Comments Add Comment
धुलो दूध र बटर : :

घोषणामा आत्मनिर्भर, तर ८ महिनामै एक अर्ब ३० करोडको आयात

१२ चैत, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजनाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेका छन् ।

बिहीबार आयोजित भव्य कार्यक्रममा प्रधानमन्त्री ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य (कुखुरा) गरी चार उत्पादनमा मुलुक आत्मनिर्भर भएको बताएका हुन् । स्वदेशमै प्रशस्त मात्रामा उत्पादन भएकाका कारण विदेशबाट पशुपन्छीजन्य उत्पादन आयात जरुरी नभएको र आयात पनि नभएको सरकारको दाबी छ ।

तर भन्सारको तथ्यांकले भन्छ, बटर र धुलो दूधको आयात उच्च छ । चालु आर्थिक वर्षको आठ महिनामा मात्र करिब डेढ अर्ब हाराहारीको बटर र धुलो दूध आयात भएको छ ।

आत्मनिर्भरताको दाबी

बिहीबार गरिएको घोषणाअनुसार धुलो दूध, बटर, अण्डा र मासुजन्य ( कुखुरा, खसी र बंगुर) उत्पादन मुलुकको मागलाई धान्न सक्ने अवस्थामा छ ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य तथा कृषि संगठनको अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा मानिसलाई आवश्यक पर्ने यी वस्तुको वाषिर्क औसत परिमाण र उत्पादन अवस्थाका आधारमा नेपाललाई आत्मनिर्भर मुलुकको रुपमा घोषणा गरिएको हो ।

सरकारले आत्मनिर्भर घोषणा गरेको पाउडर दूध पनि लाखौं किलो आयात भएको तथ्यांक छ । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै नेपाल भित्रिएको पाउडर दूधको परिमाण ११ लाख ८२ हजार २५३ किलो रहेको विभागले जनाएको छ

संगठनले प्रतिव्यक्ति प्रति वर्ष न्यूनतम ९१ लिटर दूध, १४ किलो मासु, ४८ गोटा अण्डा उपभोग गर्नुपर्ने तोकेको छ । हाल नेपालमा प्रति व्यक्ति प्रति वर्ष ७९ लिटर दूध, १८.१ किलो मासु र ६१ गोटा अण्डाको उपलब्धता हासिल भएको सरकारी दाबी छ ।

मन्त्रालयको तथ्यांकअनुसार देशभर २३ लाख १ हजार मेट्रिक टन  दूध, ५ लाख ४८ हजार मेट्रिक टन मासु, १ अर्ब ६१ करोड गोटा अण्डा र ९१ हजार मेट्रिक टन माछा उत्पादन भएको छ ।

हालको प्रचलित बजार मूल्यको आधारमा दूधबाट करिब १ खर्ब २२ अर्ब, मासुबाट २ खर्ब ७५ अर्ब, अण्डाबाट १७ अर्ब र माछाबाट ३७ अर्ब गरी कुल ४ खर्ब ५० अर्ब रुपैयाँ बराबरको आयात प्रतिस्थापन भएको मन्त्रालयको दाबी छ ।

यस्तै प्रत्येक वर्ष ५ लाख देखि ६ लाखको हाराहारीमा आयात हुने बाख्रा हाल ९७ प्रतिशतले घटेको र राँगा भैंसीको आयात विगत दुई वर्ष यता शून्यमा झरेकाे मन्त्रालयको दाबी छ ।

के नेपाल आत्मनिर्भर छ ?

भन्सार विभागको तथ्यांक अनुसार अण्डा र कुखुराको मासुबाहेकमा नेपाल आत्मनिर्भर देखिन्न । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै ४९ करोड ६५ लाख रुपैयाँ भन्दा धेरै मूल्य बराबरको ९३ हजार २५० किलो बटर नेपालले आयात भएको छ । सो परिमाणको बटर आयात गर्दा सरकारले २८ करोड ८९ लाख रुपैयाँ बराबरको राजश्व संकलन गरेको विभागको विवरणमा देखिन्छ ।

सरकारले आत्मनिर्भर घोषणा गरेको अर्को पाउडर दूध पनि लाखौं किलो आयात भएको तथ्यांक छ । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै नेपाल भित्रिएको पाउडर दूधको परिमाण ११ लाख ८२ हजार २५३ किलो रहेको विभागले जनाएको छ ।

उक्त परिमाणको पाउडर दूध आयात गर्न ८१ करोड ३० लाख ७० हजार रुपैयाँ भन्दा धेरै रकम खर्चिएको विभागको तथ्यांकमा छ ।

सरकारले घोषणा गरेको मध्ये पाउडर दूधको आत्मनिर्भरता सत्य नभएको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ पनि बताउँछन् । चितवन, विराटनगर र पोखरामा गरेर तीन वटा उद्योगले वार्षिक २८ सय मेट्रिक टन पाउडर उत्पादन गर्ने गरेको र बजारको माग वार्षिक चार हजार मेट्रिक टन भन्दा धेरै रहेको संघका अध्यक्ष नारायण देवकोटा बताउँछन् । ‘नेपालमा भएका उद्योगहरूको उत्पादनको आधारमा अझै बजारमा १२ सय मेटि्रक टन पाउडर दूधको कमी देखिन्छ’, देवकोटाले भने ।

‘प्रधानमन्त्री ओली जीले जनतालाई भ्रम फैलाउन खोज्नु भयो, यो सस्तो लोकप्रियताका लागि मात्रै हो, तथ्यांकले यो विषय बोल्दैन’

विज्ञ भन्छन् : सरकारले भ्रम फैलायो

कृषि क्षेत्रका विज्ञहरू आत्मनिर्भरताको घोषणा गरेर सरकारले सस्तो लोकप्रियताका लागि भ्रम छरेको बताउँछन् । सरकारले प्रस्तुत गरेको विवरणले काठमाडौं र चितवनको मात्रै माग र आपूर्ति अवस्था झल्किने कृषि विज्ञ डा. कृष्णप्रसाद पौडेल बताउँछन् । सरकारले आज घोषणा गरेको वस्तुहरू आत्मनिर्भरताउन्मुख रहे पनि पूर्ण आत्मनिर्भर भने नरहेको उनको भनाइ छ ।

‘प्रधानमन्त्री ओलीजीले जनतालाई भ्रम फैलाउन खोज्नुभयो, यो सस्तो लोकप्रियताका लागि मात्रै हो, तथ्यांकले यो विषय बोल्दैन’, डा. पौडेलले भने ।

पाउडर दूध बाहेकको अन्य वस्तुहरूको आत्मनिर्भरता भने उत्पादन भन्दा पनि कानूनले ल्याउन निषेध गरेकाले सरकारले दाबी गरेको हुनसक्ने उनको भनाइ छ । आत्मनिर्भर घोषणा गरेको वस्तुको आयात तथ्यांक सरकारले नपढेको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी बताउँछन् ।

‘सरकारले घोषणा गरेको वस्तुको आयात र त्यसका लागि चाहिने कच्चा पदार्थको आयात  अर्बौंमा छ, सरकारले किन झुट बोल्नुपर्‍यो,’ अधिकारीले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment