रेसका निम्ति संसदभित्रको अंक गणित हाम्रो पक्षमा हुन्छ कि हुँदैन भन्ने आन्तरिक छलफल गर्ने एउटा पक्ष हो । सँगसँगै सभापति र हामीले के याद गर्नुपर्छ भने देश, नागरिक, मतदाता र आम मान्छेहरुप्रति पनि हाम्रो जवाफदेहिता छ र हुन्छ । कांग्रेसले के गर्नेभन्दा जे पर्छ, त्यही गर्ने । अरुले के गर्छ, त्यही गर्ने भन्ने भइरहेको छ, यो कार्यकर्ताले चित्त बुझाइरहेका छैनन् ।

तपाईंको आशाय कांग्रेसले सरकारको नेतृत्व लिन पहल गर्नुपर्छ भन्ने कार्यकर्ताको जनताको आवाज छ, तर देउवाले निर्णय लिन सक्नुभएन भन्ने हो ?

यो बेलामा जनता समाजवादी पार्टी वा माओवादी केन्द्रले गर्ने निर्णयले स्वभाविक रुपमा हाम्रो निर्णयलाई प्रभावित गर्छ । तर त्यसले परिणामलाई प्रभावित गर्ने हो, निर्णयलाई होइन । मलाई के लाग्छ भने कांग्रेसले तत्काल केन्द्रीय समितिको बैठक राख्नुपर्छ र, प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्छौं भन्नुपर्छ ।

आफ्नै नेतृत्वमा सरकार बनाउने कुराको अग्रसरता लिनुपर्छ । यो–यो कारणले हाम्रो नेतृत्वमा सरकार बनाउनुपर्ने अवस्था आयो र सरकार बनेपछि योयो काम गर्छौं भनेर अरु पक्षहरुसँग संवाद गर्नुपर्छ ।

यसरी निर्णय गर्दा परिणाम आउँछ कि आउँदैन ? त्यो हाम्रो हातमा छैन । तर पार्टीले प्रष्ट निर्णय गरेर जसपासँग वार्ता गरौं, माओवादी केन्द्रसँग वार्ता गरौं । परिणाम आएन भने पनि केही बिग्रिँदैन । यसरी जानु र जसपाले के निर्णय गर्छ, माओवादी केन्द्रले के निर्णय गर्छ भनेर कुर्ने र त्यसको आधारमा हामीले निर्णय लिनु एउटै हो भन्ने सभापतिज्यूलाई लागेको हुनसक्छ । तर एउटै होइन । कांग्रेसको प्रस्ट विचार र सही समयको सही निर्णय कार्यकर्ताले हेर्न चाहन्छन् । यो निर्णय गर्ने ठाउँबाट पनि हुनुपर्छ भन्ने लाग्छ ।

तर, पार्टी सभापति देउवाको चाहना कांग्रेसको नेतृत्वमा सरकारभन्दा अर्कैतिर छ कि ?

कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा स्वभाविक रुपमा संसदीय दलको नेता एवं सभापति स्वयंले गर्ने हो । उहाँ आफैंले ‘मलाई प्रधानमन्त्री बन्ने इच्छा छैन, म बन्दिन’ भनेर भन्नुभयो भने पार्टीकै अरु कोही बन्नुहोला ।

त्यसका लागि पनि कांग्रेसले सरकारको नेतृत्वका लागि पहल गर्ने निर्णय गरेर अघि बढ्नुपर्छ ।

केही समयअघिसम्म पनि तपाईंहरु नै कांग्रेस ५ वर्ष प्रतिपक्षमा रहन्छ, कांग्रेसको नेतृत्वमा सरकार बनाउने बेला भइसकेको छैन भन्दै हुनुहुन्थ्यो । अहिले वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि तपाईंसम्मले सभापति देउवालाई सरकारको नेतृत्व गर्ने पहल गर्नुस् भनिरहनुभएको छ । यसरी किन युटर्न आयो ?

प्रधानमन्त्री पार्टीमा विपक्षीरहित हुनुहुन्छ । हिजो कम्तीमा नेकपा भित्रबाटै प्रधानमन्त्रीलाई प्रश्न गर्ने मान्छे थिए । प्रश्न गर्ने मानिसहरुलाई उहाँले माओवादी बनाइदिनुभएको छ । एकाथरि मानिसहरुलाई पार्टी प्यालेसतिर लखेटिदिनुभएको छ । अब ओली प्रश्नभन्दा माथि हुनुहुन्छ । यस्तो प्रधानमन्त्रीलाई अब पनि हामीले रोक्न गएनौं भने के हुन्छ ? यसको ठूलो क्षति बेहोर्नुपर्छ ।

जहाँसम्म हामीले किन कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्यौं भन्ने प्रश्न छ, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शेखर कोइरालाहरु कोही संसदमा छैनन्, सांसद भएकाहरु प्रधानमन्त्री बन्ने पनि होइनन् । यति कुरा त अनुमान लगाउनुपर्‍यो नि । कोही मान्छे आफ्नो लागि भनिरहेको छैन । अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने म मन्त्री बन्ने होइन । एकदम प्रस्ट छ, यो चरणमा मलाई बन्नु पनि छैन, बन्ने पनि होइन । म सांसद नै हुने हो । तर पनि हामी किन पार्टी सभापतिलाई सरकारको नेतृत्वका लागि अग्रसरता लिन भनिरहेका छौं भने प्रधानमन्त्री ओलीको बदनियतलाई असफल बनाउन कांग्रेसले अग्रसरता नलिई नहुने भयो ।

सबैलाई पंगु बनाएका ओलीले संसदलाई पनि पंगु बनाउँछन् । संसदलाई बिजनेस नै दिनुहुन्न । यो संसदमा कामै छैन, संसदलाई मृत घोषित गरेको सही थियो भन्ने सावित गर्न उहाँले सम्पूर्ण शक्ति लगाउँछन् । यस्तो संसद किन चाहियो ? सांसद तलबमात्रै खाएर बसे, संसद बन्द गरिदिए हुन्छ भन्ने बनाउँदैछन् ।

संसदको मान राख्न पनि संसदलाई मान्ने सरकार चाहियो । संसदलाई मान्ने सरकार हामीले नबनाई बन्दैन । हिजो देशको अवस्था अर्कै थियो, यो टर्नमा आइपुग्दा बदलियो । हिजो कांग्रेसले सरकारको नेतृत्व गर्नुहुन्न भन्नुका पछाडि केपी ओलीको सरकार त प्रचण्ड–माधवले नै बदल्छन् भन्ने थियो । हिजो पनि केपी ओलीलाई बदल्न चाहेर त्यो भनेको हो, आज पनि ओलीलाई बदल्न चाहेरै कांग्रेसले नेतृत्व गर्नुपर्छ भनेका हौं । त्यसैले सभापतिलाई भनिरहेका छौं, ‘सरकारको नेतृत्व गर्नुहोस्, ओलीलाई नरोके देशले ठूलो क्षति बेहोर्नुपर्छ ।’

कांग्रेसको महाधिवेशन नजिकिँदो छ, प्रधानमन्त्री बन्न आनाकानी गरिरहँदा अर्को कुनै आकांक्षा छ कि ?

प्रधानमन्त्रीको जिम्मा पाउँदै गर्दा पार्टी सभापतिलाई काहीँ कुनै अप्ठ्यारो छैन । किनकी आफूसँग असहमति देखिएको पंक्तिका नेताहरु नै प्रधानमन्त्री बन्नुस् भनिरहेका छन् । तपाईंले लोभ राख्नुभयो, अतिरिक्त मोह राख्नुभयो, कसैले भनेको छैन । प्रधानमन्त्री भएर महाधिवेशनमा जाँदै गर्दा सजिलो उहाँलाई नै हुन्छ ।

उहाँलाई हामीले भनेझैं निर्णय जसपाले गरिदिएन भने के हुन्छ भन्नेले बढी पिरोलेको छ । उहाँले के बुझिदिनुपर्छ भने राजनीतिक दलले आफ्नो निर्णय गर्छ । परिणाम जे आउँछ, स्वीकार गर्छ । यतिखेर कांग्रेसले गर्ने भनेको तत्काल बैठक बोलाउने हो, आफ्नो निर्णय गर्ने हो । त्यसमा अरुलाई लिड गर्ने हो । यसका लागि पार्टी सभापतिले कुनै सेटिङ गर्नुपर्दैन, प्रस्ट बोलिदिए हुन्छ ।

तर कांग्रेसकै नेताहरु जसपाको एउटा समूह एमालेतिर जान खोजिहेको छ, हामीले सरकारको नेतृत्व गर्न हतार गरेर के गर्नु भन्छन् नि ?

मैले भनेकै त्यही हो, पहिले हाम्रो निर्णय गरौं । अलमलिने, अलमलाउने काम कसैले कसैलाई गर्नुभएन । अलिनो पनि खान्न, नुनको ढिको पनि फोर्दिन भनेझैं गर्ने पार्टीको अर्थ रहेन । कांग्रेसले आफ्नो निर्णय गरौं, जसपासँग छलफल गरौं ।

जसपाले पनि आफ्नो निर्णय गरोस् । कांग्रेससँग समीकरण नगर्ने भए गर्दैनौं भनोस्, ओलीलाई समर्थन गर्ने हो भने भनोस् । माओवादी केन्द्रले पनि के गर्ने हो, भनोस् । मलाई जसपा र माओवादी केन्द्रसँग जमेर कुरा गर्न मन छ, तर पहिले कांग्रेसको कुरो त टुंगो लगानुपर्‍यो ।

केन्द्रीय समितिबाट यो हो हाम्रो कुरा भन्यौं भने २४ देखि ४८ घण्टाभित्र जसपा र माओवादीसँग छिनोफानो हुन्छ । सँगै जाने भए जाऔं हाम्रो प्रस्ताव यो छ, सहमति गरौं । प्रधानमन्त्रीलाई समर्थन गर्ने भए शुभकामना छ भन्न केको आइतबार छ र ?

तपाईंले भनेको जस्तो निर्णय कहिले गर्ला कांग्रेसले ?

कांग्रेसमा पदाधिकारी बैठक बस्ने र त्यसले गरेको निर्णयलाई बोकेर हिँड्ने चलन हो । अहिले पदाधिकारीको बैठकले स्पष्ट निर्णय नगरेको हुँदा तत्काल बैठक बसेर टुंगो लगाओस् भन्ने हो । त्यसका लागि हामीले निरन्तर आवाज उठाइरहेका छौं ।

तपाईंहरु र जसपाले एकअर्कालाई देखाएर बस्ने हो भने ?

यही अवस्था लामो समयसम्म रहिरहने हो भने राष्ट्रपतिदेखि अड्डा–अदालत, संवैधानिक निकाय सबलाई कार्यकारीको छायाँ बनाउने र संसदलाई पंगु बनाउने काम हुन्छ । नेपालमा प्रधानमन्त्री ओलीमात्र देखिनुहुन्छ । यसरी ओलीकरण हुने हो भने मान्छे फरक देखिए पनि त्यहाँ ओलीको छायाँमात्र देखिन्छ । सरकारभन्दा पनि सत्ता निर्माण गर्ने प्रयास हुन्छ ।

अहिले कस्तो अवस्था छ, हेर्नुस् त ? यो कामचलाउ सरकार हो कि ? पूरा सरकार हो ? हो चाहिँ के यो सरकार ? यो अलमल कायमै रह्यो भने राज्यको स्रोत साधनको चरम दोहन गरेर नागरिकलाई थप निराश बनाउने काम हुन्छ ।

तपाईंहरुले भनेको जस्तै कांग्रेस नेतृत्वमा सरकार बन्यो भने पनि अरु खास के होला र ?

पहिलो कुरा, चुनावी सरकारै भनेता पनि त्यो बेलासम्म सरकारले गर्ने जुन न्यूनतम काम हो, त्यो त भइहाल्छ । महासंकटको बेलामा जुन शासकीय विचलन देखिएको छ, एकप्रकारको उदासिनता देखिएको छ, यसलाई सच्याउनुपर्छ । हाम्रो अर्थतन्त्र, स्वास्थ्य लगायत थुप्रै भत्किएका कुरालाई मिलाउनुपर्‍यो ।

दोस्रो, प्रधानमन्त्रीले निर्वाचन आयोग, अख्तियार अनुसन्धान आयोगसँग गरेको सबै सेटिङलाई भत्काउने हो ।

तेस्रो, निर्वाचनको तयारी हो । यी ३ वटै कुरालाई सँगै लिएर गयौं भने हामी निर्वाचनमा पुग्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment