Comments Add Comment

सुदूरपश्चिम प्रदेशमा १ हजार २ सय ८२ जना क्षयरोगका विरामी

चैत्र ११, डोटी । चालू आर्थिक बर्षको पहिलो ६ महिना साउनदेखि पुषसम्म सुदूरपश्चिम प्रदेशमा क्षयरोगका एक हजार दुई सय ८२ बिरामी देखिएका छन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले दिएको जानकारी अनुसार कैलालीमा सबैभन्दा बढी पाँच सय एक जना क्षयरोगका बिरामी छन् । सवैभन्दा कम दार्चुलामा २५ क्षयरोगी छन् ।

यस्तै कञ्चनपुरमा तीन सय ४९, डोटीमा ८२ र बझाङ्गमा ७५ क्षयरोगका बिरामी देखिएका निर्देशनालयका क्षय÷कुष्ठरोग निरीक्षक मनोज ओझाले जानकारी दिए । बैतडीमा ७४, अछाममा ६४, डडेल्धुरामा ६० र बाजुरा ५२ जना क्षयरोगका बिरामीहरु रहेको ओझा बताउँछन् । क्षयरोगका बिरामीहरुमध्ये तीन सय ९९ महिला र ७७ पुरुष रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा बिगत तीन बर्षको तथ्याङ्क हेर्दा क्षयरोगका बिरामीहरुको संख्या स्थिर जस्तै रहेको ओझा बताउँछन् । ‘आर्थिक बर्ष ०७४÷०७५ मा प्रदेशमा सवै प्रकारका क्षयरोगीहरुको संख्या तीन हजार एक सय ४६ थियो’ ओझाले भने ‘०७५-०७६ मा तीन हजार एक सय ४८ पुग्यो ।’

उनले ०७६-०७७ मा अघिल्ला दुई बर्षको तुलनामा केही कम देखिएपनि बिश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण परीक्षण कम भएर घटेको हुन सक्ने वताए । ०७६-०७७ मा दुई हजार सात सय ३५ क्षयरोगका बिरामीहरु थिए ।

चालु आर्थिक बर्षको पहिलो ६ महिलामै एक हजार दुई सय ८२ बिरामी देखिनुले यस वर्ष पनि घट्ने संकेत नदेखिएको क्षय-कुष्ठरोग निरीक्षक ओझा बताउँछन् । उनी भन्छन् ‘क्षयरोग पत्ता लाग्ने समय बढी जसो चैत्र, बैशाख, जेठ महिनामा हो । यो अवधी भरखर सुरु भएको छ, त्यसैले बिगतको बर्ष भन्दा कम होलान् भन्न सकिन्न ।’

क्षयरोगका बिरामीहरुमध्ये आठ सय १६ जना एचआईभी संक्रमित रहेका ओझाले बताए । क्षयरोगका बिरामीहरुको मृत्यु दर पाँच प्रतिशत रहेको उनले बताए । ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने मुल नाराका साथ बिश्व क्षयरोग दिवस सुदूरपश्चिम प्रदेशमा पनि विभिन्‍न कार्यक्रम गरि मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment