
१७ चैत, काठमाडौं । थ्री नेसन्स (त्रिदेशीय) कप फुटबलको उपाधि विजेता खेलाडीले नगद १ लाख रुपैयाँ पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपाधि विजेता टिमका खेलाडीलाई १–१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै उपाधि विजेता टोलीका सदस्यलाई १ लाख रुपैयाँ पुरस्कार दिने जानकारी दिएको छ ।
‘विजय हासिल गर्न सफल नेपाली राष्ट्रिय टिमका खेलाडीहरुलाई प्रथम पुरस्कार बापत प्राप्त हुने ५ हजार अमेरिकी डलर वितरण गरिने र थप जनही एक लाख रुपैयाँ पुरस्कार स्वरुप एन्फाको तर्फबाट वितरण गरिने जानकारी गराउँछु,’ एन्फा प्रवक्ता किरण राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको थियो ।
नेपालले घरेलु मैदानमा ३७ वर्षपछि उपाधि जितेको हो । यसअघि घरेलु मैदानमा भएको सन् १९८४ को पहिलो सागमा नेपालले फुटबलमा स्वर्ण जितेको थियो ।
प्रतिक्रिया 4