Comments Add Comment

संसदीय दलको बैठकमा मुख्यमन्त्रीको कमजोरी औंल्याउँछौं : अष्टलक्ष्मी शाक्य

१८ चैत्र, हेटौंडा । नेकपा एमालेको वाग्मती प्रदेश संसदीय दलको बैठक बुधबार बस्दैछ । बैठकमा माधव नेपाल पक्षका सांसदहरु पनि सहभागी हुँदैछन् ।

नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले अहिले दल पनि एक भइसकेको र आफूहरुले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता लिइसकेकाले बैठकमा जाने बताइन् ।

उनले भनिन्, ‘हामी नतमस्तक भएर डोरमणि पौडेलेको कुरा सुन्न दलको वैठकमा जाने होइनौं, आफ्नो कुरा राख्न, सरकारले गरेको गल्ती कमी कमजोरी औंल्याउन जाने हो ।’

विगतमा पनि पार्टी नफुट्दा सरकारलाई निरन्तर सुझाव र सल्लाह दिइरहको भन्दै नेतृ शाक्यले आफूहरुको कुरा मुख्यमन्त्रीले निरन्तर बेवास्ता गरेको बताइन् ।

मुख्यमन्त्री पौडेलले महत्वपूर्ण योजना रकमान्तर गरेर आफू अनुकुलका प्रदेश सभा सदस्यहरुलाई दिएको जानकारी आएको भन्दै उनले यस विषयमा बुधबारको बैठकमा जवाफ माग्ने बताइन् ।

संसदीय दलमा एक, पार्टी समानान्तर

बागमती प्रदेश संसदीय दलमा एक भएता पनि आफूहरुले प्रदेश तहमा पार्टीको समानान्तर कमिटी बताउने नेतृ शाक्यले बताइन् । ‘हाम्रा पक्षका नेताहरुलाई निषेध गरिएको छ, एकात्मक शैलीले सबै आफ्नो मान्छे मात्रै कमिटीमा राखिएको छ त्यसकारण हामीले प्रदेश कमिटी पनि समानान्तर बनाउने छौं, दलमा भने एक भएर अगाडि बढ्ने र गलत कुरालाई आलोचना गर्ने तयारी गरेका छौं’ उनले भनिन् ।

बागमती प्रदेश सभामा ११० सदस्य सांसदमध्ये एमालेका ५७ जना सांसद छन् । जसमा एमाले अध्यक्ष केपी शर्मा ओली निकटका डोरमणि पौडेल मुख्यमन्त्री र संसदीय दलको नेता छन् । एमालेबाट निर्वाचित सभामुख सानुकुमार श्रेष्ठबाहेक ५६ सांसदमध्ये ओली पक्षका ३४ जना छन् ।

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध १० माघमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहले अविश्वास प्रस्ताव दर्ता गरेको थियो । तर उक्त प्रस्तावमाथि प्रदेशसभामा छलफल नहुँदै २३ फागुनमा सर्वोच्च अदालतले दलको नामसम्बन्धी एउटा विवादमा एमाले र माओवादी केन्द्र अलग अलग दल रहने फैसला सुनाएको थियो ।

त्यसपछि नेकपा एमालेले आग्रह गरेअनुसार वाग्मती प्रदेशका एमाले सांसदहरुले मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment