+
+
Shares

‘दलित भएकै कारण मजदुरीसमेत गर्न दिँदैनन्’

रामहरि ओझा रामहरि ओझा
२०७७ चैत ९ गते १७:५२

चैत ९, डोटी । सरकारले छुवाछुतमुक्त मुलुक घोषणा गरेपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको दलित समुदायले गुनासो गरेका छन् । डोटीको सायल गाउँपालिका–१ का वीरवहादुर सार्की दलित समुदायमाथि अहिले पनि जातीय छुवाछुत हुने गरेको बताउँछन् ।

चिया पसलमा चिया खायो भने गिलास धुनुपर्ने अवस्था रहेको उनले बताए । ‘जातीय छुवाछुत अन्त्य भएको घोषणा गरिएको छ, तर हामीमाथि अहिले पनि सार्वजनिक स्थलमै छुवाछुत हुने गरेको छ,’ उनले भने ।

वीरबहादुरको कुरामा सही थाप्दै स्थानीय जमुनादेवी भुल भन्छिन्, ‘कानुनमा छुवाछुत अन्त्य भयो भन्छन् तर हाम्रा लागि छँदैछ ।’ उनले दलितहरुलाई अवसरबाट पनि वञ्चित गरिएको बताइन् । उनी थप्छिन् ‘गाउँमा कुनै समूह संस्थामा देखाउनका लागि मात्र दलितको प्रतिनिधि राख्छन् तर भूमिका केही पनि हुँदैन ।’

जातीय छुवाछुत अन्त्य गर्न गाउँपालिका र अन्य सरोकारवाला निकायले प्रभावकारी कदम चाल्नुपर्ने बताउँछन् स्थानीय बलवीर भुल । ‘दलित समुदायका अगुवाहरुलाई समेत सार्वजनिक स्थलमै छुवाछुत गरिन्छ,’ बलवीर भन्छन्, ‘जातीय छुवाछुत सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरेर छुवाछुतमुक्त वडा घोषणा गरिनुपर्छ ।’

स्थानीय माता सार्की आफू दलित भएकै कारण गैरदलितहरुले मजदुरी गर्न समेत नदिने गरेको गुनासो गर्छिन् । ‘गाउँमा हुने विकास निर्माणका योजना ठेक्कामा दिन्छन्, हामीले काम गर्न पनि पाउँदैनौं,’ माता भन्छिन्, ‘हामी जहिले पनि हेपिएका छौं ।’ विद्यालयमा बालबालिकाहरुबीच अहिले पनि जातीय विभेद हुने गरेको उनको भनाइ छ ।

दलित–दलितबीचमै पनि छुवाछुत रहेको स्थानीय कटे भुल बताउँछन् । ‘हामी दलितहरुबीचमै पनि एकले छोएको अर्कोलाई नचल्ने अवस्था छ, गैरदलितको मात्रै के कुरा ।’ उनी दलित–दलितबीचको छुवाछुत देखाएर गैरदलितहरुले पनि बहाना बनाउने गरेको बताउँछन् । उनले दलित अगुवाहरुले आफ्नै समुदायमा पनि विभेद गर्ने गरेको बताए ।

कसैले सार्र्वजनिक स्थलमा जातीय छुवाछुत गरे कानुनी कारबाहीमा जानुपर्ने बताउँछन् सायल गाउँपालिका–३ का वडाध्यक्ष गोरखवहादुर सार्की । ‘जातीय छुवाछुत गम्भीर अपराध हो, हामीले यो अपराध सहेर बस्नु हुन्न,’ मुलुक कम्युनिकेशन प्रालिले आयोजना गरेको ‘दलित समुदाय र जनप्रतिनिधिबीचको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले भने, ‘जबसम्म हामी सहेर बस्छौं, तबसम्म छुवाछुत रहिरहन्छ ।’ सायल गाउँपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष सार्कीले आफू दलित समुदायकै व्यक्ति भएकाले छुवाछुत विरुद्ध सक्रिय रहेर लागेको बताए ।

जातीय छुवाछुत न्यून गर्नका लागि गाउँपालिकाले अभियान नै चलाउने गाउँपालिकाकी उपाध्यक्ष विष्णा सिंहले बताइन् । उनले दलित महिलाहरु अझै पछाडि परेका कारण उनीहरुको सीप र क्षमता विकासका लागि कार्यक्रम सञ्चालन गरिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?