१७ चैत, काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर हनुमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजनका संरचना हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै काठमाडौं महानगरपालिकाले माइकिङ गर्दै अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजनका संरचना हटाई सहयोग गर्न आग्रह गरेको छ ।
विभागलाई पटक–पटक मौखिक र लिखित रुपमा उक्त स्थान खाली गराउन आग्रह गर्दा पनि ढिलासुस्ती गरेका कारण बाध्य भएर माइकिङ गरिएको काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख धनपति सापकाेटाले बताए ।
उनले भने, ‘वारुण यन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरहरु सञ्चालित छन् । हामीले उहाँहरु आफैंले हटाउन भनेका छौं । मान्नु भएन भने हाम्रो ढंगबाट अघि बढ्छौँ ।’
सम्पदा बचाउने सबै भन्दा जिम्मेवार निकाय पुरातत्व रहेको र विश्व सम्पदा सूचीमा सूचीकृत स्थानमै पुरातत्वले सम्पदा मासेर आम्दानी गर्न थाल्दा अन्त पनि काम गर्न कठिन हुने भन्दै मेयरको निर्देशन अनुसार नै प्रक्रिया अघि बढाएको सापकाेटाको भनाइ छ । स्थानीय बासिन्दाले समेत पटक–पटक त्यहाँको मौलिकता कायम गर्न महानगरपालिकासँग आग्रह गरेको उनले बताए । स्थानीयको समेत माग सम्बोधन गर्दै महानगरपालिकाले पुरातत्वलाई दोस्रो ताकेतापत्र समेत पठाइसकेको र त्यो ताकेतालाई पनि बेवास्ता गरेपछि माइकिङ गर्न बाध्य भएको उनले बताए ।
काठमाडौं महानगरपालिकाले गत माघ १४ गते अनधिकृत प्रयोजन हटाइदिन आग्रह गर्दै पुरातत्वलाई पत्र पठाएको थियो । त्यसपछि अनधिकृत व्यापार–व्यवसाय हटाई त्यहाँको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वलाई कायम राख्न ताकेता गर्दै पुनः चैत ५ गते प्रथम पटक ताकेता पत्र पठाई पुरातत्वलाई स्मरण गराएको थियो ।
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले काठमाडौं महानगरपालिकाको प्रयासलाई सकारात्मक रुपमा लिएको भन्दै सो क्षेत्र पुरातत्वको क्षेत्राधिकार भित्र पर्ने हुँदा समस्या समाधानका लागि प्रयास जारी राखेको बताए ।
‘महानगरपालिकाले पठाएको पत्र प्राप्त भएपछि हामीले प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयलाई जानकारी गराइसकेका छौँ’ गौतमले भने, ‘त्यो क्षेत्र हनुमानढोका दरबार संग्रहालय विकास समितिले हेरिरहेको र पर्यटन सचिव त्यसको प्रमुख हुने भएकाले हामीले उहाँहरुसँग समेत समन्वय गरेर आज–भोलि नै बैठक बसी तत्काल समाधानको प्रयास गर्ने तयारी गरेका छौँ ।’
