Comments Add Comment

बहाना होइन चाहनाले अगाडि बढिन्छ

अपाङ्गता भएका व्यक्तिहरूलाई सबैभन्दा पहिले चाहिने कुरा भनेको मैत्रीपूर्ण सोच हो । तर, समस्या कहाँ देख्छु भने अपाङ्गता भएका व्यक्तिहरूले सीमित काम मात्र गर्न सक्छ, सीमित पेशा वा व्यवसाय मात्र अँगाल्न सक्छ भन्ने बुझाइ छ । यही कारण उनीहरूको काम र जिम्मेवारीलाई कित्ताकाट गरिएको छ । उनीहरूको अवसरलाई सीमित घेराभित्र बन्दी बनाइएको छ ।

अर्थात् शारीरिक अशक्तता भएकाहरूलाई सबै क्षेत्रमा समान रूपले काम गर्ने मौका दिइँदैन । जब कुनै पनि पेशा वा रोजगारको अवसर दिनुपर्ने हुन्छ, शारीरिक अशक्ततालाई मापदण्ड बाहिर राखिन्छ ।

त्यसैले त शारीरिक अशक्तता भएका धेरैजसो व्यक्ति नाङ्गो हात फिंजाएर भीख मागिरहेका छन् । कोही सडक पेटीमा बसेर गीत गाइरहेका छन् । कोही सुगन्धित धुप बोकेर ढोका–ढोका चहारिरहेका छन् । थोरै व्यक्ति शिक्षण वा यस्तै किसिमको पेशामा आबद्ध छन् । उनीहरूलाई अति कम आय हुने काममा लगाइएको छ । निर्वाहमुखी काममै अल्मलाइएको छ ।

दृष्टिविहीन भएका कारण म पनि भुक्तभोगी हुँ । शारीरिक अशक्तता भएकाहरू जब कुनै रोजगारको अवसर खोज्दै जान्छन्, समाज हच्किन्छ । उनीहरू आशंका र आश्चर्यमिश्रित भावमा सोध्छन्, ‘तिमी पनि काम गर्न सक्छ्यौ र ? तिमीले यस्तो काम गर्न संभव होला र ?’

यही किसिमको संशयले गर्दा शारीरिक अशक्तताहरूको मनोबल कमजोर भएको छ ।

हाम्रो संघर्ष आफ्नै समाजसँग छ । समाजमा व्याप्त धारणासँग छ । समाजको दृष्टिकोण र चेतनासँग छ । हामीले शुरूमा त समाजलाई यो कुरामा विश्वस्त तुल्याउनु छ कि, दृष्टिविहीन वा शारीरिक अशक्तता भएकाहरूले पनि गर्न सक्छन् । जे पनि गर्न सक्छन्, तरिका मात्र फरक हो । कार्यशैली फरक हुनसक्छ, नतिजा एउटै दिनसक्छ ।

हामी शारीरिक अशक्तता भएकाहरूले पनि सोच्न जरूरी छ कि, म सक्छु ।

मैले आफ्नै कुरा गर्नुपर्दा म दृष्टिविहीन हुँ । तर, मसँग कामको खाँचो छैन । मलाई जे गर्न पनि खुला छ । आज मलाई देश–विदेशबाट ‘मोटिभेसनल स्पिकर’ को रूपमा निम्तो आउने गर्छ । शारीरिक रूपले उपस्थित हुन संभव नहुने ठाउँमा भर्चुअल रूपमै संलग्न भइरहेकी हुन्छु । विभिन्न तालिम दिंदै हिंड्छु । टेलिभिजनमा कार्यक्रम चलाउन थालेकी छु । नृत्य गर्छु । हरेक हिसाबले आफूलाई अगाडि बढाउने यत्न गर्छु । र, यसमा बहानाले भन्दा पनि चाहनाले काम गरेको छ ।

मैले थुप्रै देश भ्रमण गरेकी छु । त्यहाँ पनि दृष्टिविहीन, शारीरिक अशक्तता भएका व्यक्तिलाई रोजगारमा ठूलो चुनौती छ । तर, उनीहरूप्रति राज्य उत्तरदायी छन् । राज्यले अभिभावकत्व दिएका छन् । हामीकहाँ जस्तो गुजाराका लागि घर–घर चहार्दै नाङ्गो हात फैलाउनुपर्ने बाध्यता छैन । उनीहरूलाई निश्चित भत्ता र सेवा सुविधा दिएका छन् । त्यसबाट उनीहरूको जीवन निर्वाह राम्रैसँग हुन्छ । सामान्य जीवनयापनका लागि कत्ति पनि कठिन हुँदैन ।

गाँस, बास र कपासको चिन्ता नभएकाले उनीहरू आफूलाई सिर्जनशील काममा लगाउन सक्छन् ।

तर, नेपालमा त शारीरिक अशक्त भएका व्यक्तिहरू गाँस र बाससँगै जुध्नु परिरहेको छ । डेढ बित्ताको पेटकै लागि कठोर संघर्ष गर्नु परिरहेको छ । भोक शान्त पार्ने चक्करमै सारा जीवन गुजार्नु परिरहेको छ ।

यस्तो पृष्ठभूमिमा हाम्रा दृष्टिविहीन वा शारीरिक अशक्तता भएका साथीहरूले जीवन निर्वाह भन्दा माथि उठेर कहिले सोच्ने, कहिले काम गर्ने ! हिम्मत लिएर वा चुनौती मोलेर नयाँ–नयाँ काम सिक्ने, सीप आर्जन गर्ने, पेशा–व्यवसाय गर्ने समय नै पाइरहेका छैनन् ।

हो, हाम्रा लागि अवसर सीमित छन् । तर, हाम्रो प्रयास भने अटुट रूपमा रहनुपर्छ । हामीले पनि केही गर्नुपर्छ । दृढता, हिम्मत र निरन्तरताले सफलता पछ्याउनुपर्छ ।

दृष्टिविहीनले गाडी कुदाउन नसक्ला । तर, अरू थुप्रै कुरा छन् जो उनीहरूले गर्न सक्छन् । सामान्य उदाहरण दिंदा, अस्पतालमै उनीहरूले राम्ररी काम गर्न सक्छन् । स्वास्थ्य भनेको नितान्त निजी विषय हुन् । यस विषयमा कतिपय कुराहरू सार्वजनिक गर्न नसकिएला । त्यस्तो अवस्थामा शारीरिक अशक्तता भएका व्यक्ति आफैं मात्र पनि अस्पतालसम्म पुग्न सक्छन् । र, उनीहरूलाई सघाउनका लागि अस्पतालमा पनि शारीरिक अशक्तता भएकै व्यक्तिहरू उपस्थित हुन सक्छन् ।

अस्पतालले परामर्शका लागि, सहयोगको लागि शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई खटाउन सक्छन् । उनीहरूले कुनै डेस्कमा बसेर आवश्यक सुझाव वा परामर्श दिन सक्छन् । अस्पतालका कुनै पनि विभागसम्म डो¥याउन सक्छन् ।

यसबाट के हुन्छ भने, एकातिर दृष्टिविहीन वा अपाङ्गता भएकाहरूले अस्पतालमा सहज महसूस गर्नेछन् । अर्कोतिर उनीहरूलाई रोजगारको अवसर पनि मिल्नेछ ।

यस्तो चाहिं हरेक क्षेत्रमा हुनसक्छ । बैंक, रेष्टुरेन्ट, सरकारी कार्यालयमा हुनसक्छ । यसका लागि समाजले सोच्नुपर्छ कि, अपाङ्गता भएका व्यक्तिहरूलाई कुन ठाउँमा कसरी रोजगारीको अवसर दिन सकिएला ।

यस किसिमको मैत्रीपूर्ण सोचले समाजमा शारीरिक अशक्तता भएकाहरू मागेर होइन, गरेर खाने हुनसक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment