Comments Add Comment

लण्डन, लस एन्जलस र बेइजिङको वायु प्रदूषण नियन्त्रणः नेपालले केही सिक्ने कि ?

पृथ्वीमा भएको हावा दूषित वा फोहोर हुनु नै वायु प्रदूषण हो । जब हावालाई दूषित बनाउने सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, क्लोरोफ्लोरो कार्बन, कार्बन मोनोअक्साइड र कार्बनडाइअक्साइडको मात्रा वृद्धि हुन्छ हामी त्यसलाई वायु प्रदूषण भन्दछौं । हावामा करिब ७८ प्रतिशत नाइट्रोजन, २० प्रतिशत अक्सिजन र २ प्रतिशत अन्य ग्याँस रहेको हुन्छ ।

अहिले काठमाडौंको आकाशलाई वायु प्रदूषणले नराम्रोसँग गाँजेको छ । जसले गर्दा स्वास्थ्यमा प्रतिकूल असर पुग्दै आएको छ । श्वासप्रश्वास सम्बन्धी समस्या, छाला तथा आँखा सम्बन्धी रोगहरू निम्त्याएको छ । सरकारले वायु प्रदूषणका कारण सर्वसाधारणलाई बाहिर हिंडडुल नगर्न सल्लाह दिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि हरेक वर्ष करिब ७० लाख मानिसको मृत्यु वायु प्रदूषणका कारणले हुने अनुमान छ ।

वायु प्रदूषणको कारणले अम्लीय वर्षा हुने र जमिनमा अम्लीयपना वृद्धि भई खेतीबालीमा समेत असर पारेको पाइन्छ । वायु प्रदूषणले गर्दा काठमाडौंको परिचय ‘विश्वकै सबैभन्दा प्रदूषित शहर’ बन्नु भनेको हाम्रो पर्यटन व्यवसाय नै धरासायी हुनु हो भन्नेमा दुईमत नहोला । वायु प्रदूषण गराउने मुख्य कारणमा बढ्दो अव्यवस्थित शहरीकरण, मापदण्ड विपरीतका कलकारखाना सञ्चालन, दिनानुदिन वन विनाश, अवैज्ञानिक एवं अविवेकशील विकासका गतिविधि सञ्चालन हुनु हो ।

त्यस बाहेक डिजलबाट सञ्चालित हुने गाडीको संख्या दिनप्रतिदिन बढिरहनु, आम नागरिकहरूमा वातावरण संरक्षण र संवद्र्धनप्रति न्यून चासो हुनुले पनि काठमाडौंलगायत तराईका क्षेत्रमा वायु प्रदूषण बढिरहेको आकलन गर्न सकिन्छ । इतिहासलाई हेर्ने हो भने अहिले काठमाडौंलगायत क्षेत्रमा भएको वायु प्रदूषण कुनै अनौठो र नयाँ होइन । १८औं शताब्दीको औद्योगिक क्रान्तिपश्चात् मुख्यतया कोइलामा आधारित उद्योग कलकारखाना तथा सवारी साधनहरूको आविष्कार र प्रयोगले वायु प्रदूषण उल्लेख्य मात्रामा भएको मान्न सकिन्छ ।

सन् १९४५ मा दोस्रो विश्वयुद्धको समाप्तिपछि तीव्र औद्योगिक विकास गर्न अमेरिकाको लस एन्जल्समा धेरै कोइलाद्वारा सञ्चालित उद्योग कलकारखानाको स्थापना गरियो । त्यसैगरी सोही समयमा असंख्य मात्रामा डिजलका मोटरगाडीको वृद्धिले लस एन्जल्समा भयानक वायु प्रदूषण देखा पर्‍यो । त्यहाँको सरकारले वायु प्रदूषण रोक्न कडा कदम चाल्यो र नियन्त्रण गर्न सफल भयो ।

त्यसैगरी सन् १९५२ ताका तीव्र औद्योगिक विकास र अव्यवस्थित मोटरगाडीको प्रयोगले लण्डनमा पनि वायु प्रदूषणको विकराल समस्या सृजना भएको थियो । लण्डनको आकाश हप्तौंसम्म कालो र धूलोले ढाकेको थियो भने करिब पाँच वर्षसम्म त्यहाँका नागरिकलाई स्वास्थ्य सम्बन्धी समस्या देखिएको थियो । विशेषगरी उद्योग तथा कलकारखानामा कोइलाको प्रयोग धेरै हुन्थ्यो । मोटरगाडीमा डिजलको प्रयोग हुनु र जाडोयाममा नागरिकले आफ्नो घर तथा शरीर तातो बनाउन कोइला प्रयोग गर्नाले त्यसबाट निस्कने ग्याँसले वातावरणलाई दूषित बनाएको थियो ।

