
१३ चैत, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका-१० का ३० वर्षीय युवक सुशील रायको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
स्थानीय ४५ वर्षीय कमल पण्डित भनिने विमलकान्त पाठक र उनका भान्जा ४० वर्षीय अशोक झा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए ।
पक्राउ परेका अशोक भारतीय नागरिक हुन् । भारतको सुरत घर भएका उनी लामो समयदेखि मलंगवामै बस्दै आएका थिए । उनीहरु मृतकका साथी भएको प्रवक्ता कुँवरले बताए ।
प्रहरीका अनुसार हत्या गरिउका राय लागुऔषध प्रयोगकर्ता हुन् । बुधबार राति घरबाट वेपत्ता भएका उनको बिहीबार बिहान टाउको काटिउको अवस्थामा शव फेला परेका थियो ।
त्यसलगत्तै अनुसन्धानमा जुटेको प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । उनको हत्यामा विमलकान्त र अशोककै संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।
बुधबार राति यी तीनै जनाले लागुऔषध प्रयोग गरेको र विवाद भएपछि दुईजना मिलेर सुशीलको हत्या गरेको प्रहरीको दाबी छ ।
मृतक राय र विमलकान्तबीच आर्थिक लेनदेन देखिएको र सोही विषयमा समेत विवाद भएको देखिएको प्रहरीको भनाइ छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता कुँवरले बताए ।
प्रतिक्रिया 4