Comments Add Comment

सुरक्षाकर्मीलाई अहिंसाको नियम पालना गराउन माग

८ चैत, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकामा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी) स्थापना हुने भएपछि स्थानीय वासिन्दाले सुरक्षाकर्मीलाई अहिंसा क्षेत्रको नियम पालना गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

चुमनुब्री गाउँपालिकाको वडा नम्बर ६ चुम्चेत र वडा नम्बर ७ छेकम्पारलाई अहिंसा क्षेत्रको रुपमा २०६९ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले मान्यता दिएका थिए । स्थानीयले काटमार नगर्ने, मह नकाढ्ने, शिकार नखेल्ने, डढेलो नलगाउने जस्ता अहिंसाको प्रतिवद्धता पालना गर्दै आएका छन् ।

चीनसँगको सीमा क्षेत्र चुमनुब्री गाउँपालिका-७ मा सरकारले सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट स्थापना गर्न लागेको छ । त्यहाँ आउने सुरक्षाकर्मीले पनि स्थानीय वासिन्दाको नियम मान्नुपर्ने भनी सरकारको ध्यानाकर्षण गराएको चुम श्याग्या (अहिंसा) संरक्षण समितिका संरक्षक निमा लामाले बताए ।

समितिले आइतबार चुम्चेत र छेकम्पारका वासिन्दाको एक टोलीले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाई सुरक्षाकर्मीलाई अहिंसा प्रतिवद्धताका बुँदा पालना गराउन ध्यानाकर्षण गराएका छन् ।

वौद्ध धर्मावलम्बीको बसोबास रहेको सो क्षेत्र एक शताब्दीभन्दा लामो समयदेखि अहिंसा क्षेत्रको रुपमा रहेको छ । अहिंसाका नियममा जनावर काटमार नगर्ने, शिकार नखेल्ने, मह नकाढ्ने, डढेलो नलगाउने, मासु प्रयोजनका लागि पशु ओसारपसार र पशुवध गर्न नपाउने आदि रहेको छ ।

गृहमन्त्री थापाले स्थानीय संस्कृति परम्पराप्रति राज्यको जहिले पनि सम्मान रहने भन्दै सुरक्षाकर्मीले पनि त्यसलाई पालना गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment