Comments Add Comment

लिफ्टिङ्गमार्फत घरघरमा खानेपानी पुगेपछि खाम्सेपानीवासी हर्षित

८ चैत, गुल्मी । वर्षौंदेखि खानेपानीको चरम अभाव भोगिरेहका गुल्मीको रेसुङ्गा नगरपालिका-४ खाम्सेपानीका बासिन्दा अहिले हर्षित छन् । घरकै धारामा पानी आउला र उपभोग गरौंला भन्ने कल्पनासमेत नगरेका यहाँका बासिन्दा लिफ्टिङ्गमार्फत खानेपानी घरकै धारमा आइपुगेपछि हर्षित भएका हुन् ।

खाम्सेपानीमा लिफ्टिङ्गमार्फत वडाकै रैदी खोलाको पानी तानेर अग्लो स्थानमा पुगेपछि पानीको समस्या समाधान भएको छ ।

रैदी पाण्डे भण्डारी टोल लिफ्टिङ्ग खानेपानी आयोजनाको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् । वषौंदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका नागरिकको घरघरमा खानेपानी पुगेपछि सहज भएको छ ।

खानेपानीको उद्घाटन गर्दै नगरप्रमुख भुसालले सुख्खाडाँडामा लिफ्टिङ्गमार्फत खानेपानी पुर्‍याउन पाउँदा निकै खुसी लागेको बताए । उनले रेसुङ्गा नगरमा ठूला खानेपानी अयोजना चलिरहेकाले नगरका १४ वटा वडामा २ वर्षभित्र खानेपानी लगिने बताए ।

रैदी खोलामा निजी जग्गामा रहेको पानीको मूल जग्गासहित उपलब्ध गराएपछि लिफ्टिङ्गमार्फत खानेपानी पु¥याउन सफल भएको रेसुङ्गा नगरपालिका–४ का वडाअध्यक्ष विजय मरासिनीले बताए । खानेपानीका लागि लामो समयसम्म बजेट छुट्याइँदै आएको भएपनि मूल नभएकै कारण समस्या पर्दै आएको थियो ।

तर पछि रैदीखोलामा रहेको खेतमा निजी जग्गामा मूल भेटिएपछि खाम्सेपानीवासीको घरघरमा खानेपानी पुगेको हो । खानेपानी आयोजनाका लागि जग्गा उपलब्ध गराउने र आवश्यक सहयोग गर्ने सबैलाई नगरपालिकाले सम्मानसमेत गरेको छ ।

खानेपानी निर्माण सम्पन्न गर्न सहयोग गर्ने सबैलाई सम्मान गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । उनले वडावासीले खानेपानी पाउँदा नगरपालिकाको सुशासनको सवालमा १ नम्बर थपिएको बताए ।

लिफ्टिङ्गमार्फत घरघरमा खानेपानी आएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । खानेपानीकै लागि घण्टौं कुवा र पँधेरो धाएर दैनिकी बिताएका स्थानीयले घरमै पानी पाउँदा औधी खुसी लागेको बताए ।

रैदी पाण्डे भण्डारी टोल लिफ्टिङ्ग खानेपानी लुम्बिनी प्रदेश सरकारको ३० लाख र रेसुङ्गा नगरपालिकाको वातावरण अनुकूलित रकमबाट १२ लाख गरी ४२ लाखको लागतमा सम्पन्न भएको हो । तत्काल ३५ घरमा एक घर एक धारामार्फत खानेपानी वितरण गरिएपनि पछि थप विस्तार गरिने भएको छ ।

रैदीखोलामा २० हजार लिटरको र खाम्सेपानीमा ३० हजार लिटरका २ वटा ट्यांकीमार्फत खानेपानी वितरण गरिएको वडाअध्यक्ष मरासिनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment