Comments Add Comment

प्राकृतिक प्रकोप र हिंसा पीडित परिवारलाई २५ हजार दिइने

११ चैत, जनकपुरधाम । प्रदेश-२ सरकारले प्राकृतिक प्रकोप, हिंसा र सामाजिक कुरीतिबाट पीडित भएका र दुर्घटनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।  यसका निम्ति तयार भएको निर्देशिका प्रदेश राजपत्रमा प्रकाशित गरेको छ ।

प्रदेशभित्रका प्रकृति प्रकोप, हिंसा, बोक्सा बोक्सी, द्वन्द्व एवं एसिडपीडित व्यक्ति तथा दुर्घटनाबाट मृत्यु भएका व्यक्तिको नजिकको हकवालालाई राहत स्वरुप आर्थिक सहयोग उपलब्ध गराउन निर्देशिका बनाइएको छ । प्राकृतिक प्रकोप अन्तर्गत भूकम्प, बाढी पहिरो, आगलागी, चट्याङ आदिलाई भनिएको छ ।

आर्थिक सहयोगलाई पारदर्शी र व्यवस्थित बनाउन प्रशासकीय कार्यविधि ऐन, २०७५ को दफा २ बमोजिम यो निर्देशिका तयार गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । सहयोग प्रदान गर्दा निजहरुका अवस्था हेरी औचित्यताको आधारमा बढीमा २५ हजारसम्म रकम उपलब्ध गराउन सक्ने निर्देशिकामा उल्लेख छ ।

यो सहयोग पाउनका निम्ति पीडितले नागरिकताको प्रमाण पत्रको प्रतिलिपी र स्थानीय तहको सिफारिससहित आर्थिक सहायता सिफारिस समितिसमक्ष निवेदन दिनुपर्ने हुन्छ ।

आर्थिक सहयोग निर्धारण र वितरण सम्बन्धी काम कारवाहीको सञ्चालक, रेखदेख तथा प्रबन्ध गर्न आन्तरिक मामिला तथा कानून मन्त्री अध्यक्ष रहनेगरी समिति बनाइनेछ ।

समितिमा कानून मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवलाई सदस्यमा र कानून मन्त्रालयको प्रशासन तथा योजना हेर्ने उपसचिवलाई सदस्य सचिवमा राखिएको छ ।

सदस्य सचिवले समितिको काम कार्वाहीको बार्षिक प्रतिवेदन प्रत्येक आर्थिक बर्ष समाप्त भएको मितिले ३ महिनाभित्र समिति समक्ष पेश गर्नेछन् । झुट्टा विवरण पेश गरी आर्थिक सहयोग लिने र झुट्टा विवरणको सिफारिस बनाइदिने सिफारिसकर्तालाई कानुन बमोजिम कार्वाही गर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment