Comments Add Comment

सीमावर्ती रुपैडिया बजार जान रोक

फाइल तस्वीर

१२ चैत, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती बजार रुपैडिया जान रोक लगाएको छ ।

भारतबाट कोरोना सङ्क्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

उनका अनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले भारतीय सीमाबजार रुपैडियामा किनमेलका लागि जान रोक लगाउने निर्णय गरेको हो । बैठकले स्वास्थ्य जाँच गरेर मात्र नेपाल भित्रिन दिने र कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने गराउने निर्णयसमेत गरेको छ ।

लक्षण देखिएका बिरामीको एन्टिजेन परीक्षण गरी सामान्य अवस्थाका यात्रुलाई १० दिन अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउने र सिकिस्त बिरामीलाई सीधै भेरी अस्पतालमा पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले जानकारी दिए ।

अनावश्यकरूपमा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र सभा, सम्मेलन, गोष्ठी र सेमिनार गर्न पनि डीसीसीएमसीले आग्रह गरेको कोभिड जिल्ला स्रोतव्यक्ति तेज ओलीले बताए ।

उनका अनुसार कोरोना सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि बाँकेका आठवटै स्थानीय तहलाई क्वारेन्टिन निर्माणलगायतका आवश्यक काम अघि बढाउन जिल्ला कोभिड व्यवस्थापन समितिले निर्देशन दिएको छ ।

भारतबाट आएका नागरिकलाई जमुनाह नाकामा स्थापना गरिएको स्वास्थ्य जाँचकक्षमा जाँच गरी १० दिन क्वारेन्टिनमा राख्नुपर्ने र भेरी अस्पताललगायतका स्वास्थ्य संस्थामा रहेका आइसोलेसनलाई प्रभावकारी बनाउने जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।

भारतबाट नेपाल फर्किने सर्वसाधारणको स्वास्थ्य जाँचको लागि नेपालगञ्ज उपमहानगरपालिकाले जमुनाह नाकामा सुविधासम्पन्न स्वास्थ्य कक्ष स्थापना गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकाले नाकामा स्वास्थ्य कक्ष स्थापना गरेर कोरोना परीक्षण शुरु गरेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।

चन्दका अनुसार जमुनाह नाकामा स्वाब लिएको १५ मिनेटमा कोरोनाको रिपोर्ट निकाल्ने प्रविधिसहितको स्वास्थ्यकक्ष सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment