Comments Add Comment

स्याम करनले अविजित ९५ रन बनाए पनि इंग्ल्याण्ड पराजित, भारतलाई ओडीआई सिरिज

काठमाडौं । स्याम करनले सातौं नम्बरमा ब्याटिङ गर्दै अविजित ९५ रन बनाए पनि भारतविरुद्धको तेस्रो ओडीआईमा इंग्ल्याण्डमा ७ रनले पराजित भएको छ ।

प्रतिस्पर्धात्मक खेलमा जित्दै घरेलु टोली भारतले ओडीआई सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो । पहिलो खेल भारतले ६६ रनले जितेको थियो भने दोस्रो खेल इंग्ल्याण्डले ६ विकेटले जितेको थियो ।

भारतले यसअघि टेष्ट सिरिज र टी-२० सिरिज पनि जितेको थियो । भारतले तीनवटै फर्म्याटको सिरिज आफ्नो बनाएको हो ।

पुनेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दिएको ३३० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाउर ३२२ रन बनाउन सक्यो । इंग्ल्याण्डका लागि स्याम करनले शानदार ब्याटिङ गरे पनि जिताउन सकेनन् ।

अन्तिम ओभरमा इंग्ल्याण्डलाई जितका लागि १४ रन आवश्यक थियो र २ विकेट बाँकी थियो । तर टी नटराजनले बलिङ गरेको उक्त निर्णायक ओभरमा इंगल्याण्डले १ विकेट गुमाएर ६ रनमात्र जोड्न सक्यो ।

पहिलो बलमा मार्क उड रनआउट भएपछि क्रिजमा पुगेका रिस टोपलले सिंगल लिँदै स्याम करनलाई स्ट्राइक दिएका थिए । तर उनले लगातार दुई बल डट खेले । पाँचौ बलमा चौका प्रहार गरेपनि अन्तिम बलमा १ रन मात्र लिए ।

इंग्ल्याण्डका लागि सर्वाधिक रन बनाएका स्याम करनले ८३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ९५ रन जोडे । यस्तै डेभिड मालानले ५०, लियम लिभिङ्गस्टोनले ३६ र बेन स्टोक्सले ३५ रन जोडे ।

१५५ रन हुँदा ५ विकेट गुमाएको अवस्थामा स्याम करणले उत्कृष्ट साझेदारी गर्दै इंग्लयाण्डलाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए । स्यामले सातौं विकेटका लागि मोइन अलीसँग ३२ रनको साझेदारी गरे । यस्तै आठौं विकेटका लागि एदिल राशिदसँग ५७ रनको साझेदारी गरे । उनले मार्क उडसंग नवौं विकेटका लागि ६० रनको साझेदारी गरेका थिए ।

इंग्लयाण्डलाई जितबाट रोक्न भारतका शार्दुल ठाकुरले १० ओभरमा ६७ रन खर्चेर ४ विकेट लिए । भुवनेश्वर कुमारले १० ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । टी नटराजनले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा सबै विकेट गुमाएर ३२९ रन बनाएको थियो । भारतका लागि विकेटकिपर ऋषभ पन्तले सर्वाधिक ७८ रन बनाए । उनले ६२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि रोहित र शिखरले १०३ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

शिखर धवनले ५६ बल खेल्दै १० चौका मद्दतमा ६७ रन जोडे । हार्दिक पाण्ड्याले ४४ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा ६४ रन योगदान गरे । रोहित शर्माले ३७, शार्दुल ठाकुरले ३० र क्रुनल पाण्ड्याल २५ रन जोडे ।

इंग्लयाण्डका लागि मार्क उडले ३ र एदिल राशिदले २ विकेट लिए । यस्तै स्याम करन, रिस टोपले, बन स्टोक्स, मोइन अली र लिभिङ्गस्टोनले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment