+
+
Shares

काठमाडाैं महानगरले पुरातत्व विभागलाई भन्यो-सम्पदा क्षेत्रका पसल छिटो हटाऊ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १२ गते १५:५३

१२ चैत, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन पुरातत्व विभागले ढिलासुस्ती गरेको भन्दै काठमाडौं महानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।

‘विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंका चार सम्पदा काठमाडौं महानगरपालिका क्षेत्रभित्र अवस्थित छन्,’ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने, ‘ती सम्पदा क्षेत्रहरुको संरक्षण, मर्मत, जिर्णोद्वार, तथा सम्बर्द्धन गरी प्राचीनता जोगाउनु काठमाडौं महानगरपालिको दायित्व हो । त्यसैले हामीले पुरातत्व विभागलाई पटक–पटक त्यहाँका अनधिकृत प्रयोजन हटाउन ताकेता गरेका छौं । तर, विभागले ढिलासुस्ती गरिरहेको छ । हामीले ताकेता गरिरहेका छौं ।’

उनले वारुण यन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेस्टुरेन्ट र सटरहरु चलेका भन्दै छिटो हटाउन आग्रह गरेको पुनः स्मरण गराए । ‘ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वको त्यो क्षेत्र पहिला परम्परागत र बटुवामैत्री थियो । बटुवाहरु त्यहि सतलमा आराम गर्ने गर्थे,’ शाक्यले भने, ‘त्यस्तो पुरातात्विक ठाउँको महत्वलाई जोगाउनुपर्छ भनेर महानगरपालिकाले पुरातत्वलाई व्यापारिक प्रयोजन हटाइदिन आग्रह गरेको हो ।’

उनले तलेजु मन्दिरको आसपास मख्खनतिर पनि बाटो नै ढाकेर व्यापार–व्यवसाय सञ्चालन भएको भन्दै खाली गराउन आग्रह गरेको जानकारी दिए । ‘हामीलाई जानकारी भए अनुसार पुरातत्वले ती स्थान भाडामा लगाई व्यापारिक प्रयोजनमा प्रयोग गरिरहेको छ । त्यस्तो ऐतिहासिक ठाउँमा मौलिकता कायम गर्दै र बटुवामैत्री हुने गरी अघि बढ्न उहाँहरुलाई पटक–पटक हामीले मौखिकरुपमा आग्रह गर्‍यौं,’ शाक्यले भने, ‘मौखिक रुपमा धेरै पटक भन्दा चासो नदेखाएपछि महानगरपालिकाले लिखित रुपमा उहाँहरुलाई पत्राचार गरेको छ ।’

स्थानीय बासिन्दाले समेत पटक–पटक त्यहाँको मौलिकता कायम गर्न महानगरपालिकासँग आग्रह गरेको शाक्यले स्मरण गराए । ‘स्थायनीले मसँग यो काम छिटो सम्पादन गर्नुपर्‍यो भनेर आग्रह गरिरहेका छन्,’ उनले भने, ‘उहाँहरुको समेत माग सम्बोधन गर्दै महानगरपालिकाले पुरातत्वलाई दोस्रो ताकेतापत्र समेत पठाइसकेको छ । आफैं सम्पदा बचाउने संस्था भएकाले सम्पदा मासेर उहाँहरुले व्यापार चलाइरहनु होला भन्ने मलाई विश्वास छैन ।’

ऐतिहासिक ठाउँलाई ऐतिहासिक नै कायम गरेर बटुवामैत्री सतल बनाउने महानगरपालिकाको योजनामा सहयोग गर्न उनले आग्रह गरे । शाक्यले भने, ‘मसँग मौखिक रुपमा कुराकानी हुँदा उहाँहरुले प्रक्रिया पुर्‍याएर हटाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । त्यसैले उहाँहरुले अनदेखा गरेर बस्नुहोला भन्ने मलाई लागेको छैन ।’

सम्पदा बचाउने सबै भन्दा जिम्मेवार निकाय पुरातत्व रहेको उनको भनाइ थियो । ‘विश्व सम्पदा सूचीमा सूचीकृत स्थानमै पुरातत्वले सम्पदा मासेर आम्दानी गर्न थाल्यो भने अन्त पनि काम गर्न कठिन हुन्छ,’ शाक्यले भने, ‘हामीले अरुलाई नियन्त्रण गर्न कठिन हुन्छ । त्यो कुरा उहाँहरुले मनन् गर्नुहुन्छ भन्ने हामीले ठानेका छौं ।’

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले यहि माघ १४ गते अनधिकृत प्रयोजन हटाइदिन आग्रह गर्दै पुरातत्वलाई पत्र पठाएको जानकारी दिए ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले त्यो क्षेत्र पुरातत्वको क्षेत्राधिकार भित्र रहेको भन्दै जतिसक्दो छिटो प्रक्रिया पुर्याएर हटाउन आफूहरु सकारात्मक रहेको जानकारी दिए । ‘त्यो हाम्रो क्षेत्राधिकार भित्रै पर्छ । अहिले त्यो क्षेत्र हनुमान ढोका दरबार संग्राहलय विकास समितिले हेरिरहेको छ,’ गौतमले भने, ‘त्यहाँको संरक्षण, मर्मत सम्हारका लागि टिकेटको केही रकम महानगरपालिकाबाट आउँछ । त्यसैगरी कार्यालयमा काम गर्ने कर्मचारीको सेवा–सञ्चालन, तलब–भत्तालगायत त्यहिबाट उपार्जन गर्ने गरी समिति बनाएका हो ।’

समितिको नेतृत्व पर्यटन मत्रालयको सचिवले गर्ने व्यवस्था रहेको भन्दै गौतमले बैठक बसेर जतिसक्दो छिटो प्रक्रिया अघि बढाउने बताए ।

महानगरपालिकाको पत्र प्राप्त भएपछि प्रधानमन्त्री कार्यालय र पर्यटन सचिवलाई समेत जानकारी गराएको स्मरण गौतमले गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?