तर बेलायत सरकारले कोइलाजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्‍यो । अनि वैकल्पिक ऊर्जाका स्रोतहरूको प्रयोगलाई बढावा दिएर वायु प्रदूषणलाई नियन्त्रण गरी स्वच्छ हावा निर्माण गर्न सफल भयो । हाम्रै छिमेकी देश चीन पनि वायु प्रदूषणबाट अछुतो छैन । सन् १९७० पश्चात् विश्व अर्थतन्त्रमा चीनको विकास अद्वितीय रूपमा अघि बढिरहेको छ । ठूलो भूभाग र धेरै जनसंख्या तथा प्रचुर प्राकृतिक स्रोतसाधनले गर्दा जापान, अमेरिका, बेलायतलगायत विकसित देशका बहुराष्ट्रिय कम्पनीहरूको रोजाइमा चीन पर्न थाल्यो ।

चीनका विभिन्न भूभागमा हजारौं संख्यामा उद्योग कलकारखानाको स्थापनाले त्यहाँका नागरिकहरूलाई रोजगारी त दियो तर चीनको वायुमण्डललाई भने नराम्रोसँग प्रदूषित बनायो । सन् १९७० पश्चात् चीनका प्रमुख औद्योगिक शहरहरू विशेषगरी बेइजिङ, शाङ्घाइ, ग्वाङदोङ, हेबेइ र टियानजिन क्षेत्रमा वायु प्रदूषण मात्रै होइन १९८० तिर त अम्लीय वर्षा नै हुन थाल्यो ।

चीनको वायु प्रदूषणका मुख्य कारणहरू पनि लस एन्जल्स र लण्डनको भन्दा भिन्न थिएन । बेइजिङमा वायु प्रदूषणको मुख्य कारक तत्व पनि कोइला नै थियो । चीनमा कोइलालाई विशेषगरी विद्युत् उत्पादन गर्न प्रयोग गरिन्थ्यो । अन्य विद्युत् उत्पादनका माध्यम भन्दा कोइला प्रयोग गरी विद्युत् उत्पादन गर्दा निकै सस्तो हुने भएकोले पनि यसको प्रयोग अत्यधिक थियो । उच्च औद्योगिक विकास रहेको चीनमा उद्योगको ऊर्जाको प्रमुख स्रोत पनि कोइला नै थियो ।

वायु प्रदूषणले गर्दा काठमाडौंको परिचय ‘विश्वकै सबैभन्दा प्रदूषित शहर’ बन्नु भनेको हाम्रो पर्यटन व्यवसाय नै धरासायी हुनु हो भन्नेमा दुईमत नहोला । वायु प्रदूषण गराउने मुख्य कारणमा बढ्दो अव्यवस्थित शहरीकरण, मापदण्ड विपरीतका कलकारखाना सञ्चालन, दिनानुदिन वन विनाश, अवैज्ञानिक एवं अविवेकशील विकासका गतिविधि सञ्चालन हुनु हो ।

बढ्दो आर्थिक वृद्धि र शहरीकरणसँगै डिजलजन्य सवारी साधनको दिनानुदिनको बढोत्तरीले पनि वायु प्रदूषण गरेको पाइन्छ । सो समयमा विशेषगरी चीनको उत्तरी क्षेत्रमा ठण्डी याममा निकै जाडो हुने भएकोले पनि सरकारले सबै बासिन्दाहरूलाई निःशुल्क कोइला वितरण गर्दथ्यो । पछि केन्द्रीय हिटिङ प्रणाली लागू भएपश्चात् पनि तापको प्रमुख स्रोत कोइला नै थियो । त्यस्तै किसानले आफ्नो बाली भित्र्याई बाँकी बसेका परालहरूलाई पनि खेतमा नै जलाउने गर्दा वायुमण्डल नराम्रोसँग प्रदूषित हुन पुग्यो ।

विभिन्न चाडपर्वमा पटाका पड्काउने र सडक तथा घरहरूमा मासु आगोमा पोलेर खानेलगायतका क्रियाकलापले पनि वायु प्रदूषण गरेको थियो । सन् २०१३ को अक्टोबर २० तारिखका दिन चीनको उत्तरी शहर हार्बिनमा आकाश पूर्ण रूपमा कालो र धुवाँले भरिएको थियो । जसले गदा ५० मिटरको दूरीमा पनि देख्न असम्भव भयो । फलस्वरुप सवारी साधन, हवाइजहाज सेवा, विद्यालय एक हप्ताको लागि बन्द भए ।

त्यस्तै समस्या बेइजिङलगायत चीनका अन्य प्रमुख औद्योगिक क्षेत्रहरूमा पनि देखा पर्‍यो । एकातर्फ वायु प्रदूषणले आम मानिसलाई निकै सास्ती दिइरहेको थियो भने अर्कोतर्फ अनिवार्य मास्क लगाएर मात्र बाहिर निस्कनुपर्ने, लामो समयसम्म बालबालिका घरमै बस्नु परेकोले विद्यालयहरू बन्द गर्नुपर्ने अवस्थाले ठूलो धनराशि नोक्सान भइरहेको थियो । चिनियाँ सरकारलाई औद्योगीकरण, शहरीकरण र तीव्र आर्थिक वृद्धिले सृजना गरेको वायु प्रदूषण नियन्त्रण गरी आम मानिसलाई स्वच्छ र स्वस्थ वातावरण सृजना गर्नु निकै चुनौतीपूर्ण काम बन्दै गइरहेको थियो ।

तर चिनियाँ केन्द्रीय सरकार, प्रान्तीय सरकार, स्थानीय सरकार, नागरिक तथा निजी कम्पनीहरूको दृढ इच्छाशक्ति र चाहनाको फलस्वरुप वायु प्रदूषण नियन्त्रणमा आयो । चीनले वायु प्रदूषणलाई नियन्त्रण गर्न निकै कठिन मिहिनेत गर्नु परेको थियो ।

चीन सरकारले वायु प्रदूषणलाई नियन्त्रण गर्न अपनाएका विधि निम्नानुसार छन्ः

(क). संगठनात्मक व्यवस्थाः वायु प्रदूषणको नियन्त्रण सम्बन्धी अध्ययन अनुसन्धान तथा नीतिनिर्माण गर्नको लागि संगठनात्मक व्यवस्था गरेको थियो ।

(ख).कानूनको निर्माण र कार्यान्वयनः विशेषतः सरकारी संयन्त्रबाट नै प्रदूषणलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्न करिब आधा दर्जन कानूनको निर्माण र संशोधन गर्दै कार्यान्वयन गरेको थियो । जस्तोः वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी कानून, राष्ट्रिय दश उपायहरू, वायु प्रदूषण नियन्त्रण कार्ययोजना, वातावरण संरक्षण ऐन, वायु प्रदूषण नियन्त्रणको मूल्यांकन सम्बन्धी कार्ययोजनाहरूलाई कडाइका साथ लागू गरेको थियो ।

त्यसैगरी हरेक प्रान्त तथा स्थानीय सरकारहरूले पनि आफ्नो शहरको सुन्दरतालाई अभिवृद्धि गर्न क्षेत्रीय तथा स्थानीयस्तरमा कार्ययोजना बनाई लागू गरेका थिए । चिनियाँ सरकारले चालेका उपायमा उद्योगहरूलाई अपग्रेड गर्दै कोइलाको प्रयोगलाई निरुत्साहित गर्ने, कोइलाबाट विद्युत् उत्पादन हुने विद्युत् गृहहरूको पुनर्संरचना गर्ने र पुराना गाडीहरूको प्रयोगलाई रोक लगाउने थिए ।

त्यस्तै नयाँ उद्योगहरू वातावरणमैत्री बनाउने, सरकार, निजी क्षेत्र तथा सर्वसाधारणहरूको जिम्मेवारी प्रष्ट रूपमा परिभाषित गर्ने, प्रदूषणको अनुगमन मूल्यांकन तथा सतर्क हुन जनाउ दिने यन्त्रको जडान गर्ने तथा सरकारका तहहरूबीचको समन्वय र सहकारिता कायम गर्न ठोस संयन्त्रको निर्माण गर्ने रहेका थिए ।

().कार्ययोजनाको कार्यान्वयनः हरेक प्रान्तले आफ्ना क्षेत्रका शहरहरूले वायु प्रदूषणलाई न्यूनीकरण गर्नका लागि निश्चित कार्ययोजना तर्जुमा गरेका थिए । जस्तो मुख्य शहरहरूले वार्षिक १५ देखि २५ प्रतिशतसम्म वायु प्रदूषणलाई न्यून गर्नुपर्ने थियो ।

(घ).प्रतिवेदन सार्वजनिकः सरकारले हरेक महिना १० वटा उत्कृष्ट शहर र १० वटा सबैभन्दा प्रदूषित शहरको नामावली प्रकाशित गर्नुपथ्र्यो । स्थानीय, प्रान्तीय र केन्द्रीय सरकारबीच बैठकहरूमा प्रदूषित शहरलाई प्रदूषणरहित कसरी बनाउने भन्ने विषयमा छलफल र सहमति हुने गर्दथ्यो ।

(ङ). नागरिक सचेतना तथा वृक्षरोपण कार्यक्रमः चीनका सबै शहरमा प्रदूषण नियन्त्रण सम्बन्धी जनचेतनालाई उच्च रूपमा राखी पत्रपत्रिका, संचारमाध्यम, इमेल, इन्टरनेटको माध्यमद्वारा आम नागरिकहरूलाई सचेतना फैलाउन थालियो । प्रत्येक घरमा रूख, बिरुवा तथा सडकमा करीब तीन मिटरमा रूख रोप्ने काम गरियो ।

(च).सौर्य ऊर्जा, जलविद्युत् तथा विद्युतीय उपकरणको प्रयोगः कोइला तथा खनिज डिजल, पेट्रोलबाट चल्ने सवारी साधनलाई विस्थापित गर्दै विद्युत्बाट चल्ने सवारी साधनहरूको प्रयोगलाई प्राथमिकता दिइयो ।

त्यस्तै उद्योग कलकारखानाहरूलाई विद्युत्बाट चल्ने बनाइयो र प्रदूषण नियन्त्रण गर्ने नयाँ–नयाँ प्रविधि जडान गरियो । विद्युत् उत्पादनको लागि कोइलाको प्रयोगलाई रोक लगाई जलविद्युत् तथा सौर्य ऊर्जाको प्रयोगलाई प्रोत्साहित गरियो ।

नेपालको वर्तमान संविधानको धारा ३० मा मौलिक हकको रूपमा स्वच्छ वातावरणको हकको व्यवस्था गरिएको छ । जस अनुसार प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गरिएको छ ।

साथै वातावरण प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने व्यवस्था समेत छ । नेपाल सरकार, निजी क्षेत्र तथा आम नागरिकले समयमा नै प्रभावकारी कदम चाल्न सकेको खण्डमा वायु प्रदूषणको समस्याबाट सुरक्षित रही विभिन्न रोगबाट बच्न सकिन्छ ।

निकट भविष्यमा वायु प्रदूषणको समस्याबाट छुटकारा पाउन नेपालले निम्न कार्य अवलम्बन गर्नै पर्छ :

वातावरण प्रदूषण नियन्त्रणका लागि वर्तमान अवस्थामा भएको वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रादेशिक मन्त्रालय, स्थानीय सरकार तथा अन्य सरोकारवाला निकायहरूबीच आवश्यक समन्वय गरी एक विशेष कार्यदलको व्यवस्था गर्ने ।

○ वायु प्रदूषण नियन्त्रणका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार पारी कार्यान्वयन तथा मूल्यांकन गर्दै कार्य प्रगति विवरण प्रकाशन गर्ने ।

○ हाल कायम रहेको नीतिलाई अझ परिमार्जन, संशोधन गर्दै वातावरण प्रदूषण गर्ने जो–कोहीलाई पनि कडा कारबाही गर्न कठोर नीति तर्जुमा गर्ने ।

○ हरेक प्रदेश तथा स्थानीय निकायहरूको वातावरणको अवस्था सार्वजनिक गरी प्रोत्साहन र पृष्ठपोषण गर्ने नीति तर्जुमा गर्ने ।

○ पुराना सवारी साधन बन्द गर्ने, डिजल–पेट्रोलबाट चल्ने सवारी साधनलाई निरुत्साहित गर्दै विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिने ।

○ मापदण्ड विपरीत सञ्चालनमा रहेका उद्योग कलकारखानाहरूलाई कारबाही तथा कोइलाजन्य सबै उद्योगलाई अपग्रेड गरी सञ्चालन गर्ने ।

○ स्थानीय तहहरूले सार्वजनिक स्थल, सडक, मन्दिर, विद्यालय हरेक स्थानमा वृक्षरोपण गर्दै जाने । हरेक स्थानीय तहले एक घर दुई बिरुवाको अवधारणालाई कडाइका साथ कार्यान्वयन गर्ने ।

○ बाली उठाइसकेपछि बाँकी रहेको परालमा आगो लगाउने कामलाई रोक लगाई वैकल्पिक विधिको प्रयोग गर्न सल्लाह दिने ।

○ हरेक घरमा दाउराको आगोबाट खान पकाउने कामलाई निरुत्साहित गर्दै विद्युतीय चुल्होको प्रयोग गरी खाना पकाउन प्रोत्साहन गर्ने ।

○ वन जंगलमा आगो तथा डढेलो लगाउने काम गर्नेलाई कडाइका साथ कारबाही गरी त्यस्तो काम गर्न प्रतिबन्ध लगाउने ।

अन्त्यमा, मानवलाई विकासको केन्द्र विन्दुमा राखी विकासका गतिविधि सञ्चालन गर्नुपर्दछ । वायु प्रदूषण न्यूनीकरणको लागि सरकारी संयन्त्रलाई आम नागरिकको साथ हुनु आवश्यक छ । सबैका लागि स्वच्छ र स्वस्थ हावा उपलब्ध गराउने विकासको सुनिश्चितताका लागि सदैव लाग्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment