Comments Add Comment

माझी जातिमा बच्चाको हेरचाह : गर्भावस्थादेखि के–के कुरामा लगाइन्छ प्रतिबन्ध ?

तस्वीर : युएनडीपीको रिपोर्टबाट

विभिन्न जातिमा बच्चाको हेरचाह सम्बन्धी आ–आफ्नै परम्परागत शैलीहरु हुन्छन् । ती सामान्य अवस्थामा एक अर्काभन्दा भिन्न जस्ता देखिए पनि मूलभूत रूपमा बच्चाको स्वास्थ्य र आमाको स्वास्थ्यसँग सम्बन्धित समान खालका हेरचाह विधिहरू हुन् । त्यस्ता शैलीहरू सबै बच्चाको सुरक्षा र उसमा हुन सक्ने सम्भावित समस्याको लागि गरिएका संस्कारहरू हुन् । यसमा कतिपय वैज्ञानिक महत्व समेत रहेको पाइन्छ । बच्चाको सुरक्षाको लागि भनेर अन्य समुदायमा जस्तै माझी समुदायमा पनि गर्भवतीको लागि केही बर्जित नियमहरू छन् ।

समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका लागि जनक राई र हृदय माझीले तयार पारेको अध्ययन प्रतिवेदनमा उल्लेख भए अनुसार बच्चा जन्मिएपछि झण्डै २ हप्तासम्म आमाबाहेक अरूले बच्चाको हेरचाह नगर्ने परम्परागत संस्कार यो जातिमा पाइन्छ। वैज्ञानिक रूपमा पनि बच्चाको हेरचाह सकेसम्म आमाले नै गर्नुलाई बच्चाको वृत्तिविकाससँग जोडेर हेर्ने गरिन्छ । त्यसबाहेक कतिपय जातिगत संस्कारहरू बच्चाको लागि हानिकारक समेत रहेको मानिन्छ ।

वैज्ञानिक आधारमा हेर्दा गर्भावस्थामा कुनैपनि महिलाले त्रास र भय सिर्जना हुने कुरा हेर्नु हुँदैन भन्ने मान्यता राखिन्छ । यही चलन माझी जातिमा समेत छ । गर्भवतीले शवलाई हेर्नुहुँदैन भन्ने मान्यता यो जातिमा अझै जारी छ । गर्भावस्थामा शव हेर्दा त्यसबाट भय सिर्जना भयो भने पेटभित्र रहेको बच्चालाई समेत असर गर्छ भन्ने उनीहरुको बुझाइ छ ।

त्यस्तै, जंगली जनावरले मारेको कुनै पनि जनावरको मासु खान गर्भावस्थाको बेलामा बर्जित गरिएको हुन्छ । यसबाहेक श्रीमती गर्भवती रहेको बेलामा श्रीमान्ले कुनै जनावरको हत्या गर्न नहुने, बाख्रा घोडा जस्ता जनावरलाई बाँधेको डोरी पनि पार गर्न हुँदैन भन्ने मान्यता पाइन्छ । यी सबैले पेटभित्र रहेको बच्चाको शारीरिक विकासमा प्रभाव पार्छ भन्ने मान्यता पाइन्छ । गर्भवतीलाई गाउँघरबाट टाढाको यात्रा, पहाड वा रूखहरू चढ्न, कडा परिश्रम गर्न र तीतो खान प्रतिबन्ध लगाइएको हुन्छ । यो समयमा आफैँले चोरेर खुर्सानी खायो भने बच्चाहरू बाठो हुन्छन् भन्ने अनौंठो मान्यता पाइन्छ ।

बच्चा जन्मिएपछिको सुरक्षा

माझीहरू विश्वास गर्छन् कि बच्चा जन्माउने बेलामा गर्भवतीलाई घरभित्रै राख्नुपर्छ । बच्चा जन्माउने बेलामा उनीहरू सुडेनीको सहायता लिन्छन् । बच्चा जन्मिएपछि सांकेतिक रूपमा बच्चा छोरा जन्मियो कि छोरी जन्मियो भन्ने सूचना दिइन्छ । बच्चा छोरा छ कि छोरी भन्ने आधारमा कुखुरा काट्ने कि कुखुरी भन्ने कुराले निर्धारण गरिन्छ । बच्चा जन्माउने क्रममा घरमा कुनै न कुनै शुभकार्य गर्नुपर्छ भन्ने मान्यता राखिन्छ । आमा र बच्चाको स्वास्थ्यको लागि बच्चा जन्मिएको दिनदेखि नै आमालाई मासु, बियर, घिउ र ज्वानोको झोल प्रशस्त खान दिइन्छ । बच्चा जन्मिएको तीन, पाँच वा सात दिनमा सुत्केरो चोखिन्छ । न्वारनको दिन मात्रै बच्चालाई राम्रोसँग नुहाइन्छ ।

पास्नी वा मुख जुथौनी संस्कारको समयसम्म बच्चालाई आमाको दूध बाहेक अरु केही पनि खुवाइँदैन । यो समयमा बच्चा र आमाको स्वास्थ्यको लागि घरेलु पौष्टिक आहार एवं जडिबुटी खुवाउने गरिन्छ । त्यतिबेलासम्म बच्चालाई आमाको दूध नै पर्याप्त हुने भएकोले उसलाई केही पनि खुवाउने गरिँदैन । बच्चालाई आमाले नै समयसमयमा तेल लगाएर मालिस गर्ने र आवश्यक तापक्रमको सन्तुलन मिलाउने गर्छिन् । पास्नी छोरा भए ६ महिनामा र छोरी भए ५ महिनामा गरिन्छ ।

पास्नीको दिन बच्चालाई रक्सी, माछा, मासु, अण्डा, दही, दूध, घिउ, मह, चामल र दाल युक्त खाना तयार पारेर खुवाउने गरिन्छ । आमा, बुबा, दाजुभाइ र आफन्तले बच्चालाई टीका लगाएर खाना खुवाउने गर्छन् । त्यहाँ एउटा विश्वास छ कि यदि बच्चाको दाँत आठ महिनाको उमेरमा फुट्यो भने बच्चाले मातृ नातेदारहरूलाई देख्नु हुँदैन । यस्तो अवस्थामा मामाले बच्चालाई पित्तलको थालमा अक्षता बनाएर भित्तामा प्वाल पारेर आफूले नहेरी भाञ्जालाई टीका लगाइदिएपछि मात्रै बच्चालाई हेर्न सकिन्छ भन्ने मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment