Comments Add Comment

मोटरेबल पुल जीर्ण, जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

१५ चैत, पर्वत । निर्माण भएको १२ वर्षसम्म पनि मर्मत नहुँदा पर्वतको एक मोटरेबल पुल जीर्ण बन्दै गएको छ । समय–समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुल जीर्ण बन्दै गएको हो ।

सदरमुकाम कुस्माबजारसँग दक्षिण पर्वतका पाँच स्थानीय तह जोड्ने एकमात्र सडक दोबिल्ला फलेबास–सडकको मोदीखोलामा निर्मित मोटरेबल पुल जीर्ण बनेको हो । कुश्मा नगरपालिका–८ दोबिल्लास्थित मोदीखोलामाथि रहेको सो मोटरेबल पुलको समयमा मर्मत नहुँदा सवारीसाधन र यात्रुहरु जोखिमपूर्ण रुपमा वारपार गर्न बाध्य छन् ।

पुलको अधिकांश ठाउँमा नट बल्टु खुस्किएको, पुलमा रहेका पाता उप्किएका तथा ठाउँठाउँमा खिया लागेको, पुलको दुवै छेउमा माटो जमेको भएपनि कुनै पनि निकायले मर्मतमा ध्यान दिएको छैन । पुलका पाता नै उप्किएर खाल्डा परेका छन् । तत्कालीन जिल्ला विकास समितिले हेरालो राखेर नियमित रुपमा रेखदेख तथा सफा गर्ने गरेको भए पनि अहिले यसतर्फ ध्यान नदिँदा पुल झनै जीर्ण बन्दै गएको सवारी चालकको गुनासो छ ।

पुलको नियमित रुपमा रेखदेख नहुँदा ओभरलोड गरिएका गाडी, डोजर, लोडरलगायतका हेबी इक्युप्मेन्टसमेत पुलबाटै वारपार गर्दा पुलका पातामा प्वाल पर्ने समस्या देखिएको स्थानीय चित्रसागर श्रेष्ठले बताए । ‘पुलमा जुनसुकैबेला पनि ठूलो दुर्घटना निम्तिने खतरा बढेको छ,’ उनले भने ।

पुलबाट पाँच स्थानीय तहका ४५ भन्दा बढी वडाका सवारीसाधन आवातजावत गर्दछन् । दैनिक सयौंको संख्यामा सवारीसाधन चल्ने उक्त पुल १५ टन भारवहन क्षमता भएको भएपनि ओभरलोड गरी लैजाँदासमेत कुनै निकायले कारबाही नगरेको स्थानीय राम शर्मा पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment