Comments Add Comment

निर्वाचनमा आफू विजयी हुने इजरायली प्रधानमन्त्री नेतान्याहूको दाबी

११ चैत, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मंगलबार भएको निर्वाचनमा आफ्नो जित हुने दाबी गरेका छन् । मंगलबार इजरायलमा पछिल्लो दुई वर्षमा चौथोपटक आम निर्वाचन सम्पन्न भएको हो । नेतान्याहू लामो समयदेखि इजरायलको प्रधानमन्त्री रहँदै आएका छन् ।

इजरायलका प्रमुख सञ्चारमाध्यमहरुले पनि मंगलबारको निर्वाचनमा नेतान्याहूको पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने प्रक्षेपण गरेका छन् । इजरायलको संसद १२० सिटको छ ।
नेतान्याहूले यसअघि कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चालेको कदमका कारण यो निर्वाचनमा आफ्नो जित हुने बताएका थिए ।

इजरायलमा अहिले आधाभन्दा बढी मानिसले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । इजरायल कोरोना खोप अभियान सबैभन्दा तीव्र गतिमा सञ्चालन गर्ने मुलुकमध्येको एक हो ।

नेतान्याहूले निर्वाचनमा दक्षिणपन्थीको लागि ठूलो जित भएको बताएका छन् । उनले आफ्नो सिद्धान्त मान्ने सबैलाई समेटेर अघि बढ्नेसमेत बताएका छन् । विपक्षी नेताहरुले भने मंगलबारको निर्वाचनमा इजरायलमा नेतान्याहूको विपक्षी समूहले बहुमत ल्याउने दाबी गरेका छन् ।

इजरायलमा एक वर्षअघि बनाएको गठबन्धनको सरकार टुटेसँगै नेतान्याहूले संसद विघटन गर्दै दुई वर्षमा चौथो निर्वाचनको घोषणा गरेका थिए ।

एजेन्सीहरुको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment