Comments Add Comment

लाभांश लिनै जाँदैनन् कतिपय सेयर लगानीकर्ता

१७ चैत, काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्सले एक साताअघि सार्वजनिक सूचना जारी गर्दै सेयरधनीहरूलाई लाभांश लिनका लागि आव्हान गर्‍यो ।

सूचनामा भनिएअनुसार काभ्रेपलाञ्चोकको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरेका कतिपय लगानीकर्ताहरूले २ वर्षको लाभांश अझै लिएका छैनन् । लगानीकर्ताहरू लाभांश लिन नआएपछि दिन नसकिएको संस्थाले जनाएको छ ।

संस्थाले लाभांश लिन बाँकी रहेका लगानीकर्ताहरूलाई ३० दिनभित्र लाभांश बुझिदिन सूचनामार्फत आग्रह गरेको छ । कम्पनीका अनुसार ४ लाख ९७ हजार ७३१ रुपैयाँ बराबरको लाभांश वितरण गर्न बाँकी छ ।

मिर्मिरेको सूचना अनुसार आर्थिक वर्ष २०७०–७१ मा ६१ हजार ३ सय २७ रुपैयाँ र २०७२–७३ मा ४ लाख ३६ हजार ४०३ रुपैयाँ गरी ४ लाख ९७ हजार ७३१ रुपैयाँ लाभांश लगानीकर्ताहरूले बुझेका छैनन् ।

सेयर बजारमा किन लगानी गर्ने ? यसको सामान्य उत्तर हो, मुनाफा आर्जन गर्न वा सम्पत्ति बढाउन । तर कोही लगानीकर्ता यस्ता पनि पनि छन् जो आफूले लगानी गरेको सेयरको लाभांशसमेत लिन आउँदैनन् ।

लाभांश नबुझ्ने लगानीकर्ताहरूमा तत्कालीन नागबेली लघुवित्तका लगानीकर्ताहरू रहेको संस्थाका सञ्चालक सन्तोष फुयाँलले बताए ।

उनका अनुसार यी लगानीकर्ताहरू संस्थापक नभएर सर्वसाधारण लगानीकर्ता हुन् ।

संस्थाले यो सूचना जारी गरेपछि पनि लगानीकर्ताहरू सम्पर्कमा आएका छैनन् । सेयर बजारमा किन लगानी गर्ने ? यसको सामान्य उत्तर हो, मुनाफा आर्जन गर्न वा सम्पत्ति बढाउन ।

तर कोही लगानीकर्ता यस्ता पनि पनि छन् जो आफूले लगानी गरेको सेयरको लाभांशसमेत लिन आउँदैनन् । किन लाभांश लिन चाहँदैनन् त लगानीकर्ता ?

मिर्मिरे लघुवित्तका सञ्चालक सन्तोष फुयाँल लगानीकर्ताहरू लाभांश लिन नआउनुको मुख्य तीन कारण देख्छन् । पहिलो– लगानीकर्ताहरूलाई जानकारी नै नहुने, दोस्रो– थोरै रकम र तेस्रो– लगानीकर्ताहरू स्वदेश बाहिर हुनु ।

आफूले सेयर किने पनि आफू सेयरधनी रहेको कम्पनीले कहिले लाभांश दिन्छ, केके निर्णय गर्दैछ वा गर्छ भनेर चासो नदिँदा यस्तो समस्या हुने उनी बताउँछन् ।

लगानी गरेपनि कम्पनीबारे अपडेट नहुने लगानीकर्ताहरूले लाभांशको सूचना नै नपाउने सञ्चालक फुयाँल बताउँछन् ।

संस्थाले सबै लगानीकर्ताहरूलाई जानकारी दिनका लागि सार्वजनिक सूचना जारी गर्ने भएपनि लगानीकर्ताहरू स्वयंले बेवास्ता गर्दा लाभांश लिनबाट छुट्ने उनी बताउँछन् । दोस्रो भनेको थोरै रकम हो ।

लाभांश रकम थोरै हुँदा त्यो बुझ्नका लागि लगानीकर्ताले समय नै ननिकाल्ने उनी बताउँछन् । तेस्रो भनेको सेयर किनेर केही वर्ष अगाडि विदेश गएकाहरूले पनि लाभांश लिन नपाएको उनी बताउँछन् ।

‘अधिकांश कम्पनीको वक्यौता’

प्रिमियर इन्स्योरेन्सले अघिल्लो वर्ष साधारणसभाबाट ८४ प्रतिशत बोनस सेयर दिने निर्णय पारित ग¥यो । तर उक्त बोनसमा लाग्ने कर भने सम्बन्धित सेयरधनीहरूलाई आफैं जम्मा गर्न भनिएको थियो । गत वर्ष नै कुमारी बैंकले पनि बोनस सेयर दिएर बोनसमा लाग्ने कर भने सेयर लगानीकर्ता आफैंले तिर्नुपर्ने बतायो ।

यी दुवै कम्पनीका केही लगानीकर्ताहरूले लाभांश पाएका छैनन् । बोनस वापत लाग्ने कर रकम बैंकमा जम्मा नगरेका कारण पनि लगानीकर्ताहरूको खातामा लाभांश नगएको हुनसक्ने जानकारहरू बताउँछन् ।

लाभांशका लागि सम्बन्धित कम्पनी वा बिक्री प्रबन्धकको कार्यालयमा पुग्नै पर्ने बाध्यता छैन । बोनस सेयर भए डिम्याट खातामा आफैं आउने र नगद लाभांश भए बैंक खातामा जम्मा हुन्छ । तर ३ वर्षभन्दा पुरानाको हकमा भने यस्तो समस्या भएको हुनसक्ने धितोपत्र बोर्डका एक अधिकारीले बताए । उनका अनुसार अधिकांश कम्पनीहरूमा थोरैथोरै यस्ता बक्यौताहरू छन् ।

‘अहिले त नगद लाभांश खातामा आइहाल्छ, पहिले त्यो सुविधा नहुँदा स–साना रकमहरू रोकिन्थे,’ ती अधिकारीले भने, ‘१० कित्ताको सेयरधनीले ५–७ रुपैयाँ नगद लाभांश पाएको हुन्छ, त्यो लिन लगानीकर्ताले नै जान मन गर्दैन ।’

लगानीकर्ताका लागि ५–७ रुपैयाँ भएपनि धेरै लगानीकर्ताको लाभांश जोड्दा ठूलो रकम हुन आउँछ ।

मिर्मिरेका सञ्चालक फुयाँल पनि आफ्नो संस्थामा पनि एकै व्यक्तिको धेरै लाभांश नभएको बताउँछन् । थोरै कित्ता होल्ड गरेर बसेकाहरूले नै लाभांश लिन नगएको उनको भनाइ छ ।

‘लगानीकर्ताले पाउने लाभांश भने हराउँदैन । ५ वर्षसम्म पनि लगानीकर्ता लाभांश लिन नगए त्यो कम्पनीको जिम्मामा जान्छ । जति वर्षपछि पनि लगानीकर्ताले आफ्नो लाभांश दाबी गर्न सक्छन् ।’

नेपाल मर्चेन्ट बैंकर एशोसिएसनका महासचिव पारसमणि ढकाल पनि लगानीकर्ताहरू लाभांश लिन नआउने गरेको स्वीकार्छन् । कतिपय अवस्थामा लगानीकर्ताको खातामा लाभांश जानै नसकेको उनले बताए ।

पहिले सेयर प्रमाण–पत्र लिने चलन थियो । अहिले सेयरलाई अभौतिकीकरण गरेर डिम्याटमा जम्मा हुने व्यवस्था गरिएको छ । केही वर्षयता डिम्याट नेपालमा अनिवार्य गरिएको छ । महासचिव ढकाल डिम्याट अनिवार्य भइसकेपछि समस्या कम रहेको बताउँछन् । तर डिम्याटमा बैंक खाता अपडेट नहुँदा भने लाभांश जान ढिलाइ हुने वा नजाने समस्या हुने गरेको उनले बताए ।

अर्को भनेको सेयर धितोमा ऋण लिएको भए त्यो सेयरको आउने बोनस तथा नगद लाभांशसमेत रोक्का हुन्छ ।

बैंकले ऋण चुक्ता भएको जानकारी गराएपछि मात्रै खातामा लाभांश पठाइन्छ । अर्को खाता नम्बर नमिलेको अवस्थामा पनि लाभांश रोकिने उनले बताए । ‘हामीले त लाभांश पठाउँछौं तर पठाएको लाभांश रिजेक्ट भएर फर्कन्छ,’ उनले भने ।

लगानीकर्ताले लाभांश नलिए के हुन्छ ?

सेयर लगानीकर्ताहरूले लाभांश लिउन् भन्ने कम्पनीको चाहना हुन्छ । तर लगानीकर्ता लाभांश लिन नआइदिँदा केही समस्या कम्पनीले झेल्दै आएका छन् ।

मिर्मिरेकै हकमा पनि लगानीकर्ताहरूले समयमै लाभांश भुक्तानी लिएको भए अहिले पत्रिकामा सूचना छपाएर प्रचार गर्नुपर्ने थिएन ।

सूचना प्रकाशित गर्दा पनि तोकिएको समयसीमामा लगानीकर्ताहरू लाभांश लिन आएनन् । अब यो रकम के हुन्छ ? कि कम्पनीले नै आफ्नो सम्पत्ति बनाउँछ ? वा कम्पनीका टाठाबाठाले बाँडेर खान्छन् त ? सञ्चालक फुयाँलका अनुसार लाभांश लिन नआएको रकम कोषमा जम्मा हुन्छ ।

कोष सञ्चालनसम्बन्धी नियमअनुसार त्यो रकम खर्च हुने उनी बताउँछन् । तर लगानीकर्ताहरू लिन आएको अवस्थामा भने सम्बन्धित सेयरधनीले नै लाभांशको रकम पाउने उनले बताए ।

सो रकम लगानी संरक्षण कोषको व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७३ अनुसार राखिने उनको भनाइ छ ।

मर्चेन्ट बैंकर एशोसिएसनका महासचिव ढकाल सेयर लगानीकर्ताले पाउने लाभांश भने नहराउने बताउँछन् । उनका अनुसार ५ वर्षसम्म पनि लाभांश लिन नगए त्यो कम्पनीको जिम्मामा जान्छ ।

जति वर्षपछि गएपनि लगानीकर्ताले आफ्नो लाभांश दाबी गर्न सक्ने महासचिव ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment