Comments Add Comment

यतीले गर्‍यो काठमाडौं–बनारस रुटमा परीक्षण उडान

फाइल तस्वीर

१२ चैत, काठमाडौं । यती एयरलाइन्सले काठमाडौं–बनारस–काठमाडौं रुटमा परीक्षण उडान गरेको छ ।

बुधबार भएको परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको कम्पनीका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार कम्पनीले दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरुमा चार्टर/नन्सेड्युल फ्लाइटको योजना बनाएको छ । यसका लागि यतीले नेपाल नागरीक उड्डयन प्राधिकरणमा केही महिना अघि नै निवेदन दिएको थियो । परीक्षण उडानका दौरान प्राधिकरणका अधिकारीसमेत सहभागी हुने प्रचलन रहेको छ ।

यो उडानपछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यतीले अन्तर्राष्ट्रिय उडानको लागि प्राप्त गर्ने अनुमति अन्तिम चरणमा पुगेको उनले जनाएका छन् । उडान प्रतिवेदन पेस भएपछि यतीले अन्तर्राष्ट्रिय उडानको एओसी पाउने भएको छ । यससँगै नेपालमा दर्ता भई अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीको संख्या ५ पुग्ने छ । अहिले नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको एओसी पाएका छन् ।

बुधबार भएको परीक्षण उडानमा जहाज एयरलाइन्सका वरिष्ठ चालक रमोदकुमार श्रेष्ठ तथा प्रमोद पौडेलसहितको उडान दलले उडाएको थियो । निर्माणाधिन क्षेत्रीय विमानस्थललाई नजिकका अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने गरी अन्तर्राष्ट्रिय उडानको योजनामा यति रहेको छ । कम्पनीका अनुसार यतीले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गर्न मध्यम क्षमताका ठूला जहाज भित्र्याउने लक्ष्य समेत राखेको छ । सन् २०२१ भित्रै दुईवटा एटीआर–७२ समेत यतीले किन्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment