+
+
Shares

सेडामा छात्रवृत्ति पाएका विद्यार्थीसँग पनि २८ हजार अतिरिक्त शुल्क

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १० गते १७:३२

१० चैत, सुर्खेत । वीरेन्द्रनगरको सुर्खेत एजुकेसन डेभलपमेन्ट प्रालि (सेडा कलेज) ले पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीसँग पनि कम्तीमा २८ हजार रुपैयाँ बढी शुल्क लिएको पाइएको छ ।

कलेजले मनोमानी रुपमा शुल्क लिएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थीहरु केही दिनयता आन्दोलनमा छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) को सम्बन्धनमा एचए, स्टाफ नर्सलगायतको पढाइ सञ्चालन गर्दै आएको कलेजले पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीसँग अतिरिक्त क्रियाकलापको १२ हजार, पुस्तकालय शुल्क १० हजार, कोरोना महामारी शुल्क ३ हजार र भर्ना शुल्क ३ हजार रुपैयाँ मागेको विद्यार्थीको गुनासो छ ।

सीटीईभीटीले ४ वर्षे एचए कार्यक्रमको शुल्क ४ लाख ४ हजार र स्टाफ नर्सको ४ लाख ७५ हजार रुपैयाँ तोकेको छ । अतिरिक्त क्रियाकलाप शीर्षकमा १२ हजार शुल्क लिने गरेकोमा अहिले कोरोनाका नाममा ३ हजार थपेर १५ हजार पुर्‍याएको एचए तेस्रो वर्षमा अध्ययनरत करुणा पुलामीले बताइन् ।

अतिरिक्त क्रियाकलाप पनि केही पनि नगराइने एचए तेस्रो वर्षमा अध्ययनरत प्रेम रेग्मीले बताए । ‘लाइब्रेरीमा सबै पुराना किताब राखिएको छ, ल्याबमा केमिकल छैन, अतिरिक्त क्रियाकलाप कस्तो हुन्छ, हामीले आजसम्म देख्न पाएका छैनौं, कुनै माग राखेर प्रशासनमा जाँदा प्राक्टिकल नम्बर काटिन्छ,’ उनले भने ।

कलेजले यसअघि पनि विद्यार्थीबाट बढी शुल्क लिने गरेको हालै एचए कोर्स पूरा गरेका विद्यार्थी जीवानन्द पाण्डे बताउँछन् । उनले आफूले पूर्ण छात्रवृत्तिमा पढे पनि ३६ हजार रुपैयाँ मागेको बताए । ‘म फुल स्कलरसिपमा पढेको विद्यार्थी हुँ, मसँग पनि अन्तमा ३६ हजार मागिएको थियो । तर, मैले दिन सकिन र दिइँन पनि,’ पाण्डेले भने, ‘मेरो व्याचका साथीहरुसँग शुल्कबाहेक विभिन्न शीर्षकमा ५० हजार रुपैयाँ असुलिएको थियो ।’

उजुरी आए कारबाही हुन्छ : निर्देशक सुवेदी

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्णाली प्रदेश निर्देशक यादव सुवेदीले कलेजले बढी शुल्क लिन नपाउने बताए । बढी शुल्क लिएको उजुरी आए कारबाही गर्ने उनले बताए ।

‘सेडा कलेजबारे हामीले समाचारमार्फत नै थाहा पायौं । तर, अहिलेसम्म हामीकहाँ उजुरी आएको छैन,’ सुवेदीले अनलाइनखबरसँग भने, ‘यदि विद्यार्थीले उजुरी दिए छानबिन गर्छौं र दोषी पाइए कारबाही गर्छौं ।’ सीटीईभीटी प्रदेश कार्यालयले सेडा कलेजसँग स्पष्टीकरण मागेको पनि उनले बताए ।

कलेजका अध्यक्ष डिलाराम भण्डारीले विद्यार्थीलाई सहुलियत दिन अतिरिक्त शुल्क लिएको बताए । ‘हामीले विद्यार्थीलाई थप सहुलियत दिन केही अतिरिक्त शुल्क लिएका थियौं । तर, विद्यार्थीहरुले त्यसलाई हटाउन माग गर्नुभएको छ । हामी छलफल गरेर हटाउँछौं,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?