Comments Add Comment

महोत्तरीबाट बेपत्ता भएकाहरु भारतमा फेला परे : नगरप्रमुख साह

१८ चैत, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबारदेखि बेपत्ता भएका ७ जना किशोरीहरु भारतको सितामढीमा फेला परेको सूचना आएपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

बेपत्ता भएकाहरू भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको भन्दै भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले प्रहरीलाई जानकारी दिएका थिए ।

सो सूचना पाएपछि प्रहरीको एक टोली ती किशोरी तथा बालिकाहरुको फोटोसहित सितामढी प्रस्थान गरेको हो । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले अनलाइनखबरसँग भने, ‘नेपाली किशोरीहरु सितामढीमा भेटिएको सूचना पाएपछि प्रहरीको टोलीलाई उनीहरुको फोटोसहित पठाइएको छ । ती किशोरीहरु भँगाहा नगरपालिकाबाट हराएकैहरु हुन् कि होइनन् भन्ने कुरा केहीबेरमा थाहा हुन्छ ।’

घाँस काट्न सँगै गएका भंगहा नगरपालिका ७ धर्मपुरकी ७ की १८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीय रन्जना पासवान र सोही उमेरकी सीमा पासवान बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरीको समन्वयमा भारतीय प्रहरीले ती बालिका तथा किशोरीहरुलाई फेला पारेको भंगाहा नगरपालिकाका प्रमुख साहले बताए । ‘बालिका बेपत्ता भएको खबर सशस्त्र प्रहरी समेतलाई दिएपछि उनीहरुले भारतीय प्रहरीसँग तत्कालै समन्वय गर्दा बालिका फेला परे,’ उनले भने, ‘सातै जनाको नाम पनि मिलिसकेको छ ।’ उनीहरु अहिले भारतीय प्रहरीको निगरानीमा रहेको उनले बताए ।

प्रमुख साहले सितामढीमा फेला परेका बालिकालाई ल्याउन आफैं त्यसतर्फ गइरहेको बताए । ‘उनीहरुलाई ल्याउन मेरै नेतृत्वमा टोली गइरहेको छ,’ उनले भने ।

बालिका किन र कसरी त्यहाँसम्म पुगे भन्ने कुरा खुल्न सकेको छैन । प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, ‘भारतसम्म पुर्याउन कसले समन्वय गर्यो भन्ने कुराको अनुसन्धान भइरहेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment